एक बिद्रोही कबिको बारेमा

साहित्यकार ध्रुबलाल शर्मा, म्याग्देली साहित्यिक फाँटमा उमेरका हिसाबले चाउरिएका र लेखनका हिसाबले माझिएका ब्यक्ति मानिन्छन् । उनी आफ्नो विद्यार्थी कालदेखि नै नेपाली साहित्यको क्षेत्रमा यसरी गाँजिए कि उनी विज्ञानका एक असल छात्र र इतिहास अनि भुगोलका कुशल शिक्षक हुन् भनेर कमैले मात्र विश्वास गर्ने चरित्रका रुपमा स्थापित हुन पुगे । सामाजिक विसंगती र राजनीतिका खेलाडीहरुले प्रदर्शन गर्ने अराजनीतिक गतिविधीका उनी सबैभन्दा उच्चस्तरको विरोधीका रुपमा चिनिन थाले । उनको लेखन शैली र क्षमतामा पाठकहरु यति विश्वस्त भेटिन्छन्, जब कोही एक व्यक्तिले उनलाई मन नपर्ने केहि गरिदियोस् त उक्त व्यक्तिको प्रवृतिलाई दर्‍हो हुर्मत लिने सामथ्र्य उनको कवितामा छ ! तर यसो गर्दा उनी धेरैपटक चुकेका पनि छन् आफ्ना सृजनाहरूमा । तथापि उनी म्याग्दीको साहित्यलाई यहाँसम्म ल्याई पुर्‍याउनका लागि दिनरात नभनि साधनारत एक इमान्दार साहित्यिक साधक हुन भन्नेमा दुई मत रहदैन् । आफ्नी प्रिय आमा मन्दोदरी शर्माबाट प्रभावित अनि उत्तिकै बढी प्रेरित भएर साहित्यमा लागेको बताउने शर्माले आफ्नो पहिलो साहित्यिक कृति नै आमाको समर्पणमा “आमाको सम्झना” नामङ्कन गरी प्रकाशनमा ल्याए । साहित्यप्रतिको उनको लगाव र कविता लेखनमा रहेको उनको वैशिष्ट्यताको उच्च मूल्याङ्कन गरी उक्त कृति माउण्ट एभरेष्ट आवासीय उच्च मा.वि.ले प्रकाशन गरिदिएको थियो । यतिखेर मलाई, एक व्यक्तिमा हुनुपर्ने व्यवस्थापकिय क्षमता उनीमा पटक्कै छैन् भनिनु उनीप्रतिको सबभन्दा ठूलो न्याय हो भन्ने लागेको छ । नत्र आफ्ना उत्कृष्ट कविता र अन्य साहित्यिक रचनाको पोकोले भरिएका झोला, पाण्डुलिपी कहाँ हरायो, कसरी हरायो भन्ने ख्यालसम्म उनले राख्नु पर्ने हुन्थ्यो । उनले मसँगको थुप्रै भेटमा गुनासो पोखेका छन् – कुन असत्तीले मेरो परिश्रम नै स्वाहा पारिदियो ! तर, मेरो बुझाई छ, एक दुई पाण्डुलिपी चोरिदैँमा उनीभित्रको खुबी रोकिने र समाप्त हुने अवस्थामा थिएन । अतएव ः आफ्नो पहिलो कृति प्रकाशनमा उनले आफ्ना कैयौं पुराना सृजनाहरुलाई सम्झनाको आधारमा पुनर्लेखन गरि समेट्ने प्रयास गरेका छन् । जेहोस् उनीमा रहेको सबभन्दा ठूलो कमजोरी मेरो बुझाईमा, उनले आफ्नो जिन्दगीमा सिक्न नसकेको भनौं वा नचाहेको एउटै कुरा भनेको नै आफ्ना काम र सृजनाहरुको उच्च व्यवस्थापन नै हो । उनका बारेमा लेखिरहँदा, मैले स्नातक गरिरहँदा पढेको एक नाटकको पात्रको अनुभूत गरेको छु । महान नाटककार मोलिएर लेखेको नाटक The Misanthrope को पात्र Alceste को प्रवृतिको नजिक मैले उनको दृष्टिकोण भेटेको छु । नाटकमा पुरुष पात्रको मानव जाति (कुसंस्कार) प्रतिको घृणाको धेरै हद उनको आफ्नो अनुभव हो भन्नेमा मेरो कुनै संशय छैन् किनकी ध्रुवलाल शर्माका थुप्रै कवितामा मैले सामाजिक कुसंस्कार र आफूलाई मानव जाति भएकोमा “जेपनि गर्न पाउने छुट भएको” जस्तो पाखण्डपन देखाउनेहरूका विरुद्ध विरोधका आगो ओकलेको पाएको छु । यसको पुष्टीका लागि मेरो हातमा उनको पछिल्लो कृति “प्रतिच्छाया” छ । र, मैले यो संग्रहमा उनीभित्र रहेको कुसँस्कार विरुद्धको आवाजको प्रष्टिकरणका लागि कविताहरु खोतलिरहनु आवश्यकता नै छैन । संग्रहको पहिलो कवितामा नै उनले “भो भो नसोध मलाई” शिर्षकमा एक महिलाले आफूसँग अन्तरवार्तालाप गर्न आएका संचारकर्मीहरूसँग असहमत हुँदै भनेको भाव छ –

