रानीपोखरीमा उभिएर नेताहरू

काठमाडौंको रानीपोखरीमा अस्ताउँदो सूर्यलाई आराधना गर्दै भक्तजनहरु सूर्यसँग आफ्नो देशमा आउन नसकेको उज्यालो बिहानी मागिरहेका बेला हाम्रा देशका कथित वरिष्ठ नेताहरुले छठ पर्वको अवसरमा ताइँ न तुईको शुभेच्छा प्रकट गरेका छन् । मलाई लाग्छ यिनीहरुले छठ पर्वको उपलक्ष्यमा देशवासीलाई कस्तो शुभेच्छा प्रकट गरे त भनेर मैले यहाँ जस्ताको तस्तै लेखिदिए भने अ‍ैले ब्लग पढ्दै गर्नुहुने सबैमा हाँसोको फोहोरा छुटन् थाल्छ । शुरु गरौं हाम्रा महामहिम राष्ट्रपति डा. यादवको शुभेच्छाबाट, प्रधानसेनापति कटुवाललाई सेवाबाट बर्खास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय माथि आफ्नो असंवैधानिक कू गरी तत्कालिन समयको सरकारलाई ‘च्यालेन्ज’ गर्ने डा. साबले “समुन्नत नेपालको निर्माणमा अघि बढ्न प्रेरणा” मिलोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् । आफ्नै अधिकार र कर्तव्यका बारेमा अनभिज्ञ महामहिम साबको शुभेच्छा नेपाली जनताले कसरी स्वीकार गर्ने ? त्यस्तै नेपालको ठूलो दलको हुँकार गर्दै हिड्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना मूसोलिनी मार्काको जुँगा मुसार्दै “राज्यको पुर्नसंरचनासहितको संविधान निर्माण” होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । विचरा प्रचण्ड सोच्दाहुन् नेपाली जनता त्यति बाठा भैनसकेको परिकल्पनामा मस्त हुनन् । कि, उनको ठूलो पार्टीले संसद अबरुद्ध गरेर बजेट त पास नभएको अवस्थामा नेपाली जनताले कस्तो पुर्नसंरचनासहितको संविधान पाउने हुन् ? किन पुर्नसंरचना चाहियो ? पहिले नै जंगलबास हुँदा राज्य समिति गठन गरेको छ हैं उनको दूरदर्शी पार्टीले ! संरचना त निर्माण भैसकेको छ नि – तमुवान, लिम्बुवान, अबध, खम्बुवान, नेवा अरु के के जाति हो .. ।
सधैं आफ्ना स्थायी समिति सदस्य ओलीसँग सुमधुर सम्बन्ध हुन नसकि पार्टीमा फुटको राजनीति गर्दै हिडेका एमाले अध्यक्ष खनाल चाँहि पार्टी नेता÷कार्यकर्ताभित्र सुदृढ सम्बन्ध निर्माणमा चासो राख्नुको साटो उल्टो नेपाली जनताबीचको “सम्बन्ध सुमधुर र सुदृढ्” होस् भन्ने शुभेच्छा राख्दछन् । यस्तो बेला अध्यक्षज्यूलाई सोध्न मन लागेको छ, ए कामरेड नेपाली जनताबीच कहिले भएको छैन् सम्बन्ध सुमधुर ? बरु आफ्नै पार्टीभित्र त्यसको अभ्यास गरेर देखाऊ ।
आफ्नी ‘कहिँ नभा’की छोरी’ सुजतालाई बडो मेहनत गरी उपप्रधानमन्त्रीमा स्थापित गरि छाड्ने यो देशका सबभन्दा भाग्यशाली नेता गिर्जाबाबु चाँहि देशमा “समयमै संविधान” निर्माण होस् भन्ने शुभेच्छा राख्दछन् । आफू चाँहि संविधान सभाको बैठकमा जाँदै नजाने अनि देशबासीलाई छिटै संविधान पाऊन भनेर शुभेच्छा राख्ने ? यो देशका जनतालाई संविधान कहाँ चाहिएको छ र ? गिरीजाबाबुलाई भन्न मन लागेको छ – तिम्री प्यारी छोरी प्रधानमन्त्री भएको हेर्ने धोको छ हाम्रो । ए, गिर्जाबाबु तिमी बाचुञ्जेल यो देश र जनताले सुख पाउने छाँट मैले देखेको छैन है !
अब कुरा गरौं हाम्रा (कि गिरीजाबावुका) वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालको । आफ्नो नेतृत्वको सरकारको टिकाउने खेलमा झण्डै ४ दर्जन मन्त्रीहरु नियुक्त गर्ने अहिले सम्मकै नमुना प्रधानमन्त्री नेपालले चाँहि नेपालीहरुको भावनात्मक एकता, सहमति र सहकार्यको राजनीतिक संस्कारको विकास होओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् । साथीहरु भ्रममा नपर्नुस् यिनले भनेको सहमति र सहकार्यको राजनीतिक संस्कार भनेको घुमाऊरो पारामा यसको अर्थ हुन्छ – निर्वाचन हारेपनि यिनलाई देशको प्रधानमन्त्री बनाउने, अरु पार्टी र त्यसका नेताहरु यिनका पिछलग्गु बन्ने भन्नु नै हो । बिचरा ! यस्ता प्रधानमन्त्रीबाट देश र जनताले चाँहि के अपेक्षा गर्ने ? बरु आऊनुस् हामी सबै भएर यिनीहरुलाई छठको शुभकामना दिऔं – ई भ्रष्ट नेताहरुको सदबुद्धी आओस् !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)