ओश्लो, नेपालीहरु र मेरो एक असल साथी

मेरो बुबाको साथी र मेरो पनि साथी बरंजा म्याग्दीका रामचन्द्र आचार्य जस्ता साथीहरु निकै कम नै हुन्छन् । उनको सहयोगी बानी तथा साथीहरुको बारेमा अति धेरै चासो व्यक्त गर्ने, सञ्चो, बिसञ्चो सोध्ने उनको यी र यस्ता थुप्रै आनिबानीले मलाइ हायलकायल पारिसकेको छ । उनको मिजासता र हार्दिकता मैले कहिल्यै पनि बिर्सन सक्दिन होला भन्ने लाग्दछ ।
हिजो शनिबार सप्ताहन्तमा नेपालको न्यास्रो मेटाउनलाई उनको निमन्त्रणा थियो, मलाई । म उनकोमा गएँ । उनी ग्रूनल्याण्डमा आफ्नो काममा मस्त नै थिए । उनको मेहनती बानीले मलाई निकै नै प्रभावित पार्यो । म उनले गरिरहेको कामलाई निकै नै नजिकबाट नियाल्दै थिएँ । उनले मलाई पचास क्रोनरको नोट दिदैँ मलाई मन पर्ने तरकारी छानेर ल्याउन भने । मैले मसँगै छ पैसा राख्नुस भन्दा पनि उनी पटक्कै मानेन । कुनैदिन मलाई उनैले नै भनेका थिए, नर्बेमा आएका नेपालीहरुमा कसले धेरै पैसा कमाउने ? भन्ने अस्वस्थ प्रतिस्पर्धा छ । तर लाग्यो उनी त्यो प्रतिस्पर्धामा भाग नलिएका एक्ला बृहस्पती हुन । उनले मलाई ओश्लो झर्दाको दिन नै सिमसहितको मोबाईल दिए, आफूसँग थुपै्र पटक डिनर र लन्च गराए । र, हिजो फेरि आउनको लागि निमन्त्रणा गरे ।
म चुपचाप उनकोमा गएको थिएँ । किनकी यिनीजस्ता असल साथीको संगत निकै नै दुर्लभ हुन्छ । उनी काममा अति नै व्यस्त थिए । मलाई पर्खिराख्न अल्छि लागिरहेको थियो । मैले काम गरिरहेका उनलाई फोन गरेर सोधे — आरसी सर कतिखेर आउने ? उनी अझै व्यस्त थिए । मैले छेवैको समोसा पसलमा समोसा किनेँ । समोसा पसलको मान्छे हिन्दीमा बोल्यो । मलाई खुशि लाग्यो, अहोँ नेपालकै नभए पनि नजिकैको मान्छे त भेटेँ नि ! उसले नेपाली गीत गाएको सुने पछि मलाई अचम्म लाग्यो । पछि त मोरो नेपालकै रहिछ । ऊ मसँग धेरै बोल्न चाहेन । म समोसा र पेप्सी खादैँ रामचन्द्रलाई पर्खिराखेको थिएँ । उनी आफूले भनेको समयभन्दा पनि १० सेकेण्ड अगाडि आईपुगे । मैले हाँसो गरे — नेपालमा भएको भए आधा घण्टा ढिलो हुन्थ्यो होला है ! युरोपमा त राम्रो व्यवस्थापन रहिछ नी, है ! लामो हाँसो छुट्यो ।
उनले भने, हामी उनको कोठामा हैन कृष्ण जि.सी (धौलागिरि एफ.एम.का भू.पु. कार्यक्रम संयोजक तथा चर्चित आर. जे) को कोठा स्टोभनरमा जादैँ छौं । मलाई अति नै खुशि लाग्यो । किनकी उनलाई मैले दुई हप्ता अगाडि दुई मिनेट मात्र भेट्न पाएको थिएँ । र, आज हामी उनकै रात बिताउन जादैँ थियौं ।
(कृष्ण जि.सी. को मा बिताएको रातको विवरण अर्को पाली लेख्नेछु ।)

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)