वागिस विगत आफैँ बोल्छ,

मैले केहि बोल्नु छैन्,

दुखाईमा कुल्कनेहरुलाई

 कुनै भेद खोल्नु छैन् ।

कविताको यसरी आरम्भ गरेका उनले कविताभित्र एक सहिदपत्निको व्यथालाई यति तित्ततापूर्वक पोखेका छन् कविता पढ्नेहरुमा एक अज्ञात जोश पैदा गरिदिन्छ – सामाजिक कुसंस्कारको विरुद्धमा आगो ओकल्नलाई !

“धेरैका सिँदुर सहिद भए,

विचरा सहिद !

मालाभित्र मात्र कैद भए”

उनीमा रहेको यस प्रकारको काव्य सामथ्र्य धेरै कममा मात्र हामी पाउन सक्छौं । आफूलाई मन नपर्ने खिस्रिक्क केही भएको उनीभित्रको काव्य सामथ्र्य जुरुक जुरुक भैहाल्छ । अनि कहिलेकाही उनी आफूलाई आफ्नै पहिचानको खोजी गर्न मन लाग्छ । जहिले पनि असहमति र विरोध गरिरहँदा आफ्नो प्रस्तुती समाजमा सधैं निरेपक्षरुपमा पाच्य नहुँदा, उनले आफ्नो पहिचान गुमाएको ठम्माई राख्दछन् । अनि फेरि आफूभित्र आफूलाई खोज्दा फेरि उसैगरी आफूलाई भेट्छन – पीडकका निम्ति बम बन्नुपर्छ पीडितका निम्ति मलम बन्नुपर्छ जहाँ मैले मलाई पाउन सकूँ । घुमिफिरी रुम्जाटार भनेझैं, समाजमा हेपिएका अनि पछाडी पारिएका वर्गबाट उनी आफूलाई कहिल्यै छुटाउन चाहँदैनन् र आफूलाई कुलीन र उच्च वर्ग मान्ने शोषक सामन्तहरुको गरिवपिडक व्यवहारका विरूद्ध युग–युगसम्म लडिरहन प्रेरित गर्नबाट पन्छिदैनन् । हुन पनि उनको पछिल्लो काव्यकृतिमा समेटिएको एउटा कविताको रचनागर्वमा उनले उल्लेख गरेको तथ्यबाट पनि हामी सहजै अनुमान गर्न सक्छौं कि देशमा विद्यमान राजनीतिक संस्कार, प्रवृति र अवस्थाका विरुद्धमा उनमा कति असन्तुष्टि छ । उनले “बूढो चट्टान” कविताको रचनागर्भमा उल्लेख गरेका छन् – नेपालमा लामो समयसम्म जरा गाडेर रहेको सामन्तबादको अन्त्यो भयो तथापि दलका नेताहरुको कायरताले गर्दा सामन्तको नाइके राजालाई ससम्मान दरबार (नागार्जुन) मै स्थानान्तरण गर्न पुगे । सेना दिइयो, कर्मचारी दिइयो, यो दिइयो, त्यो दिइयो ...... र, यही असन्तुटिलाई उनी कवितामा व्यक्त गर्दछन् –

दरिद्र र कायर अगुवाहरु

हरिकङ्गाल भगुवाहरु

 आफ्ना आयतनको दम्भले

हाम्रो अविरल यात्रालाई

दण्डित र खण्डित तुल्याउने चट्टान !

 ससम्मान स्थानान्तरण भयो

वरबाट केहि पर सारियो

चौराहको स्थान बमान पारियो

यसरी समाजमा छरपरष्ट रहेका सामाजिक कुसँस्कार, कुप्रभाव, कुप्रवृती र दबदवाको भण्डाफोर गर्दै एक असल र स्वस्थ समाज निर्माणको सायदै पुरा हुने सपना उनी आफ्नो कवितामा खोजिरहेछन् – ठीक त्यसरी जसरी मोलिएरले लेखेको नाटक The Misanthrope को पात्र Alceste को परिकल्पनामा थियो ! २०६६ माघ २
Post a Comment

Popular Posts