दशै

मेरो भित्तामा
उभिण्डो परेको पात्रोले
प्रत्येक शरदमा
एउटा दौडको आयोजना गर्दछ –
मेरो विवश नगरमा !

काठमाण्डु
घोर्ले खसीको पछि दौडन्छ,
बाजुरा
उसिना चामलका लागि
उछिट्टिन्छ ।
धरान
फेसनको एक श्रृङ्खला बनाउँछ ।

सोलु
हिउँको चीसो बतासमा
कठ्याङिग्रएर रोइदिन्छ,
दशगजा
साँघुरिएर आफैभित्र
थाहै नपाई बिलाईदिन्छ ।

सुनसान गल्लिहरुमा
कर्कश आवाजहरु सुनिन्छ,
भीडहरुमा
आवाज गुपचुप भैदिन्छ,
प्रत्येक शरदमा
एक दौड हुन्छ,
मेरो नगरमा ।

आशा लिएर आउने दौड
आशा बोकेर लैदिन्छ,
सफल होला कि भन्ने दौड
निरर्थक भैदिन्छ,
तथापी
युग–युगदेखि
प्रत्येक शरदमा
एक दौड हुन्छ
मेरो नगरमा ।
फगत
एक दौड हुन्छ,
मेरो विवश नगरमा !
Post a Comment