पर क्षितिजमा देखिएको आशाको धिपधिपे ज्योति !

सातौं पटकसम्म चुनाव लड्दा पनि जित्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड सायद लाचार भएको   हुनुपर्दछ । र, माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भैसकेपछि उनलाई आफैले भिराएको नयाँ विशेषण “हारेको मान्छे” ले आफैलाई कुत्कुती लगाएको पनि हुनु पर्छ । माधवकुमार नेपाल त दुईवटा निर्वाचित क्षेत्रबाट एक एक पटक हारेका मान्छे तर पुष्पकमलको कथाले बेग्लै मोड लियो । जनयुद्ध नामकरण गरिएको सशस्त्र द्धन्द्धका नायक, सर्बाधिक देशप्रेमी नेता, भारतीय विस्तारबादलाई खुल्ला चूनौती दिन हिम्मत जुटाउने एक मात्र जिवित नेता पुष्पकमल प्रधानमन्त्रीको निर्वाचनमा भने नराम्ररी पछारिन पुगे । त्यो पनि एकपटक होइन, दुई पटक होइन, सात सात पटकसम्म हार्नु, अचम्मको विषय बनेको छ । अब लाग्दछ, उनलाई हार्ने रहर पुगिसकेको हुनुपर्दछ, अब भन्न थालेका छन्— परिणाम ननिस्कने लडाई नलडौं ।
निरन्तरको हारले अब देशका दुई कम्युनिष्ट भनिएका पार्टीहरुलाई एक ठाउँमा उभ्भिन विवश तुल्याएको छ । हुन त कम्युनिष्ट पार्टी पनि के भन्ने एकले अर्कालाई उग्रबामपन्थी, संशोधनबादी, दक्षिणपन्थी, बुर्जवाको जो नाम दिदैँ आएका छन् । तर हामी भन्न सक्छौं कम्तिमा पनि यिनले विश्व कम्युनिष्ट आन्दोलनको प्रतिक हसिँया हथौंडालाई आफ्ना झण्डामा राख्न नछोडिसकेकाले कम्युनिष्ट पार्टी हुन कि भनेर शंका गर्ने सानो आधार छ । 
मलाई आपत्तिजनक लाग्दछ, ई कम्युनिष्ट हुन भन्न । जसका नाममा यीनले राजनीति गरेका छन् । जसको उनीहरु मुक्ति गर्छु भन्छन्, तीनीहरु जागिर र खाना नभएकाले पार्टी मुख्यालयमा आत्मदाह गर्दछन् । “जागिर चाहियो हजुर भनेर कोही यिनका आलिशान कम्युनिष्ट निवासमा पुगे भने घर सफा गर्ने, कुकुरको हेरचाह गर्ने र फोहोर कपडा धुने जागिर छ, खाने हो ?” भनेर आकर्षक जागिरको प्रस्ताव पनि गर्छन । आफ्ना छोरा छोरी छात्रवृति भन्दै भारत, चिन, बेलायत र अमेरिका पढाउँछन तर सर्बहाराका छोराछोरीले पढ्ने विद्यालयमा न यिनले शिक्षक पठाउँछन् न त ती विद्यालयका भत्किन लागेका संरचनाको मर्मतका विषयमा सोच्दछन् । ई पनि कम्युनिष्ट ? मलाई थुक्न मन लाग्दछ, यीनको नाममा । थुईक्क ! यीनका भान्सामा बासमति पाक्दछन्, वा थाइल्याण्डबाट खरिदिएका जस्मीनका मसिना चामलका दाना पाक्छन् तर कहाँ गम्भिर हुन्छन् यहाँ वर्षको एक पटक दशैंमा भात खाने रहर बोकेर खाद्य संस्थानका डिपोमा झर्ने बाजुरा, कालिकोट, दैलेख र जाजरकोटका भोका जनताहरु जो १० किलो चामलका लागि सयौं माइल नांगा खुट्टा हिडेर आउनेहरुको व्यथा ? मैले धेरै पटक भनेँ, यिनलाई रुघा लाग्नु हुँदैन, सरकारी खर्चमा विदेशमा उपाचार गर्छन् । तर एक रुपिँयाको सिटामोट नपाएर गरिब मरिरहेछ गाउँमा । मलाई भन्न मन लाग्दछ, कम्युनिष्ट हुँ भनेर डाँको नछोड, बरु कम्तिमा कम्युनिष्ट नभएरै सहि मानवीय संवेदनालाई बुझ । 
झण्डै तीन महिना पछि यी एक ठाउँमा हुन आएका छन् । सम्झौता पनि गरेछन् । मलाई खुशि भन्दा दुःख बढी लाग्यो, यिनीहरुको मिल्तीमा । अब कति गरिब निमुखाहरु भ्रममा पर्ने हुनन् तिनका कम्युनिष्ट भनिएका पार्टीहरु एक ठाउँमा उभिएका छन् । अब तिनले गरिब र निमुखाका बारेमा सोच्ने छन् । मेरो सानो आग्रह छ, कम्युनिष्ट नेता भन्न रुचाउने श्रीमान् प्रचण्ड र श्रीमान झलनाथसँग कि यो मिल्ती कुर्सीको बार्गेनिङका निम्ति मात्र होइन । यो मिल्ती त देशलाई अनिर्णयको बन्दी हुनबाट, दण्डहिनताको अन्त्यका लागि, शान्ति र सुशासनको ग्यारेन्टीका लागि हो । यो मिल्ती यथासिघ्र गणतान्त्रिक नेपालको संविधान निर्माणको लागि हो । र, यो मिल्ती हो गरिब, निमुखा नेपालीहरुले देखेको सुनौलो सपना पूरा गर्नका लागि थालिएको एउटा सुन्दर कदम । 
यो मिल्तीपछि मलाई लागेको खाश कुरो अब के.पी. हरुको भूमिका कस्तो रहला ? मोहन बैद्य, भट्टराई अनि नारायणकाजी र प्रचण्डबीचको हार्दिकताको दायरा अझ कति बढेर आउँला ? म ग्यारेन्टीका साथ दावा गर्न सक्दछु, प्रचण्ड माओवादीमा एक्ला व्यक्ति होइनन् जसले चाहेको कुरा सधैं पुग्छ । झलनाथको स्थिती त झन बिजोग नै छ । तर लाग्दछ, नेपाली जनताहरु ढिलै भएपनि यीनमा दिव्य चेतना आएकोमा हर्षित छन् । र, विकसित राजनैतिक घटनाक्रमलाई नजिकबाट चिहाईरहेका छन् । किनकी हामी देख्दैछौं, आशाको मलिनो दिप पर क्षितिजमा धिपधिपाईरहेको छ ।

कृपया पढिसकेपछि आफ्नो प्रतिक्रिया लेखिदिनु होला !

जय नेपाल !

5 comments

Popular Posts