जय, जय, जय हे नेपाल !

साँच्चिकै आज भोली मलाई लेख्न गार्हो हुन थालेको छ । न उत्साह छ, लेख्नलाई ! न त कुनै प्रेरक कुरा नै ! मात्र लेखेको छु, लेख्नु मेरो रुची भएकाले ! कहिलेकाही जीवनमा आफूले हासिल गरेका साना तिना कुराहरुलाई पनि मिलाएर लेख्न जान्ने हो भने तिनले पनि केहि अर्थ राख्न सक्दछन् । त्यहि ठानेर आज मैले यो ब्लग पोष्ट लेख्न शुरु गरेको हुँ ।
अचेल मलाई लाग्न थालेको छ, देश बाहिर अर्काको ठाउँमा उनीहरुलाई आफ्नो देशप्रतिको सदभाव र देशप्रेमका बारेमा बताउन कत्ति आनन्ददायक विषय हुन्छ ? आज म धेरै खुशि छु । केहि भएपनि मैले आज आफ्नो देशको सुन्दरताको बारेमा केहि बताउन पाएँ र करिब ३ महिना पछि देशमा आयोजना हुन थालेको पर्यटन वर्षका बारेमा यूटुबमा भेट्टाएको भिडियो समेत विदेशीहरुका अगाडि प्रदर्शन गर्न पाएँ ।
मलाई थाहा छैन, अबको तीन महिनासम्म पनि मेरो देशले प्रधानमन्त्री पाउँछ वा पाउँदैन । पार्टीगत स्वार्थमा अल्झेको मेरो देशको राजनीति सन् ११ भरीमा स्थाई निकास पाउन सफल हुन्छ वा हुँदैन । तर मलाई थाहा छ, यो बढ्दै गएको घटनाक्रमले मेरो देशको हरेक खालको भविष्यलाई अनिश्चित बनाईदिएको छ । विश्वमा २०० भन्दा बढी देश छन । जसमा मेरो देश जस्ता गरिव र राजनीतिक अस्थिरता भोगिरहेका देशहरुको संख्या समेत उल्लेखनीय नै छ । तर म एकदम निश्चिन्तताका साथ भन्न सक्दछु, मेरो देशमा जस्तो गोलमाल र खस्कदो संयन्त्र संसारका अरु कुनैपनि देशमा घट्दो क्रममा छ । सिवाय हाम्रो देशमा ।
जे भएपनि मैले यी पश्चिमाहरुलाई मेरो देशको प्राकृतिक सौन्दर्यताका बारेमा केहि बताउन सकेँ । त्यसमा म गर्ब गर्दछु । र, उनीहरुलाई बुझाउन सकेँ — हामी नेपालीहरु आर्थिक रुपमा जति पछौटे जिन्दगी बिताईरहेका छौं, प्राकृतिक सौन्दर्यतामा हामी त्यति नै धनी छौं । कम्तिमा पनि देश चलाउछन् भनेर हामीले नेता मानेका देशद्रोही भाइरसहरुको अन्त्यको दिन धेरै टाढा नभएकाले म ढुक्क छु — हामीले छिट्टै आर्थिक क्रान्तिको फड्को मार्ने छौं । र, फेरि म यिनीहरुका बीचमा मेरो देशको प्राकृतिक सौन्दर्यता र यहाँको जैविक विविधिताको मात्र प्रस्तुती लिएर होइन, मेरो देशको परिवर्तन, वैवभशालिता, सुशासन र विकासका सम्बन्धमा चित्ताकर्षक प्रस्तुती लिएर शानका साथ प्रस्तुत हुनेछु ।
जय नेपाल !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)