सिमली छाँयामा बसी भरिया लामो सास फेरेर....

जीवन शर्माको सुमधुर आवाजले अझ बढी मर्मस्पर्शी पारिदिएको गीत सिमली छाँयाको सम्झना दिलाउने गरी यी भरिया दाई ताकम पुग्नै लागिनेबेलाको चौपारीमा मेरो आडैमा आएर बसिदिएँ । देशको राजनैतीक गर्मागर्मीका बारेमा आफूलाई खासै चासो नरहेको बताउँदै, आफ्ना निधारभरी लछप्पै परेको पसिनालाई दुखजिलो गरी भर्खर किनेको रुमालले लपक्कै पुछे अनि रुमाललाई चरप्पै निचोरे ! बार्ताको प्रारम्भ भैसकेको थियो । उनले मलाई आफू सदरमुकाम बेनीबाट कुखुराका चल्ला लिएर गामघरतिर बेच्न लिएको बताए तर लामो निश्वास फेरेर उनले मलाई उल्टै सोधें – साँच्ची के छ सर हिजाँलको खबर ? लौ ! तपाइँ नै सदरमुकामबाट आउनु भएको मान्छे, हामी त माथि गाउँतिरबाट बल्ल आजै झर्दै छौं तपाइँ नै बताउनु न के छ बरु खबर ? मैले उनलाई नै प्रतिप्रश्न गरेँ । खोई सर म त त्यति वास्ता नि गर्दिन्, आफ्नो दुःख आफैसङ् छ, बेकारको राजनीतिको कुरा केको सुनिराखुम् ? आफ्नो कामै यस्तै हो सर – भारी बोक्नी, चामल तिहुन किन्नी, बाल बच्चा र स्वास्नी पाल्नी । एकै सासमा उनले आफ्नो दुःख बिसाए । मैले सोच्थेँ, देशको अस्तव्यस्त राजनीतिले मलाई मात्र घोचिरहेको छ, पीडा दिएको छ । जतिखेर भरियाले राजनीतिप्रति आफ्नो सुको चासो नरहेको अभिव्यक्ति दिए, त्यतिखेर मलाई लाग्यो हाम्रो राष्ट्रिय राजनीतिले कहिले आफ्नो सहि दिशा पकड्ला ? त्यो भेटले मलाई एउटा अनापित पीडा महशुस गरायो, आखिर कुन नेपाली नागरिक आफ्नो देशको बिग्रदो राजनैतिक अवस्था देखेर विक्षिप्त नहोला ! तथापी त्यो बसाईमा मैले जतिपटक भरियासँग राजनीति र दैनिक जीवनबीच अनिवार्य र अकाट्य सम्बन्ध रहन्छ भनेर बहस झिक्न खोजेँ उनले त्यति नै पटक आफू, आफ्नो कर्म र राजनीतिलाई फरक ढंगले बुझ्न खोजे र मैले उनलाई त्यसो नगर्नबाट रोक्न वा आग्रह गर्न सकिन । वा भनुँ चाहिन् । बस उनी आफ्ना दुई छोरा, एक छोरी, एक श्रीमती र आफ्नो गाँसको जोहो गर्नका लागि मात्र ताकमतिर उक्लेका थिए, एक भारी कुखुराका चल्ला बोकेर । खास वतन धादिङ् भए पनि कर्मथलोको रुपमा म्याग्दीका विकट गाउँलाई चुनेका यी तामाङ्दाईले न त संविधानसभामा आफूहरु जस्ता दीनदुखीका बारेमा बहस हुँदैनन् भनेर शंका झिक्छन् न त अवको गणतान्त्रिक नेपालको पहिलो संविधानले श्रमजीवि सर्वहाराका अधिकारका पक्षमा ग्यारेन्टी गर्नुपर्छ भनेर जिकिर गर्छन् । बरु हामीले कुरा गरिरहँदा अति भद्रतापूर्वक उनले भन्न नछुटाएको उनको आफ्नै एउटै गुनासो थियो, नेताहरुप्रति – देश बेचे पनि, वा देश विकास गरे पनि, देश र जनताका हितमा काम गरे पनि अथवा देश विरोधी काम गरे पनि नेताहरू मिलेर बसिदिए त सबैको भलो हुने थियोनी हैं सर ! यी इमान्दार नेपालीलाई मैले सम्झाउने मेलो पाँइन् – हाँ के हुन्थ्यो र दाई खाने बेलाँ, देश बेच्ने बेलाँ त एक ठाम मैै हुन्छन् नी देश बिकासको बेलाँ, संविधान निर्माणको बेलाँ पो मिल्न जान्दैनन् ई भातमाराहरू ! उनीसँग छुट्टिदै मैले भनेँ । मेरा गोडाहरु ओरालिदैँ थिए – धारापानीतिर, उनले लामो सुस्केरा लिए र उकालैउकालो ताकम, मुना हुँदै कम्तिमा लमसुङ्सम्मका लागि त्यहाँबाट हिडे ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)