बिर्सनै नसकिने उसको प्रिय मुस्कान

एकटकले मैले यतिखेर नितान्त सुदिपसँग वितेका केही पलहरू अनुभूत गर्न खोजिरहेको छु । पृष्ठभूमीमा शितु खरेलले गाएको गीत “टाढा रहेको हरेक पल, आफैलाई हजारौं जुनी जस्तो, गुन्जिएको आवाज झन कहि कतै आएको तिम्रो जस्तो..............” बजिरहँदा, एफ एम रेडियोमा लामो एन्टेना जोडेर सुदिप मसँगै असरल्ल परेर पल्टिएको हाम्रो चौरमा रेडियोमा एफ.एम खोजीरहेको क्षण झल्झल्ती याद भैराखेको छ । हुन पनि, भर्खर मात्र त थियो, श्रीनगर एफ.एम हाम्रो रेडियोले टिप्न थालेको । ऊ कति एकाग्र थियो, आफ्नो काममा ? जबसम्म रेडियोले श्री नगरको परीक्षण प्रसारणलाई टपक्क टिप्ने थिएन उतिखेर सम्म ऊ अति जिज्ञासु भएर रेडियोको मिटर घुमाइ रहेको हुन्थ्यो । अँ साँच्ची ऊ हामीसँग फुटबल पनि खेल्थ्यो कहिलेकाही । हामी गोल गर्नकै लागि फुटबल खेल्थ्यौं ऊ चाँही आफ्नो टिम विरुद्ध गोल नहोस् भन्ने मनशायले मैदानमा बलको पछि पछि दौडिरहेको हुन्थ्यो । ऊ र हामीमा धेरै भिन्नताका रेखाहरू प्रष्टै थिए । ऊ भावुक मुन्छे, हामी हरदम चञ्चल मन बोकेर हिड्ने मनुवा । उसको गाम्भिर्यताले मलाई अ‍ैले लागिरहेको छ, ईश्वर पनि असल र राम्रा मान्छेहरूलाई हर तरह आफूकहाँ लिन चाहन्छ । एक प्रिय तर भावुक कवि जस्तो थियो– सुदिप, कहिलेकाहीँ मलाई यस्तो पनि लाग्थ्यो– कास ऊ कवि भैदिएको भए कस्तो सृजना गथ्र्यो होला ! जे–जस्तो भए पनि ऊ एक प्रिय मनुवा थियो । उसले मिल्न नजानेका मानिसहरू मैले अझै भेटेको छैन् । लाग्छ, यो असम्भवप्रायः कुरा हो । जो–जस्तोसँग पनि मिल्न सक्ने उसँग एक अनुकरणीय असाधारण मानवीय प्रवृती हावी थियो । र, यत्तिनै खेर म निर्धक्कसाथ भन्न सक्छु, उसको अभाव उसको परिवार वा इष्ट्रमित्र वा भनुँ शुभचिन्तकलाई मात्र छैन्, उसले कम्तिमा पनि एक पटक भेटेर मुस्कान साथ “हेल्लो” भन्न भ्याएका कतिपय अज्ञात कोरियाली व्यक्तिहरुलाई पनि हुन सक्छ । उसको मुस्कानभित्रको माधुर्यताको राज नै यहि थियो । अहिले मैले लेख्न छुटाउनै नहुने प्रसङ्ग भावनात्मक हिसाबले बढो गम्भिर र असहनीय नै छ । उसलाई मैले ३ वर्षपछि नेपाल आएको बखत भेट्न नपाउँदै उसले पठाएको इ–मेल पढ्दै थिएँ । उसको हाइ फाइभ प्रोफाइलमा कालो ठूलो चश्मा लगाएको तस्बिर कम्प्यूटरको एक कुनामा छँदै थियो, त्यसमा पनि उसको तस्बिर हेर्दै उसको भावना पढ्न पाउनु कम्ता खुशिको खबर त थिएन मेरो लागि । तर के गर्नु त्यो दिन मेरो खुशिलाई निमिट्यान्न पार्दै उसको दुर्घटनाको खबर मेरो कानसम्म आइपुग्यो । उसको इ–मेल पूरा नपढी सन्तोष दाई (सुदिपको सहोदर दाजु) लाई लिएर दुर्घटनास्थलतर्फ हिडँ । उसै त कम बोल्ने सन्तोष दाजुसँग बिरलै वार्तालाप गर्दै बागलुङ्सम्म पुगेँ । मनभरी उसको स्वास्थ्यलाभका कामनाका साथ २२ मिनेटको मोटरसाइकल यात्रा मलाई निरर्थक जस्तो पनि लाग्यो – जब बागलुङ् भेटेका धेरै जनहरूले उसको रिकोभरीको शुन्य प्रतिशत मौका रहेको बताए । हरे ! दैव पनि कस्तो निठूर ? २०–२१ वर्षे ईश्र्यालू वैंशालु उमेरमा टपक्क टिपेर लाने ? सायद दैव भन्ने चिज दृश्योग्य हुन्थ्यो भने पनि त्यल्लाई भकुर्नु सम्म भकुरेर उसको पञ्जाबाट त्यो भावुक प्रिय सुदिपलाई लिनुहुन्थ्यो मलाई त्यतिखेर सबभन्दा खट्केको कुरा नै यहि थियो –तर त्यो सम्भवयोग्य पनि त कहाँ छ र ? अब आजभोली मलाई लागिरहेको चैं – उसको नश्वर शरीर हामीसँग नभएपनि भिन्दा भिन्दै बखतमा उसले छुट्टाछुट्टै रुपमा हामीहरूलाई छाडेर गएका अविष्मरणीय पलहरू नै उसलाई पाउनु जत्तिकै आनन्ददायक र प्रिय छन । र, मैले विश्वस्त हुनै पर्छ कि उससँग बितेका मेरा विगतहरू अतुलनीय छन् जति उसको अपुरणीय अभाव मसँग व्याप्त भैराखेको छ ।
2 comments

Popular Posts