थापादार्इ, रूप्से र ती अप्ठ्याराहरू

नीराजन शिरीष

म विश्वभर प्रसिद्द रूप्से छहरामा धेरै पटक पुगेको छु । र, नजिकबाट नियालेको पनि छु । त्यसैले होला, रूप्से भन्दा बित्तिकै झल्याँस्स याद आउँछ, सतत् बगिरहने छहरा । अपवादलार्इ छोड्ने हो भने रूप्से साप्ताहिक मात्र म्याग्दीकै पत्रकारीताको इतिहासमा हालसम्मकै एउटा यस्तो पत्रिका, जुन ८ वर्षसम्म निरन्तर प्रकाशित हुँदै जिल्लाका ४१ वटै गा.वि.स. मा पुगेको सायदै एक्लो पत्रिका हो ।

म व्यक्तिगत रूपमा रूप्सेले मेरो लेखनीलार्इ धेरै हदसम्म खारेको मान्दछु । यसले मेरो लेखनीको एक महत्वपूर्ण उद्देश्य शिरीष भएर चिनिने मौका दिएको हो भन्न मलार्इ केहि अप्ठ्यारो लाग्दैन । म शहरमा गुमनाम मान्छे थिएँ । मेरो परिचय म्याग्दी क्याम्पसको विधार्थी र माउण्ट एभरेष्ट आवासिय मा.वि. (हाल उ.मा.वि) को शिक्षकमै खुम्चिरहेको थियो । मैले चाहे जस्तो एउटा सिमित घेराबाट बाहिर आउने परिचय मलार्इ रूप्सेले दिलायो । म लेख्दा प्रशंसित भएको अनुभव छ, घेरिएको अनुभव छ, मोवाइलमा धम्की आएको अनुभव छ र जिल्लाका कुनै एक क्रान्तिकारी नेताले निकै चढेछ ...... को छोरो, कस्तो जण्ड रहेछ भनेर टिप्पणी गरेको सुनेको अनुभव छ । यस्ता थुप्रै अनुभवहरू जुन मसँग छन् ति शतप्रतिशत रूप्छेमा लेख्दै गर्दा हासिल गरेका योग्यताहरू हुन भनेर बुझेको छु । त्यसरी प्रशंसित हुन, धम्की पाउन वा घेरिनका लागि कहिल्यै पनि मैले लेख्नलार्इ कार्यतालिका बनाएको पनि थिइँन तर खै किन लेख्ने जाँगर चल्थ्यो, म अनविज्ञ छु । प्रत्येक अंकका रूप्सेको पहिलो पृष्ठमा मनका अनियन्त्रित संवेग र आवेगहरू सेरोफेरो स्तम्भको सिमित लहरहरूमा नियन्त्रित गर्न किन म त्यसरी आतुर हुने गर्दथेँ ? त्यसको उत्तर मसँग छैन, अहिले ।

रूप्सेमा थापादार्इ पात्र जन्माएर लेख्दै गर्दाका दुर्इ चार कुराहरू सम्झिन मन लागेको छ, आज । सम्झनु मेरा लागि उपलब्धीमूलक हो वा होइन म यसै भन्न सक्तिन तर कम्तिमा म यति चाँहि भन्न सक्तछु, एकपटक ती विगतलार्इ सम्झेर आफूभित्र रहेको उर्जा र निडरतालार्इ फेरि एकपटक आज नविकरण गर्ने मौका पाएको छु । मैले सधैं गलत अभ्यासका बारेमा लेखेँ । र, मलार्इ भन्न गर्व लाग्दछ आफू घेरिने, कुटिने र धम्काइने सम्भावना हुँदाहुँदै पनि मैले कहिल्यै छद्ममभेषी नाममा लेखिनँ । अथवा म डरपोक लेखक बनिनँ । मैले प्रयास गरेँ गलत अभ्यासका विरूद्द डटेर मुकाविला गर्ने । अहिले आएर मलार्इ लाग्दछ, मलार्इ घेर्न गएका साथीहरूले मलार्इ कुटेको भए, वा ती क्रान्तिकारी नेताले जनकारबाही गरेको भए वा प्रशान्त देवकोटा तुनामा झुण्डेको अति झुटो विज्ञप्तीका विरूद्द लेख्दा यातना भोगेको भए मेरो लेखनीले साँच्ची कति उचाइँ भेट्थ्यो होला ? हुन त यो पढ्दै गर्ने कतिपय पाठक मित्रहरूलार्इ फगत विषयको उठान लाग्ला, मेरो भन्नु केहि छैन । मलार्इ लागेको यत्ति हो कि रूप्सेले मलार्इ सधैं मौका दियो, एक निडर लेखक बन्नलार्इ ।

