Skip to main content

सधै‌ थला पारिएको एउटा देश


माध्यमिक तहको पढाइ चलिरहँदा सामाजिक शिक्षाका गुरु नारायण ढुंगानाले हामीलाई सारा पृथ्वीको मानचित्र हेर्ने औसर जुटाइदिनु भएको थियो – एउटा डेट एक्सपायर्ड ग्लोब ल्याइदिएर । विश्व मानचित्रमा कतै हराएको अति सुक्ष्म विन्दु झैं लाग्ने हाम्रो देशको नक्शा अति मुश्किलले भेट्टाएपछि कक्षाकोठाभरीका हामी ६०–७० जना किशोर किशोरीहरु बडो चिन्तामा पर्थ्यौ । अनि सामाजिक सरको कानै नजिक गएर भन्थ्यौं– वीर गोर्खा लडाकुहरुको देश यति सानो ?! हाम्रो सानो मस्तिष्कले सोच्न भ्याएको यो अपत्यारिलो र अप्रसाङ्गिक प्रश्न पश्चात: लगभग त्यो ४५ मिनेटको एउटा पूरै पिरियडभर कक्षा एकदम स्तब्ध रहन्थ्यो । हामी ग्लोब घुमाउँदै, फेरि घुमाउँदै र अझ धेरै पटक उसै गरी घुमाउँदै सयौं विशाल देशहरुको मानचित्रको सीमारेखाभित्र रहेको सानो "स्पेश" भित्र नेपाललाई पटक पटक खोजीरहेका हुन्थ्यौं अनि सामाजिक सर हामीबाट केहि पर कालोपाटीको ठीक मुन्तिर उभिएर हामीलाई सोधिरहनु हुन्थ्यो – ए, बाबुनानीहरू हाम्रो देशको नक्शा भेटायौं त ? यो त भयो किशोरवयको कुरो । जव मैले आफूलाई जवान हुँदै गएको पाएँ अनि बल्ल थाहा पाउन थालेँ, ती किशोरवयमा हामीले पोख्ने गरेको हाम्रो देशको भौगोलिक सुक्ष्मताप्रतिको दुःख मनाउ त्यो एउटा साधारण भावनात्मक लहड बाहेक अरु केही थिएन् ।
हामीले त्यतिखेर के नै देखेका थियौं र ? एउटा सानो सिमाङ्कन जसभित्र एउटा नेपाल नअटाए झै गरेर अटाएको छ । त्यो मानचित्र हेर्दा, हामीलाई लागेको दुख यसकारण थियो कि केहि विशाल राष्ट्रहरुको वरिपरी त्यो उती चाखलाग्दो थिएन । तथापी त्यही सानो भूगोललाई विश्व मानचित्र अंकित ग्लोबमा खोजी खोजी विदेशी पर्यटकहरु आउने गर्दथे र गरिरहेका छन् । आखिर मानचित्रमा  जतिसुकै सानो भएता पनि उनीहरुले पनि त हाम्रो देशको मानचित्र देखे हुनन् – ग्लोबमा । र, अहिले मैले सोच्दै आएको छु – बरु यो राष्ट्र भ्याटिकन सिटी भन्दा सानो भैदिनु पर्ने । वा भनुँ यो ग्लोबमा देखिदै नदेखिने अति सुक्ष्म विन्दु जत्रो भएर अटाएको हुनुपर्ने ! यो यति सुक्ष्म भैदिनु पर्ने कि, चाहेर पनि कोही पनि मानिसले यसको नक्साङ्कन ठिक र चित्तबुझ्दो ढंगले गर्न असमर्थ हुनैपर्ने । कम्तिमा पनि त्यो सानो र लघु घेराभित्रको देश हत्या, हिंसा, अराजकता, अशान्ति, कलह, बन्द, चक्काजाम, अव्यवस्था जस्ता यावत प्रदुषणबाट पवित्र र स्निग्ध भएको होओस् । 
