कल्पनाभन्दा केहि पर : बेनीदेखि सोर्मार्कासम्म

विभिन्न बस स्टपहरूमा निर्धारित समयमा रोकेर, यात्रुहरू झराल्दै र उकाल्दै हामी सवार बस सोर्मार्काको बस स्ट्याण्डमा आएर रोकियो । क्याथ्रिन, एलि, हन्स, प्रजु र म क्रमशै ः बसबाट ओर्लियौं । हन्सले हामीलाई कार्यक्रम स्थलमा लगे । साँझको करिब सात बजेको समयमा हामी तालिम स्थलमा पुग्यौं । केन्याका लागि युवा स्वयंसेवक रहिसकेकी रेग्नल्ड स्टाधिम र कार्यक्रम संयोजक लट्टा क्याटबग म्याडसेनले हामीलाई न्यानो स्वागत गरे । र, काउण्टरमा रहेकी एक अधवैशेंले हामीलाई आ–आफ्ना कोठाहरूको कि–कार्ड दिइन्, तत्पश्चातः हामी केहिबेर आरामका लागि आफ्नो कोठातिर लाग्यौं । एक थान टिभि र आरामदायी दुईवटा विस्तराको साथमा रहेको एक थान दराज भएको एट्याच बाथरुम सहितको कोठाभित्र पस्दा बित्तिकै मन पुलकित भएर आयो । अहा ! म त्यो क्षणको बयान यहाँ शब्दमा कसरी गर्न सकुँ ? त्यो भब्य कोठाबाट फुसफुस परिरहेको हिउँलाई झ्यालबाहिरको होचा रुखहरुको सानो वनमा मैले अविछिन्न हेरिरहेँ ! प्रणयदिवसको त्यो दिन मैले मेरी धर्मपत्नीलाई एकतमास सम्झिराखेँ । अझ साँच्चिकै भन्नुपर्दा त्यो फुस्फुसाईरहेको हिउँले मलाई मेरी धर्मपत्नीको याद दिलायो । कल्पनामा मैले मेरी छोरीलाई “हिउँ परो, हिउँ परो” भन्दै मेरै वरिपरी घुमिरहेको पाएँ । अहाँ ! जीवनमा यस्ता मनोरम क्षणहरू किन पटक–पटक दोहोरिएर आउँदैनन् हँ ? मनले मनलाई प्रश्न गरिराखेको त्यो पलको गुञ्जायस अब कहिले फेरि उसै गरि दोहोरिएर आउला ? प्रत्येक पल्ट ती पलहरूको यादमा मलाई यस्तै लाग्दछ !
त्यो १४ फ्रेबुअरीको साँझ मैले नर्बेजियन डिनरको पहिलो स्वाद लिएर कोठामा फर्किसक्दा, मेरो रुम पार्टनर तार्या कोठामा आइसकेका थिए । परिचय आदानप्रदान गरिसकेपछि अन्तरंग साथीहरू झै हामीले अति नै नीजि कुराहरू पनि गर्‍यौं । उनी कम बोल्ने तर रसिक मानिस लाग्यो मलाई । मैले सुने झैं पश्चिमाहरू असहयोगी र नीतान्त अन्तरमुखी स्वभावका हुन्छन् भन्ने कुरा उनीसँगको उठबसले अझ थप अप्रमाणित गरे झैं मलाई लाग्यो । आफू अझैसम्म पनि अविवाहित र संयोगबश केटीसाथी पनि नभएकाले वाईफाई इन्टरनेट सेवा निशुल्क उपभोग गर्न पाइने उक्त कोठामा प्रत्येक साँझ उनी आफ्नो ल्यापटप मलाई दिदैँ नेपालमा भएकी मेरी पत्नीसँग ई–वार्तालापका लागि उक्साईरहन्थे । यसरी प्रत्येक नर्वेजियन साथीहरू तथा हामीजस्तै रूवाण्डा र सुडानबाट आएका साथीहरूसँगको नियमित उठबसले मलाई निकै नै रोमाञ्चित बनाईरहेको थियो ।
नर्वेजियन युवा रेडक्रसकी केन्द्रिय सभापति कमिला हेल्गेसनको नर्वेजियन युवा रेडक्रसको क्रियाकलापहरूका बारेमा भएको प्रशिक्षण होस् वा करिना र मरिनाको युवा स्वयंसेवक हुँदाको अनुभूतिहरू साटफेरको सत्र होस् ती सबै निश्चित समयमा शुरू भए र अति नै निश्चित समयमा सकिए । मलाई यस्तो लाग्यो, उनीहरूलाई हामीलाई भन्दा सयौं गुणाबढी समयको महत्व थाहा छ र समयको परिपालनामा उनीहरू निकै नै पारंगत छन् । समूहमा विभाजित भएर गरिएका विभिन्न कार्यहरू अनि चुस्तपन र मनोरन्जनका लागि गरिएका आउटडोर क्रियाकलापहरूबाट प्राप्त रोमाञ्चकताको वर्णन शब्दमा अभिव्यक्त गर्न म असमर्थ छु । विश्व स्वास्थ्य क्षेत्रमा अति सम्मानित मानिने फ्लोरेन्स नाइटिंगेल पदक प्राप्त गर्न सफल टोरेल प्यारेलिन्सको “कार्यक्षेत्रमा स्वास्थ्य सम्बन्धी