यिनका नौटंकीले कम पीर पार्‍या छ ?

हाम्रो भविष्य सुनिश्चित छ त ः दुर्गम गाउँमा भेडा चराउँदै बालकहरू
गत वर्ष फाल्गुणको चीसो ठिहीलाग्दो समय ताका आधारभूत युवा तालिम लिन आउँदा उक्त तालिममा सहभागी एकजना नर्वेजियन साथीसँग कुरा हुँदै गर्दा मैले उसलार्इ सोधेको थिएँ - हैन तिमर्का कतिवटा राजनैतिक पार्टि  छन् हँ ? उसको पालो उसले भन्यो ‍- नर्वेजियन लेवर, प्रोगेश, कन्जरभेटिभ, सोसलिष्ट लेफ्ट, सेन्टर, क्रिश्चियन डेमोक्रेटिक र लिवरल पार्टी एकै सासमा सात वटा पार्टीको नाम भनि सिध्यापछि उसले मलार्इ सोध्यो - मेरो त थाहा पार्इहालिस तेरो देशको भन्न कति छन् ?
लौ, अब धर्म संकटमा पारिहाल्यो नी बजियोले । अब क्यार्नी होला ? 
अनि मैले शुरू गरेथेँ - "माओवादी, कांग्रेस, एमाले, मधेसी जन अधिकार फोरम, मधेसी जन अधिकार फोरम (लोकतान्त्रीक), तरार्इ मधेस लोकतान्त्रीक पार्टि, ने.क.पा. (माले) सदभावना, ने.क.पा. संयुक्त, नेपाल मजदुर किसान पार्टी ........" 
नाम भन्दै जाँदा मेरो पसिना चुहिन थालेपछि उसले मलार्इ रोक्दै सोधेथ्यो - "हैन् खास कतिवटा छन् तेरा देशमा पार्टी ?" अब कतिवटा भन्ने ? मलार्इ यति आपद परेको थियो कि त्यतिबेला मैले सानो स्वरमा उसलार्इ भनेथेँ ‌- "सरकार मात्र २२ दलको छ हाम्रो, तेराँ जस्तो दुर्इ‌/तीनटाले हुने हो र ?" ऊ केही बोल्न सकेन र मुखभरी बुझो लाएको बाख्राले झैं एकतमासले मलार्इ हेरिरहेथ्यो ।
आज त्यही साथीसँग फेसबुकमा भेट भयो, मेरो । 
उसले सोध्यो - "प्रधानमन्त्रीको चुनाव हुँदैछ भन्थिस् । भयो त प्रधानमन्त्री ?" 
"अँ प्रधानमन्त्रीको चुनाब त भयो देशले प्रधानमन्त्री पाएन ।" मैले जवाफ फर्काएँ । हुन त दुर्इ ठूला बामदल माओवादी र एमालेबीचको समझदारीले  केही आशा जगाएको पनि हो हेर्नुस मैले कुनै दिन लेखेको कुरो
"यो कतिपल्टको चुनाव रे ?" मुटुमै तीर हाने झैं गरी बिझायो उसको प्रश्नले । झनक्क रिस पनि उठ्याथ्यो - ह्या जतिपल्ट भएनी एल्लार्इ के मतलब ? तर के गर्नु ब्यक्त गर्न मिलेन, जवाफ दिएँ - दुर्इचार दिनपछि १ दर्जन पल्ट पुग्छ । 
अरू फेरि के के सोध्ला भन्ने पीरले म साइन आउट भर्इदिएँ । तर मनमा भने एउटा कुरो खेलिरह्यो, र्इ हाम्रा देशका नौटंकी भातमाराहरूलार्इ के नाटक देखाउनु परेको नी ? प्रधानमन्त्री छनोट नै नहुने भए यी सभासदहरू पनि किन जाँदा हुन् संविधानसभा भवनमा ? के खाले नाटक हो कुन्नी ? १०९ पक्षमा रे, ४६ जना तटस्थ रे अनि १ जना चाँहि विपक्ष रे । हैन के अचम्म हो यो ? १ जना मात्र विपक्ष हुँदा पनि फेरि चुनाव नजित्ने नियम । अनि ती तटस्थ बस्नेहरू फेरि किन जानु त्यहाँ ? हुन त काम नभए पछि के भयो र ? बैठक भत्ता २०० मरिहाल्छ, ट्याक्सी भाडा भनेर १५० पनि कम्ल्याउन पार्इहालिन्छ । तपाइँहरूलार्इ त के लायो कुन्नी ? सायद देशले प्रधानमन्त्री पाएन भन्नी नै लाग्या होला । तर मलार्इ त आज उपस्थित १५६ जना सभासदले ३५० को दरले बझ्दा हुन आउने रू.५४,६०० ले पो मुटु दुखायो । 

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)