ढोरपाटन, स्वतन्त्र प्रेस र जलेको खबर

नेपाली राजनीतिमा प्राय ः बहसको विषय बन्छ, स्वतन्त्र प्रेस । र, प्रेसलाई स्वतन्त्र रुपमा चल्न अघोषित बन्देज लगाएका छन् — राजनैतिक दल र तिनका भातृ संगठनहरुले । चाहे माओवादी हुन, चाहे एमाले वा ती कांग्रेसी किन नहुन, जब कुनै पत्रिकाले तिनका बिरुद्धमा लेख्ने साहस गर्दछ । उनीहरुलाई लाग्दो हो, यल्ले चुरीफुरी देखायो । यल्ले हाम्रो विषयमा लेख्ने दुस्साहस गर्‍यो । अझ कतिलाई त यस्तो पनि लाग्दो हो, हाम्रा विरुद्दमा लेख्ने त्यो नाथे को हो ?
जब प्रकट जेल पर्‍यो, पत्रिकाहरुमा खैलाबैला शुरु हुन थाल्यो । सामान्य मान्छे युनिटिकै कारणले जेल परेको भए यति धेरै खैलाबैला पक्कै हुने थिएन । ऊ त बागलुङ बजारमा सामाजिक प्रतिष्ठा कमाएको युवा थियो । पत्रिकाहरुमा समाचार आउनु, टिकाटिप्पणी हुनु ठूलो कुरो होईन । कम्तिमा पनि प्रकटले के गरिरहेछ? कहाँ छ? भन्ने सुचना त मान्छेहरुले थाहा पाए नि । तर दुःख लाग्दो कुरो, समाचार छापेकै विषयलाई लिएर बाग्लुङका कांग्रेसी बन्धुहरुले ढोरपाटन दैनिक जलाएछन् । 
सम्झना अझै ताजै छ, जीवनभर आलोचित तर मरे पछि युगपुरुष, महान नेता आदि विशेषणले सुशोभित सबैभन्दा बढि प्रधानमन्त्रि हुन सफल अर्थात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला नै एकमात्र यस्ता नेता थिए, जसले सर्बाधिक चासो दिएको विषय थियो — स्वतन्त्र प्रेस । तर आज उनकै अनुयायीहरुले यसो गरेभन्दा त्यो हरहालतमा शोभनिय लागेन मलाई । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पत्रिकाहरुले उनका विरुद्दमा जेहाद छोडेका थिए । तत्कालिन परिस्थितीमा सर्बाधिक शक्तिशाली राजाले त केहि गर्न सकेनन भने आठदस जना माछेहरुको झुण्डले पत्रिका प्रकाशन नै ठप्प होला त ? यसको मतलब के एक अंक ढोरपाटन जल्दैमा अब समाचारको उत्पादन र सम्प्रेषण बन्द होला त?
मैले यतिखेर सम्झेको छु । तीतो यथार्थ लेख्दा म घेरिएको थिएँ, बेनी बजारमा । पचासौंको संख्यामा शारीरिक कारबाही गर्ने भनेर आएका थिए, उनीहरु । खै, मैले लेख्न छाडिन । मस्तिष्कले सोचिन्जेल र औंलाले कलम चलाईन्जेल कुनै पनि सृजनशील मानिसले लेख्न छोड्दैन भन्ने कुरो सबैले हेक्का राखे हुन्छ । मलाई याद छ, प्रकटले दिव्यदृष्टि साप्ताहिकमा लागूपदार्थ दुव्र्यसनीका बारेमा एउटा रिपोर्ट छापेका कारण झण्डै पिटिएका थिए । तर उनले लेख्न छाडेनन् । त्यसपछि झन उनले लागूपर्दाथ दुव्र्यसन र यसमा फसिएकाहरुको बारेमा थुप्रै रिपोर्टहरु तयार पारे । मलाई लाग्दैन, पत्रिकहरु जल्दैमा, पत्रकारलाई धम्की आउँदैमा वा पत्रिकाको कार्यालय तोडफोड हुँदैमा जनतालाई सूसुचित गर्ने कुरामा पत्रिकाहरु पछि पर्छन । 
हाम्रोमा त यस्तो संस्कार बस्यो कि कसैले केहि गलत ग¥यो भने केही बोल्नै नपाउने । प्रकटले कुन हदसम्मको गल्ती गरेको हो, त्यसको सजाय के हुने? त्यो मलाई थाहा भएको विषय रहेन । तर उसको समाचार छापियो र ऊ एक जना कांग्रेसको क्रियाशिल व्यक्ति भएकै आधारमा कांग्रेसका अरु बफादार कार्यकर्ताहरुले पत्रिका जलाउनुको आशय के हुन सक्ला ? के कुनै पनि राजनैतिक दलमा भएको व्यक्तिले जे गरेपनि हुने छुट छ ? मेरो आशय के हो भने उसको गल्ती प्रमाणित भएमा ऊ कानुनभन्दा बाहिर रहनै सक्दैन् । कोहि पनि व्यक्ति कुनै पनि राजनैतिक दलको संरक्षणमा रहेर राज्यको शासन व्यवस्थालाई च्यालेन्ज गर्न स्वतन्त्र छैन । त्यसैले मेरो आग्रह यत्ति हो कि, अन्य दलले स्वतन्त्र प्रेसको घाँटी निमोठे भनेर कुर्लनेहरुले अब आफ्नो कामलाई के भन्ने ?

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)