साइकल माथि चढेर, सपना चुम्ने मेरो साथी

जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको प्रभावलाई केहि हदसम्म भए पनि न्यूनिकरण गर्नु र परिवर्तित जलवायुमा अनुकुलन हुनु आजको विश्वका लागि यी सबभन्दा महत्वपूर्ण पहिलो दुई विकल्प हुन् । जलवायु परिवर्तनको मुद्दाले अहिले विश्वका सबै गरिव तथा धनी, विकसित तथा अविकसित सबै देशहरूलाई एउटै मञ्चमा उभ्याईदिएको छ । र, विश्वका प्रत्येक राष्ट्रहरूले प्रत्येक मञ्चमा यिनै दुई विकल्पका बारेमा भरपुर छलफल चलाउने र यीनको सफल कार्यान्वयनका लागि अति नै महत्व दिदैँ आएका छन् । तथापि, समस्या भने ज्यूँका त्युँ नै छ । जलवायु परिवर्तनका कारण उत्पन्न दुष्परिणामहरूबाट सबभन्दा बढी जोखिममा पर्ने मुलुकहरुको अग्रपंक्तिमा रहेको हाम्रो देशमा जलवायु परिवर्तनका प्रभावका कारण उत्पन्न हुने जोखिमलाई न्युनिकरण गर्ने आवश्यक श्रोत र साधनको टड्कारो खाँचो अवश्य नै छ । तथापि, यो समस्यालाई समस्याका रुपमा मात्र नहेरी समाधानका आवश्यक उपायहरूको अधिकतम खोजी गर्नु पर्ने हाम्रो दायित्व पनि हो । र, परिवर्तित जलवायुका क्षेत्रमा युवाहरूको भूमिका त झन उदाहरणीय हुनु आवश्यक नै हुने भो’ । यस्तै भूमिकालाई आत्मसाथ गरेका एक युवासँग मेरो मित्रता हुनुलाई हावापानी परिवर्तनका क्षेत्रमा आफूले निर्वाह गर्नुपर्ने भूमिका बारेमा अझबढी स्पष्ट हुनका लागि सघाउ पुर्‍याउने कोशेढुंगाका रुपमा लिएको छु । पर्वत घर भै हाल काठमाडौं ज्ञानेश्वरमा डेरा गरी बसेका बसन्त पौडेल त्रि–चन्द्र क्याम्पसमा वातावरण विज्ञानको स्नातक तेस्रो वर्षका छात्र हुन् । हरेक काममा आफ्नो नेतृत्वदायि भूमिकाले केही गर्न सक्छु भन्ने मान्यताका २१ वर्षीय यी युवालाई मैले मित्रका रुपमा पाएको थिएँ, गत बैशाखको पहिलो साता चितवनको सौराहमा ! दोश्रो नेपाली जलवायु सम्मेलनका एक सक्रिय व्यवस्थापक, आयोजक तथा सहजकर्ताका रुपमा मैले उनको प्रस्तुती अविश्वसनीय पाएको थिएँ । इन्जिनियर पुत्र, मेरा नवपरिचित मित्र बसन्त जलवायुका एक महत्वपूर्ण युवा अभियन्ता हुन् भन्दा फरक नपर्ने मेरो आफ्नै ठनाई छ । नेप्लिज युथ फर क्लाईमेट एक्सन नामक राष्ट्रिय स्तरको एक लुज नेटवर्कको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका उनी त्रिचन्द्र क्याम्पसको युवा रेडक्रस सर्कलका अध्यक्ष पनि हुन भन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । आर्थिक लाभबाट अभिप्रेरित नभै नितान्त सामाजिक सेवामा कटिबद्ध मेरा मित्र बसन्तको लगाव र आफ्नो भूमिका प्रतिको निष्ठा देख्दा मलाई पनि आहरिश लाग्दछ । गतसाता काठमाडौं गएको मौंकामा मैले उनलाई उनको कलेजमा भेट्ने मौका पाएको थिएँ । त्रिचन्द्र परिसरबाट आफ्नो साइकलमा चढेर बाहिरिदैँ गर्दा मैले उनलाई थुप्रै प्रश्नको झटारोले हाने । मानौं उनी हाजिरीजवाफ प्रतियोगिताको र्‍यापिड फायर राउण्डमा आफ्नो टिमको कप्तानी सम्हालिरहेका छन् । आत्मविश्वासले भरिपूर्ण उनको तार्किक जवाफबाट मैले हावापानी परिवर्तनको आधारभूत विज्ञानसम्बन्धी थुप्रै जानकारी प्राप्त गरेँ । वातावरण प्रदुषण कम गर्न र कार्वन उत्सर्जनमा कमी गर्नमा आफ्नो सक्रिय सहभागिताले निकै राम्रो भूमिका खेल्नुपर्छ भन्ने हेतुले साइकलमा यात्रा गर्ने बताउने यी मेरा युवा मित्रका विचार प्रदुषित काठमाडौंमा अक्सिजन हुन सकुँन भन्ने मेरो आशा छ, सतत् शुभकामना मित्र बसन्त !
Post a Comment