अनुभव” को सत्रमा रेडक्रस स्वयंसेवीहरूले कसरी युद्धका मैदानमा र विभिन्न प्रकोपबाट पिडितलाई मानवीय सेवा पुर्‍याउँदै आएका छन् भन्ने जानकारी प्राप्त गरेपछि, मलाई ‘मानवीय सेवा’ लाई अझ नजिकबाट बुझ्ने अवसर पाएको अनुभूति भयो । अझ एक वृद्ध प्रशिक्षक गेयर एन्डसनको “कार्यक्षेत्रमा सुरक्षा” विषयक प्रस्तुतीमा मैले प्रत्येक साना त्रुटीहरूलाई बेवास्ता गर्दा कति भयानक परिणाम ब्यहोर्नु पर्दोरहेछ भन्ने राम्ररी थाहा पाएँ । वल्फ प्लस वाटर आर्टस् कम्पनीका वरिष्ठ प्रशिक्षक पिटर ह्यारिसको “साँस्कृतिक चेतना र द्धन्द्ध व्यवस्थापन” सम्बन्धी प्रशिक्षण म मात्र होईन तालिममा सहभागी सबैले यस्ता उत्कृष्ट प्रशिक्षकको संगत पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको पाइयो । उनी प्रशिक्षणमा यति पारंगत थिए कि उनले गराउने हरेक क्रियाकलापले सहभागीहरूको ग्रहण गर्ने क्षमतालाई अझ बढि तेज गराएको महशुस हुन्थ्यो । उनको प्रशिक्षण पछि सबै सहभागीहरूले उनका बारेमा निक्कै राम्रा टिकाटिप्पणी गरेँ । वास्तवमा, आफ्ना विषयमा निपूर्ण र उत्कृष्ट प्रशिक्षण क्षमता भएका प्रशिक्षकहरूको संसाथमा रहेर कुनै पनि विषयमा ज्ञान हासिल गर्न पाउनु धेरैका लागि महत्वपूर्ण र यादगार हुन्छन् । मैले थुप्रै हिसाबले यो तालिम प्राप्त गर्न पाउनु महत्वपूर्ण र विशेष भएको अनुभूति गरेको छु ।
मैले जीवनमा कहिल्यै यत्रो ठूलो अवसर प्राप्त गर्छु भन्ने सपनामा देख्नु त परै जाओस् रटना पनि गरेको थिइनँ । अहिले आएर लाग्छ, जसले प्राप्त अवसरलाई सहि समयमा पकड्न सक्तछ, त्यसले जीवनमा अकल्पनीय मौका प्राप्त गर्ने वातावरण सृजना गर्दछ । मलाई राम्ररी याद छ, पौष महिनाको अन्तिम सातातिरको त्यो दिन कार्यालयको काम लिएर म झोला बोकेर झण्डै एक हप्ताको लागि ताकमतिर जादैं थिएँ । हुलाकचोकमा म जुरेसमा रहँदा जुरेस प्रकाश मा.वि. (हाल उच्च मा.वि) बेनीमा शिक्षक नायक रहनुहुने र मलाई रेडक्रसमा आबद्ध गराउनुहुने गुरू ध्रुबलाल शर्माले मलाई रोक्दै भन्नुभएथ्यो – “बाबु, नर्बेमा एक हप्ते तालिमका लागि रेडक्रस केन्द्रिय कार्यालयबाट प्रतिस्पर्धामा सहभागीताका लागि जिल्ला शाखालाई पत्र आएको छ, ईच्छुक भए म सिफारिश गर्न लगाउँछु । मलाई लाग्छ, तिमीले सक्छौं ।” “खै गुरू ! म ताकमतिर जाँदैछु, फर्केपछि कुरा गरम्ला, हैं ।” गुरूको कुरामा खासै चासो नदिएर म त्यहाँबाट हिड्न खोज्छु । गुरूले मलाई अझै केहिबेर त्यही अड्याएर आफ्ना कुरा पूरा सुनाउने जमर्को गर्दै भन्नुहुन्छ – (मलाई फेरि बुढाले कतिखेर कुरा सिध्याउँछन् र त्यहाँबाट हिडम्ला भन्ने लागिरहेको हुन्छ) “अँ साँच्ची तालिम पछि नौ महिना जति उतै स्वयंसेवक भएर काम गर्न पाईन्छ नि । परिक्षामा सर्वोत्कृष्ट हुन सक्नुप¥यो बाबु, भविष्य बन्छ ।” मलाई गुरूले भनेको अन्तिम दुई शब्द ‘भविष्य बन्छ’ भन्ने शब्दले केहि आकर्षित गरे । तथापि हतार हतारमा कुरा सिध्याएर म करिब एक हप्ताको लागि ताकमतिर लागेँ । आज आएर लाग्छ, गुरूले मलाई जति विश्वास गर्नु भएको थियो । त्यति मैले किन आफूलाई विश्वास गर्न सकिन होला ? अनि साँच्ची त्यो दिन गुरूले मलाई त्यो कुरा जानकारी नगराएको भए नि ? मैले यो अन्तिम चार भागसम्म लेखेका कुराहरू संस्मरण होइन कोरा काल्पनिक कथाका रूपमा हुन्थे होला ! थ्याङ्क्यु गुरू ! जय रेडक्रस !
Post a Comment

Popular Posts