शरणार्थी भएर बिताएका ती कठीन २४ घण्टाहरू

“यहाँ बस्नुको अब कुनै औचित्य छैन, यदि तिमीहरूलार्इ पनि मलार्इ जस्तो आफ्नो ज्यानको माया लाग्दछ भने आउ मसँग, मेरो धैर्यताको बाँध टुटिसक्यो अब ।” म यत्रो २७ वर्ष भैइन्जेलसम्म मेरा बाबा उफकले कहिल्यै यस्तो भनेका थिएनन् तर आज एक्कासी उनको मुखबाट यस्तो सुन्दा मलार्इ कत्ति पनि स्वभाविक लागेन । मेरो २७ वर्षिय जोश फेरि एकपटक तङ्ग्रीन खोजिरहेको थियो । हाम्रो सुन्दर यइडिड परिवार राजधानी शहर भन्दा केहि घण्टाको दुरीमा रहेको यो सानो गाउँमा शान्तपूर्वक जीवन बिताइरहेका थियौं । तर सोमालियन राष्ट्रिय आन्दोलन नामक एक शसस्त्र समूहमा आबद्द इज्याक वंशका मान्छेहरूले हतियारको दम्भमा हाम्रा सबै चौपायाहरू लुटेर लगे पछि हाम्रो आम्दानीको मुख्य आयश्रोत हामीले गुमाउनु परेको थियो । हामी त शसस्त्र युद्दमा समावेश थिएनौ र छैनौ पनि तर वंशीय युद्दका भुक्तभोगीहरूले हाम्रा सबैथोक लुटेर लगे । कत्रो अन्याय ?
देशव्यापी रूपमा चर्कदै गएको वंशीय तथा अन्य सशस्त्र युद्दमा हामी जस्तै थुप्रै निर्दोषहरू पिल्सनुपरेको छ । अझ त्यसमा पनि मेरी आमापट्टीकी सानी बहिनी बजारमा तरकारी लिन जाँदा बम विस्फोटमा परेर मारिएपछि मेरो बाबासँग यहि ठाउँमा बसेर बाँच्न सकिन्छ भन्ने आशा करिब करिब निमिट्यान्न भैसकेको थियो । बाबाकी प्रिय सन्तान भएर पनि हुनसक्छ, बहिनी मारिएपछि बाबा अलि निराश देखिदै आएका थिए । र, आज एक्कासी उनले यो निर्णय गर्नु अस्वभाविक पनि थिएन । तर मेरो २७ वर्षे युवा जोश त्यसै हार मान्ने पक्षमा थिएन् । म आफू जन्मे, हुर्केको ठाउँ कसरी छोड्न सक्छु, यसरी अचानक ? मनमा निकै कुराहरू खेलिरहेका थिए । सबैजना आफ्ना लत्ता कपडा मिलाउन व्यस्त   देखिन्थे । आमाको अनुहार मलिन देखिन्थ्यो, सायद मेरो एक्लै बस्छु भन्ने कुरो सुनेर पनि होला । हाम्रो मान्यतामा आर्इमाइ मान्छे र अविवाहित मान्छेलार्इ पाका मान्छेको निर्णयमा प्रभाव पार्ने अधिकार नभएकाले पनि होला, आमा, बहिनी, सौतेनी आमा र बहिनी, काका सबै मेरो बाबाको निर्णयमा एक ढिक्का हुन विवश थिए । तर म सानै देखी फरक स्वभावको मान्छे बाबा मदेखि वाक्कै भैसकेका थिए । म कहिल्यै पनि अर्काको निर्णयमा हिड्न नरूचाउने भएकाले बाबा मलार्इ उति विधी रूचाउँदैन्थे ।
