जय लोडशेडिङ !


"हत्तेरिका ! फेरी मर्‍यो यो टाउको लाउनी !" गृहलक्ष्मी राइसकुकरबाट चामलपानी प्रेसरकुकरमा खनाउदै भन्छिन । म सामाजिक बिषयको 'जलस्रोत' पाठको तयारी गर्दैछु। पाठमा टलक्क टल्किने अक्षरमा लेखिएको छ – जलस्रोतमा विश्वमा नम्बर दुई धनी देश, त्रियाशी हजार मेगावाट बिद्युत उत्पादनको अनुमानित गणितिय आकडा !
गृहलक्ष्मी मलाई आवाज दिन्छिन –'के नचाहिने धन्दा हो त्यहाँ ? आउनुस यो प्रेसरबाट चामलपानी राइसमा खन्याउनुस्, लाइन आयो !'
'ल आज चै भात छिट्टै पाक्ने भयो' मनमनै सोच्दै म गृहलक्ष्मीको आदेश स्विकार्छु । 'धत फेरी चट भयो' सबै चामलपानी राइसमा खन्याउन नपाउदै बिजुली कट ! भएन फसाद ! दुर्लभ ग्यासको खर्च ! मैले अरु सोच्न नपाउदै बिजुलिको पुनरागमन हुन्छ। गृहलक्ष्मी थन्थन गर्दै भात बसाल्न पुग्छिन।
आज चै बिद्यालय टाईममा पुगिने भयो मैले हर्शित भावमा अभिब्यक्त गर्छु उनी खिसी गर्दै ओठ लेप्राउछिन – अहिले बिचैमा कट होला अनी !'
पाँच सात मिनटसम्म पनि बिजुली कट नभएपछी म खुशी मुद्रामा भन्छु – 'डार्लिङ तिमी आफ्नो काम गर म मेरो तयारी तिर लागे।'
पाठमा नेपालको जलस्रोतको व्याख्या पद्ढै गर्दा मन खिन्न हुन्छ कता कता रिस पनि उठे जस्तो गर्छ। आखिर वीर गुर्खालिको सन्तान जो परियो ! एक्कासी २ महिने उत्तराधिकारी च्या च्या गर्न थाले पछी गृहलक्ष्मीको पारो चढने नै भयो – 'एकछिन बाबुलाई समात्नु पर्‍यो ।'
निर्दोस छोरासँग रिस उठेर आउँछ 'एल्लाई फेरी येही बेलामा रुनु पर्ने?' पाठको तयारी अझै बाँकी छ 'हत्तेरी' मुखबाट उही प्रिय शब्द बहिर आउछ, ऊ धेरै बेर कोकोहोलो गर्दैन उसलाई चूनु गराउन नपाउँदै श्रीमतीजी कराउँछिन – भात हेर्नोस त एकपटक २५ –३० मिनट भईसक्यो पक्यो कि !
हतार हतार राइसकुकर तिर दौडन्छु, बल्ल पानी पो तात्दै हुन्छ। म त्यही अवाक भै उभिराख्छु । टाउको समाएर रुन मन लाग्छ, बिजुलीका मान्छेहरुलाई सराप्न मन लाग्छ । लागेर के गर्नु?
गृहलक्ष्मी फेरि कराउँछिन –'हैन के भयो भातलाई ? पाक्यो? 
"पाक्दै छ ।" साँढे नौ बज्दै गरेको घडी लाई हेर्दै म भन्छु । 'गरेर खान नदिने भए बिजुलीका मान्छेहरुले ! कुन चट फुस्कन्छ मनको बह । बिहे गरेको बर्ष दिनमै बच्चा भईहाल्यो । श्रीमतीलाई अलिअली सहयोग गर्नै पर्‍यो । भात बेलामा पाक्दैन । बिद्यालय पुग्दा सवा १० बज्छ । साथीहरु जिस्काउँछन – के हो मित्र, बिहे गरेको त बर्ष दिन पुगिसक्यो त अझै पनि ढिला को ढिला ?
प्रिय साथीहरुलाई के थाहा मेरो भित्री बेथा ? एउटा कुनाबाट साहित्य शिक्षक ब्यङग कस्छन – हाम्रो सामाजिक सरको १०, त १५ मिनट पछी बज्छ क्या! मुटुमै प्रहार गर्छन् उनी । चिथोरु जस्तो लाग्छ, नैतीकताले दिदैन –बच्चा जस्तो झगडा गर्न । 
गृहलक्ष्मी पौने दस बजेतिर पनि पुन चामलपानी खन्याउनमा नै ब्यस्त देख्छु । के गर्नु वीर हुनुको श्राप हो यो । चित्त बुझाउन खोज्छु । मोबाईल बज्छ – स्क्रीनमा देक्छु headmaster calling रीशिव गर्छु, उनी भन्छन – सर आज म स्कुल आउन पाउँदिन, नेपाली गुरु र जनसंख्या सर पनि गयल हुने रे तपाईं अली टाईममा गएर म्यानेजमेन्ट गर्नु ल । म सुन्छु मात्र, जबाफ फर्काउन सक्दिन । जय लोडशेडिङ !

Comments

बहिनीले होमवर्क गर्न पाउने रे

सानो भाइले क्यासेट सुन्दै गीत गाउने रे

के अचम्म हाम्रो घरमा खुशी छाउने रे

धेरै पछि आज बल्ल बत्ती आउने रे ।
निकै मार्मिक कुरा सुनाउनुभयो । आज हामी यस्तै विवशतामा आफ्ना दिनहरू विताउँदै छौँ । सबैको घर घरको कुरालाइ सरल शब्दमा प्रस्तुत गर्नुभयो । धन्यवाद ।

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)