 तिनताका यो देश हामीलाई कक्षाकोठामा बसेर ग्लोबभित्र खोज्न जति गार्‍हो हुन्थ्यो, यतिखेर यहि सानो देशभित्र हुर्कदै गएका विभिन्न कुसंस्कार र कुप्रवृतीहरुको महशुस गर्न उत्तिकै सहज बनिदिएको छ । सायद विश्वभरमा राजनीतिका लागि सबभन्दा बढी अराजनीतिक गतिविधी हुने यो मात्र एक देश हुनु पर्दछ । यसले थुप्रै प्रसङ्गहरुमा विश्वका शतप्रतिशत राष्ट्रलाई मात खुवाउन सक्तछ । विश्वभरमा सबभन्दा बढी बन्द, हडताल, चक्काजाम, आन्दोलन (विविध नाम दिइएका), अनियमितता, असहिष्णु गतिविधी, मानवअधिकार हनन हुनेगरी घटाइने घटनाहरु सायदै यो देशमा हुन्छ, हुन थालेको छ । यसकारण पनि मलाई मेरो देश सानो क्षेत्रफलभित्र खुम्चेको हुनु पर्ने भन्ने लाग्ने गरेको हो । कल्पना नै भए पनि, यदि यो राष्ट्रको बन्द चौकिल्लाको क्षेत्रफल केहि वर्गकिलोमिटर भैदिएको हुन्थ्यो भने अहिले अभ्यास गरिएका अराजनैतिक गतिविधीहरु सायदै हुदैनथेँ होला । वा अति न्यूनरुपमा मात्र पो घट्ने गर्थे कि ? हुन त पछिल्ला दिनहरुमा हुर्कदै गएका विभिन्न खाले कुसंस्कार र कुप्रवृती यहाँको विर्सनै नसक्ने आचरण र विशेषताका रुपमा विकास हुँदै गएको परिप्रेक्ष्यमा यसो नभैदिएको भए जाति हुन्थ्यो होला भन्ने तथ्य मनको लड्डु घिउसँग खानु भने झैं हुन्छ होला । यद्यपी यो खराब सन्दर्भ र आचरणबाट समाजलाई मुक्त पार्न आजैदेखि लागि पर्न सकेमा भोलीका दिनहरुमा हाम्रा आउँदा पुस्ताहरुले हामीलाई कृतज्ञता प्रकट गर्ने कुरामा दुई मत हुनै सकिदैन् । 
 सत्ता प्राप्तीका लागि ‘जे पनि गर्ने’ मानसिकताबाट गुज्रेका हाम्रा राजनेताहरुका कारण आज हामीले आफूलाई नेपाली हुनुमा लघुतावाश गर्नु परेको ध्रुवसत्य हो । उनीहरुको खोटो विचार, खोक्रो सिद्धान्त र व्यवहार शुन्यताले हामीलाई परिवर्तनको आभाष दिन सक्ने हरप्रकारको सम्भावना अब चकनाचूर भएको छ । यस सन्दर्भमा, हिजो देश र जनताका हितका लागि आफ्नो नीजि स्वार्थलाई परित्याग गरेका सपूतहरुको बलिदानीको गाथा गाएर मात्र पनि यो देशको परिवर्तित स्वरुप निर्माण गर्न सकिने कुरै भएन् । अब त सपूतहरुको बलिदानीलाई आत्मसाथ गरी उनीहरुले निर्देश गरेको मार्गमा आफूलाई समाहित गरेर परिवर्तित नेपालको नक्शा विश्व मानचित्रमा समावेश गर्न एकसाथ लम्कनु पर्ने बखत आएको छ । इन्कलाबको नारा लगाएर छाति फुकाएर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्नु पर्ने समय आएको छ । र, अबको यात्रामा कुनै राजनैतिक दलको झण्डामुनी बसेर, पसेर अनि थुप्रिएर होइन् गौरबशाली इतिहास बोेकेको यस देशको ‘चन्द्र सूर्य’ अंकित झण्डामुनी गोलबन्द हुनु पर्ने भएको छ । जनताको त्यो विशाल जनसागरमा माओवादी, कांग्रेस, एमाले, फोरम, तमलोपा, जनमोर्चा वा कुनै पनि राजनैतिक पार्टीका नेता, कार्यकर्ता वा शुभचिन्तकहरुलाई प्रवेश निषेध गरिनु पर्दछ । अनि त्यो विशुद्ध नेपाल र नेपालीवाद मान्ने स्वाधिन र समृद्ध नेपाल चाहने विशुद्ध नेपाली जनताहरुको जनसागर हुनेछ । तहाँ एउटै आवाज घन्केको हुनेछ – हाम्रो देश, हाम्रो भेष प्राणभन्दा प्यारो छ ! राष्ट्रघाति बाईबाई, नेपाली जनता हाई हाई ! जय देश ! जय जनता !
२०६६ आश्विन ४
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…