जेसिज कपको एउटा घटना थियो, त्यो । म केहि खेलहरूको दर्शक थिएँ । मैले देखेँ खेलमा रेफ्रि राखिएका व्यक्ति मध्य रेखाकै वरिपरी अटेसमटेस छन । मैले त्यतिखेर बुझेको र अहिले पनि देख्दै आएको रेफ्री सधैं बल खेलिदैं गरेको क्षेत्रमा चनाखो पूर्वक रहनु पर्दछ । खेलाडीहरू जस्तै उ दगर्नु पर्ने थुप्रै अवस्थाहरूको विकासक्रम भैराख्दछ, फुटबलमा । मैले त्यो पाइँन । मैले लेखेँ । जेसिजकपकी रमार्इलो ? सम्बन्धित मान्छेहरूले यसलार्इ आफ्नै ढंगले र मैले सोच्दै नसोचेको दृष्टिकोणले यसलार्इ हेरिदिए । मेरो मोबाइलमा घण्टी बज्यो । रूप्सेका सम्पादक सुरजजीको कल थियो त्यो । उहाँले भन्दै हुनुहुन्थ्यो, साथीहरू आउनु भएको छ लेखको विषयमा कुरा गर्न । म हतार हतार दगुरेँ रूप्से कार्यालयतिर । त्यहाँ १५।२० जना युवाहरू थिए । राम्रोसँग कुरा शुरू हुनुभन्दा पहिले मैले नजिकबाट चिन्ने र सम्मान गर्ने एक अग्रजले ल तिमीलार्इ नांगै बजार डुलाउछौं अनि माफी माग्छौं, हुन्छ ? हो, यस्तै अनुभूति गरेका छौं हामीले तिम्रो लेख पढेर ।” म त माफी माग्ने पक्षमा थिइँन, र माग्ने कुरा पनि गरेको थिइँन । मैले गलत लेखेको महशुस गरेको पनि थिइँन, अब कसरी माफि माग्ने ? मैले माफिका बारेमा सोच्दा नसोच्दै ती सज्जनले गरेको कुरा सुन्दा मलार्इ लाग्यो, मैले त कसैलार्इ नंगाउनै खोजेको हैन । मैले त सिर्फ जे गलत देखेको थिएँ, त्यही लेखेको मात्र थिएँ । उनीहरू मैले माफि नमागिन्जेल त्यहाँबाट विदा नहुने कुरो गर्न थाले । सम्पादक सुरजजीले पत्रिकामा माफि छाप्ने कुरा गरेपछि उनीहरू शान्त भए, अनि फर्के । अझ एकजना परिचित अनुहारले आफ्नो हैसियत भन्दा तल झरेर मलार्इ तथानाम पनि गरे, मैले शान्तपूर्वक सुनेँ । त्यो बाहेक मसँग केहि विकल्प पनि थिएनँ । अर्को अंकमा रूप्सेले माफि पनि माग्यो, जुनप्रति मेरो सधैं गुनासो रह्यो र रहने छ । लेखकले स्वतन्त्रतापूर्वक लेख्न र विश्लेषण गर्न पाउने अधिकारप्रति प्रश्न चिन्ह लागेको संवेदनशील घडि लाग्यो, त्यो घटना मलार्इ । अझ यति प्रष्ट हुँदाहुँदै कि गलत लेखिएको छ भने पिडीत पक्षहरू अदालत जान सक्तछन् । जेहोस् रूप्सेसँग गाँसिएर आएको यो घटना पश्चातः म हतोत्साही भएँ, रूप्सेमै स्तम्भकार भएर लेख्ने जाँगर अलि कम हुन थाल्यो । लेखेको परिश्रम पाउनु त परै जाओस् लेखकको अभिव्यक्ति स्वतन्त्रतालार्इ समेत बिर्सिएर पत्रिकाले माफि माग्नु “ठूलो शर्मनाक कदम” थियो यो । रूप्से यहाँ नेर नजाँनिदो ढंगले चुक्यो । तर त्यो घटनाले भने मलार्इ निकै नै लाभ भयो । कम्तीमा पनि मलार्इ मान्छेहरू चिन्ने मौका दियो, लेख्ने साहस दियो र शिरीष बनेर चिनिने मेरो महत्वकांक्षामा एउटा इट्टा थप्यो ।

