ज्ञानेन्द्र, दिवास्वप्न र जनकारबाही


हिजो बुधवार पूर्व राजा ज्ञानेन्द्रले ‘राजसंस्थाको समाप्ती काल्पनिक भएको’ बताएपछि सामान्य नेतादेखि प्रधानमन्त्रीसम्मको टाउको दुख्न थालेको छ । हिजो ज्ञानेन्द्रको सक्रिय राजनीति हुँदा दाम चढाएर ‘प्रधानमन्त्री’ पदका लागि एप्लिकेशन हालेर फेल समेत भएका वर्तमान सरकारका महामहिम प्रधानमन्त्री माधवकुमार नेपालले ज्ञानेन्द्र शाहले अभिव्यक्त गरेको कुरो दिवा स्वप्न भएको टिप्पणी गर्न सम्म भ्याएका छन् । संविधान सभाको निर्वाचनमा एक ठाउँ होइन् दुई–दुई (सायद उम्मेदवारी दिन मिल्ने भएको अझ धेरै स्थानबाट पनि चुनाव लड्ने थिए होला) वटा क्षेत्रबाट दुवै ठाउँमा सिलटिम्मुर खाएपछि नैतिकताको बहानाबाजीमा पार्टीको हुँदाखाँदाको ‘महासचिव’ पद त्यागेर झण्डै झण्डै राजनीतिबाट हात धोईसकेको स्थितीमा विश्वमा कहि नभएको मात्र नभै कसैले अझसम्म कल्पना नगरेको घटनाको आफू ज्यूँदो इतिहास (पात्र) भएको भुसुक्कै बिर्सिएर प्रधानमन्त्री नेपालको यो कस्तो टिप्पणी हो मैले बुझ्न सकेको छैन् ! अब विश्वमा कोही मान्छे चुनाव हारेर प्रधानमन्त्री बनेको रेकर्ड नै नभएको परिप्रेक्ष्यमा आफू चाहिँ नेपालको प्रधानमन्त्री हुन सक्ने, बिचरा जनताको चाहनालाई उच्च कदर गर्दै रक्तपातविना राजसंस्था त्याग्नेसम्मको लचकता देखाउने ज्ञानेन्द्र शाहले जनताले चाहेको खण्डमा आलंकारिक राजाको रुपमा जनताको सेवा गर्न पाउने ईच्छा जताउन नपाउने ? दिवास्वप्न हुने ? यो त अलि नमिल्ने कुरो भएन र माकुनेजी ?
उता एकिकृत नेकपा माओवादीको कुरो अर्कै छ, उसले आफ्नो असन्तुष्टि ब्यक्त गर्ने क्रममा पार्टीको आधिकारीक धारणा प्रस्तुत गर्दै भनेको छ – अब यो मात्तेको पूर्वराजालाई जनकारबाही गरिनेछ । म अचम्ममा परेको छु, यो कस्तो लोकतान्त्रिक गणतन्त्र भएको देश हो जहाँको आम नागरिकले आफ्नो विचार स्वतन्त्र ढंगले अभिव्यक्त गर्दा कुनै पार्टी विशेषको ‘जनकारबाही’ मा पर्नु पर्ने ? जनकारबाही त माओवादी लगायतका अन्य दलका नेताहरुलाई निकट भविष्यमै आम नेपालीहरुले गर्नुपर्ने भएको छ । शान्ति प्रक्रियालाई निष्कर्ष दिनमा निराश देखिने दलका नेताहरुलाई जनकारबाही गर्नुपर्ने भएको छ । सत्ताको वरिपरी आँखा गाड्ने सत्तालोलुप तिमी माओवादी, एमाले र कांग्रेस नामका पार्टीका नेताहरु जो सत्ताका लागि जसलाई जे पनि गर्न तयार हुन्छौं, तिमीहरुलाई पो जनकारबाही गर्नुपर्ने ! विदेशी प्रभु भनेर सार्वजनिक ठाउँमा सत्तोसराप गर्ने अनि गुप्तकोठामा काधमा काध, हातमा हात मिलाउने सम्पूर्ण दलका फाशिष्ट नेताहरुलाई जनकारबाही गर्नुपर्ने भएको छ । संविधान बनाउने सुरसारै नगर्ने जातका आधारमा राज्य बाड्नुपर्छ भन्दै बकम्फुसे कुरा गर्ने नेताहरुलाई पनि जनकारवाही गर्नुपर्ने भएको छ ।
जनताप्रति नेता भनौंदाहरु उत्तरदायि नभएपछि, राजतन्त्र समाप्ती भएको कुरा काल्पनिक हो भनेर भन्न पाउनु ज्ञानेन्द्र शाहको अधिकार हो । यो राज्यसँग राजतन्त्रको पूरानो सम्बन्ध छ । र, अनि दलका नेताहरुले बुझिराख्नु पर्ने एउटो मुख्य कुरो के हो भने देश विकासको अवरोध राजसंस्था होईन् राज्य संचालन प्रणाली हो । विश्वका सबभन्दा विकसित, सभ्य, सुसंस्कृत र धनी देशहरु बेलायत, नर्बे, डेनमार्क र जापानजस्ता देशमा नेपालको जस्तो नौटंकी लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक प्रणाली छैन् बुझिराख – ती देशहरुमा राजतन्त्रात्मक राज्य सञ्चालन प्रणाली विद्यमान छ, दाम, नाम, सत्ता र भत्ताका खोजीमा भौतारिएका ए, कामरेडहरू !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)