सबैजना हिड्नलार्इ तम्तमाएर परेको देखेपछि र मनमा म मात्र एक्लै बस्नु पर्ने साथै पछि परिवारसँग एकाकार हुने सम्भावना पनि न्यून रहने महशुस गरेपछि मलार्इ आफ्नो निर्णय बदल्न मन लागेको थियो तर सकिरहेको थिइँन । जब आफ्नी प्रिय जननीका नयनमा टिल्पिरार्इ रहेका आँशु देखेँ मैले आफूलार्इ रोक्न सकिन । सायद, मेरी आमालार्इ लागेको हुनुपर्छ, यस्का उमेरकाले दुर्इ दुर्इ वटी भित्र्याइसके, बबुरोले अझै एउटी पाएको होइन । अझ उनलार्इ यस्तो पनि लाग्यो होला कि हाम्रा वंशकाहरू सबैले गाउँ छोडिसके, यो एक्लै मर्नलार्इ बसेको । अब त झन उनका आँखाबाट बरर्र आँशुका थोपाहरू खस्न थाले, उनको गाला र छाति सबै रूझ्न थाल्यो । अब म आफूलार्इ कहाँ रोक्न सक्नु र ? म पनि मेरा परिवारका अन्यहरूले झैं गाउँ छोड्न लाचार हुन करै लाग्यो ।
बाबा भन्दै थिए, अब हामी केहि घण्टाको हिडाँइ पश्चातः मोगादिशु पुग्छौं । त्यहाँ इमिग्रेशन अफिसमा केहि कागजात बुझेर हामीहरू सुरक्षित स्थानितर जाने छौं । बाबाको कुरा सुनेपछि, परिवारका सबै जनामा केहि खुशि सञ्चार भएको सहजै अनुमान लगाउन सकिन्थ्यो । परिवारका अन्य सदस्यहरूका मुहारमा देखिएको खुशि पढेपछि मलार्इ लाग्यो, यो यिनीहरूको क्षणिक खुशि आखिर कतिन्जेल टिक्ला र ? म अझै विश्वस्त भैसकेको थिइँन, आफ्नै जन्मभूमिबाट लखेटिएका हामी जस्ताहरूका लागि पृथ्वीको अर्को कुनै कुनामा सुरक्षित ठाउँ हुन सक्छ ?
केहि समयपछि हामीहरू मोगादिशु पनि पुग्यौं । इमिग्रेशन अफिसमा लामो लाइन थियो । मानिसहरू अब केहि समयपछि अफिस बन्द हुने खासखुस गर्दै थिए । हामीले बल्ल तल्ल केही फर्महरू पाउन त पायौ तर विवरणहरू भरेर प्रमाणित गर्नका लागि हामीले आफूसँग भएको जम्मा रकम मध्यको धेरै हिस्सा खर्च गरिसकेको बाबाले सुनाए । कार्यालयका कर्मचारीहरू यति घुस्याहा भेट्यौं कि पैसाबिना त उनीहरू बोल्न पनि मन पार्दैनथे । कार्यालय समय पनि बन्द भएको जानकारी दिदैँ उनीहरूले हामीलार्इ त्यहाँबाट बाहिर निकालीदिए । हामी निरीह थियौं, जसले जे गरेपनि सहनु बाहेकको अर्को उत्तम विकल्प हामीसँग केहि थिएन । हामी त्यहाँबाट बाहिरियौं । केही समय हिडे पश्चातः बाबाले आज यतै बस्नुपर्ने  बताए । त्यसैले हामीहरू पनि अरू शरणार्थी परिवारहरू बसेको ठाउँमा सानो टहरा बनाउन तिर लाग्यौ । टहरा बनाउने काम सक्दा नसक्दै मिलीटरीका केही जवानहरू आएर हामीहरूलार्इ लखेट्न शुरू गरे । उनीहरूमा मानवताको एक औंश पनि देखिएन ।  हाम्रा सबैजसो चिजबिजहरू उनीहरूले खोसेर लगिदिए । फेरि हामी लाचार थियौं, अज्ञात गन्तव्यको लागि अज्ञात बाटो भएर गर्नुपर्ने अज्ञात यात्रा

क्रमशः
2 comments