मैले अगाडि नै बतार्इसकेँ कि यो त एक प्रतिनिधी घटना मात्र थियो । यस्ता थुप्रै घटनाहरू छन् रूप्सेमा लेख्दै गर्दाका समयका । एकपटक पत्रिकाका प्रधानसम्पादक तारानाथ शर्मा र समाजशास्त्रका प्राध्यापक गोरखबहादुर जि.सी.सँग द्दन्दको प्रभावका बारेमा सानो स्थलगत रिर्पोटिङ तथा लेख तयारका लागि बाबियाचौर पुगेको थिएँ । त्यो दिन, हिउँदको कुनै एउटा शनिवारको दिन थियो । बाबियाचौर बजार प्रवेश गर्न पाउँदा\नपाउँदै माओवादीका तर्फबाट त्यहाँका हर्ताकर्ताको जिम्मेवारी पाएका एक नेपाली नागरिकले हामी तीन जना अरू नेपाली नागरिकहरूलार्इ प्रवेश पास छ ? भनेर सोधेँ । मैले पछि लेखेँ, अरे नेपालको चारकिल्लाभित्र घुमफिर गर्न पनि पास चाहिने ? परिणाम धम्की पाएँ । डराउने कुरै थिएन । मनमा लाग्द्थ्यो, खुबै गए एउटा ज्यान जाने हो । लेख्न बिसाउने कुरै थिएन ।

माओवादीहरू शान्ति प्रक्रियामा आएपछि रत्नेचौरमा एउटा प्रशिक्षण भेला भयो । मलार्इ अहिले राम्रो सम्झना छैन, तर त्यो पश्चिमाञ्चल स्तरीय प्रशिक्षण भेला हुनुपर्दछ । सहभागिहरूलार्इ जबरजस्ती घर बाँडेर सुताइयो । गणतन्त्रका महान व्याख्यता मान्ने उनीहरू, जनताबाट सित्तैमा सियो र धागो पनि नलिने सिद्दान्त मान्छौं भन्ने उनीहरू अनि अभ्यास चाँहि जबरजस्ती ? उनका कार्यकर्तालार्इ कांग्रेसले पनि सुत्ने व्यस्था गर्नुपर्ने, एमालेले पनि गर्नुपर्ने, राजावादी तथा उनीहरूसँग विचार नमिल्ने जो सुकै भएपनि उनीहरूको आज्ञा पाउँदा बित्तिकै सबैले खुरूखुरू मान्नै पर्ने ? सुत्न दिनु ठूलो कुरो थिएन । कुरो मलार्इ ठूलो त्यो लाग्यो, एमालेकी संगठित सदस्य मेरी आमाले पकाएर पिउन दिएको चिया पिएर ग्लास सफा नगरी कमरेडहरू त सुइँकुच्चा पो ठोकेछन् । आमाले एमालेका हरूले माझ्थे त यिनले त्यसै पो छाडेर गए, भनेपछि मैले लेखेँ यि कस्ता कामरेडहरू जो आफूले खाएको भाँडा अरूलार्इ मझाउँछन् ? अब सहि नसक्नु भएछ, कुनै जिल्लास्तरका माओवादी नेतालार्इ अनि भनेछन् केटो निकै टिमुर्केको रहिछ, त्यल्लार्इ ठिक पार्नुपर्छ ।

