साला ! नेपाली हुनुको पिडा !

एकदिन राष्ट्रप्रेम मनमा अत्यन्तै गढेपछि मैले लेखेथें – "देश रूँदा रोएन कि कठोर हाम्रा मन, देशलाई दुख्दा मलाई दुख्ने चोट पठाईदिनु !" किन बहकिएर मैले यस्तो लेख्न पुगेँ अहिले आएर बुझ्न सकेको छैन मैले, तथापि एक आम नेपाली नागरिक भएको नाताले मात्र मेरो मनमा यो भावना आएको हो भन्ने मैले बुझेको छु । हुनपनि, पछिल्ला समयमा विकसित हुँदै गएका अराष्ट्रिय गतिविधी र अराजकताले म र मजस्तै थुप्रै आम नेपालीहरुको मन दुखेको मैले नजिकैबाट अनुभव गर्न सकेको छु । पौष तेस्रो साता म काठमाडौंमा थिएँ । एकदिन रत्नपार्क जादै गर्दा त्रि–चन्द्र क्याम्पसको सडकपेटीमा म २–३ जना स्कुले विद्यार्थीहरूको एक सानो झुण्डको अगाडि हिडिँरहेको थिएँ । त्यो झुण्डको एक किशोर आवाज मैले सुनेथेँ – “साला ! मलाई नेपाली भएर जन्मिनु परेको कस्को श्रापले होला !” मलाई त्यो किशोर आवाजले स्तब्ध पा¥यो – “विचरा ! कति निर्दोष छ ऊ ? र, कस्तो विडम्बनापूर्वक आफू नेपाली हुनु परेकोमा दुःखी बनेको ! म चुपचाप अगाडि बढे । त्यो बिडम्बनायुक्त आवाज निकाल्ने किशोरलाई पछाडी फर्केरसम्म हेर्ने साहस गर्न सकिनँ । हुनपनि, उसले बोलेको यो यथार्थले मलाई बिझाएको थियो । हो, ऊ सत्य थियो । उसले महशुस गरेको नेपाली हुनुको पिडा थुप्रै नेपालीहरुको “नेपाली हुनु” को साझा पीडा थियो । बन्द, हडताल, चक्काजाम, राजनीतिक गतिरोध, भ्रष्टचार, नेताहरूको जनता पिडक व्यवहार, दैनिक उपभोग्य बस्तुको अभाव, महंगी, एसएसबी (भारतीय विशेष सीमा सुरक्षा बल) को सीमा मिचाई अनि यी र यस्तै कैयन घटनाक्रमले निराश नेपालीहरूको मनको कुरा मलाई त्यो किशोरले बोलिदिएको जस्तो लाग्यो । ऊ पढ्न हिडिँरहेको किशोर थियो । मलाई जहाँसम्म लाग्छ, उक्त किशोरले आफ्ना सहपाठीहरूसँग अध्ययन सम्बन्धी आफ्ना बुझाई वा देशमा भईरहेका उल्लेखनीय कार्यहरूका बारेमा आफ्ना अनुभवहरू साटफेर गरिरहेको हुनु पर्ने हो । र, म दावाका साथ भन्न सक्छु – शान्त वातावरणमा अध्ययन/अध्यापन कार्य हुन नसकिरहेको यो अवस्थामा त्यो किशोरले अध्ययनसम्बन्धी राम्रा र असल अभ्यासहरू अनुभव गर्न पाएकै छैन् । अनि कसरी बाड्न सकोस् आफ्ना सिकाईहरू ? देशमा उल्लेखनीय र प्रशंसनीय राजनैतिक, सामाजिक वा विकासी अभ्यासहरू हुन सकिरहेकै छैनन् अनि कसरी एक नेपाली भएकोमा गर्व गर्न सकोस् ऊ ? मलाई, अचम्म लाग्ने गरेको छ अचेल यो अव्यवस्था र अराजक संस्कृतिमा हुर्किरहेको नेपाली पुस्ताको भविष्य कस्तो छ आखिर ?!

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)