मैले यी सबै कुरा बेलिबिस्तार लगाउनुको खास अर्थ रूप्सेले मैले जे लेखेँ छापिनका लागि ठाउँ दियो भन्नु थियो । वा अझ भनौं यदाकदा छिटफुट घटनाबाहेक ममा लेख्ने साहस रूप्सेले दियो । मैले अनवरत लेख्दै गएँ, रूप्सेले मलार्इ ठाउँ दियो । हौस्यायो, वा भनूँ प्रेरित गरिरह्यो । मैले लेख्दा घेरिने वा धम्की खाने अवसर मात्र पाइँन । कम्तिमा पनि आफ्नै नामले चिनिने मौका पाएँ । रूप्सेले मलार्इ “नेताको छोरा”को परिचयबाट माथि उठार्इदियो । मैले कम्तीमा पनि स्वतन्त्र लेखकको हैसियतको राजमार्ग निर्माणका लागि एकोहोरो भएपनि सहि, तर ट्रयाक खोल्ने अवसर त पाएँ । लेख्नेक्रममा मैले सधैं आफूलार्इ विद्रोही स्वभावको रूपमा पस्के हुँला तर कम्तिमा पनि लेख्नका लागि आवश्यक उर्जा पाउन सफल भएँ । म हरेक कुरालार्इ आफ्नै ढंगले बुझ्न खोज्ने र बुझ्ने मान्छे हो । म आफ्नो विवेकले निर्देशित हुँदा मेरो अस्तित्व नै नामेट किन नहोस् तर म परनिर्देशित मान्छे हुनै सक्दिन । मेरो सानैदेखिको यो स्वभावलार्इ रूप्सेमा भएको मेरो लेखन अभ्यासले अझ बलियो पारिदियो ।

अन्त्यमा, रूप्सेले आफ्नो छविलार्इ कायम राख्न जस्तोसुकै मूल्य चुकाउन पनि अग्रसर हुने प्रेरणा प्राप्त गर्नेमा म ढुक्क छु । मैले अनुभूति गरेको छु, ठूलो मेहनतका साथ पत्रिका प्रकाशन गरेर बाहिर ल्याइँ निःशुल्क बाड्दाको पीडा कस्तो हुन्छ । तसर्थः यो सानो बेनी नगरीमा पत्रिका अध्ययनको बानी विकाश गर्न रूप्सेले जुन भूमिका खेल्यो, त्यसलार्इ अझ परिमार्जित गरी रकम खर्चेर स्थानीय पत्रिका पढ्ने बानी पाठकहरूमा विकास गराउनका लागि रूप्सेको प्रकाशन समूहलार्इ ठूलो जिम्मेवारी रहेको छ भन्नेमा म विश्वस्त छु । अब कम्तिमा पनि रूप्सेले कुनै पनि लेख वा समाचार छापेकै आधारमा माफि माग्नु पर्ने छैन भन्नेमा म निश्चिन्त हुन चाहन्छु । रूप्सेले म्याग्देली पत्रकारीताको इतिहासमा अझ थुप्रै सक्षम पत्रकार, लेखक र स्तम्भकारहरू उत्पादन, पहिचान र परिचालन गर्न सकोस् । र, सकोस् रूप्से झरना झैं अटुट बगिरहन.....निरन्तर । जदौं ।

(विगत ७ वर्षदेखी म्याग्दीमा निरन्तर प्रकाशित हुँदै आएको रूप्से पत्रिकाको आठौबषबर्षं प्रवेशका अवसरमा लेखिएको लेख ।)

२०६७ आश्विन १३ गते, बुधबार

4 comments