उनी, चुडिएको औला र दुखेको मन

मैले एकदिन एउटा ब्लग पोष्ट लेखेको थिएँ । स्टोभनर, वश्लोमा रहेका मेरा एक अनन्य मित्र (म भन्दा धेरै अग्रज हुनुहुन्छ तर मित्रवत व्यवहार गर्नुहुने भएकाले) कृष्ण जि.सि. को निवासमा पुगि उहाँसँग भएका कुराकानी र धेरै दिनको न्याश्रो मेट्ने मेरो धोकोको बारेमा । र, आज त्यो दिनको मेरो प्रतिज्ञालार्इ लेख्ने जमर्को गरेको छु । केहि त्रुटीहरू देखिए भने वा म बढि भावनामा बगेको पाउनु भयो भने वा केहि बढि आदर्श मैले व्यक्त गरेको जस्तो लाग्यो भने म क्षमाप्रार्थी छु त भन्दिन तर निवेदन चाँहि गर्न सक्तछु – यसलार्इ स्वभाविक ढंगले बुझ्ने यत्न गरिदिनुहोला । वा, यसलार्इ दिमागले हैन दिलले पढिदिनु होला ।

नर्वे आइपुगेको करिब १ महिना पुग्नै लागेको बखत सेप्टेम्बरको पहिलो शनिवारको दिन थियो त्यो । म मित्र रामचन्द्रसँगै नेपाली खाना दालभात र तरकारी खाने पूरा योजनाकासाथ उहाँको कोठामा पुगेका थिएँ । सातबजे उहाँको निवासमा पुग्ने पूर्वतयारीका साथ म आफू बस्दै आएको होस्टेल छाडेर रामचन्द्रलार्इ भेट्न त्यही आकाशे पुल मन्तिर पुगेको थिएँ । उनि कामबाट मुक्त नभइन्जेल मैले उनले गरिरहेको मेहनतलार्इ नजिकबाट नियालीरहेँ । मनमा कुनबेला जि.सी.सरकोमा पुग्ने र हातमा बाँधेको पट्टीको रहस्य बुझ्ने हो भन्ने हुत्हुति चलिरहेको थियो । तर यता साथी भने कामबाट मुक्त भइसकेकै थिएनन । प्रत्येक महिनाको पहिलो शनिबारको सन्ध्याकालिन समयको मेरो जीवनमा छुट्टै महत्व छ । र, वश्लोमा यो पटकको कुनै पनि महिनाको पहिलो शनिवारको सन्ध्याकालिन समय जुन मैले बिताउँदै थिएँ, त्यसको फेरि छुट्टै महत्व थियो । मेरो सम्झनामा अझै ताजा छ, बेनीमा छँदा म फुर्सदिलो भएसम्म प्रत्येक महिनाको पहिलो शनिवार न्यू वेष्ट प्वाइन्टको प्राङ्गणमा आयोजना गरिने सन्ध्याकालिन काव्यिक भेटघाटमा पुगेको हुन्थेँ । र, आफूले लेखेको रचना अरूलार्इ र अरूले लेखेको रचना आफूले सुन्ने/सुनाउने काम हुन्थ्यो । सेप्टेम्बरको त्यो पहिलो शनिबार मेरो काब्यिक सरिता सन्ध्याध्वनीमा बगिरहेको थिएन तथापि मेरो काब्यिक दिलले केही महशुस गर्यो । एउटा यस्तो पीडा कि सुन्दर घरसंसार निर्माणका लागि एक आम नेपाली बिदेशी भूमिमा कसरी जोतिरहन विवश छ । लाचार छ । उसँग सपनाहरू छन् आफ्नै । तर लाग्छ, एक/एक क्रोनर जोगाउनु बाहेक वश्लोको यो ठन्डामा उ एक नेपालीको अर्को कुनै सपना छैन । मेरो साथी रामचन्द्रले नर्वेमा संघर्षरत नेपालीहरूको एक प्रतिनिधि पात्रको भूमिका निर्वाह गरेको बुझ्नलार्इ मलार्इ समय नै लागेन । ६ बजेसम्म भनि काममा आएका कारण विशेष कारणवशः १ घण्टा बढि काममा खटिनु पर्यो, त्यो दिन ।

प्रत्येक शनिबार हाट लाग्ने त्यो पुलमुन्तिर उनको साहुले कपडाको पसल राख्छ, त्यो एकदिन भरी । र, आज रामचन्द्र त्यहाँ पैसाका लागि हैन साहुलार्इ सहयोग गर्नका लागि आएका थिएँ । उनले स्टोभनर जाने बखत थेवानमा मलार्इ धेरै कुराहरू सुनाए । साहुलाइ खुशि पार्न सक्दा आफूलार्इ कतिधेरै लाभ हुन्छ र त्यो लाभ प्राप्तिका लागि आफूले कुन हदसम्मको खुशिहरूलार्इ हत्या गर्नु पर्ने हुन्छ । उनले त्यो सुनाइँरहदा मलार्इ झल्याँस्स याद आयो, उनले काम गरिरहँदा उनको मोबाइलमा मिस कल आएको थियो । तर उनले चुपचाप काम गरिरहेका थिए । त्यो मिसकल हेर्ने फुर्सदसम्म निकाल्न सकिरहेका थिएनन । मैले सोधेँ – साँच्ची तपाइँको मोबाइलमा मिस कल आएको थियो नी । किन नहेर्नु भएको ? सायद जि.सी. सरको पो हो कि ? 'कहाँ जि.सि.को हुनु ? कन्फर्म मेरो बुढिको हो नी । मैले हेर्न त हेरेको छैन । तैपनी मेरो बुढिको हो भन्नेमा म कन्फर्म छु ।' मिस कल हेर्दै नहेरी उनले कन्फर्म गरेको मलार्इ मन परिरहेको थिएन । उनले आफ्नो मोबाइल निकाले र मिसकल हेरेँ । अनि सुनाए – 'मान्छे यहाँ के कति काम गरिरहेको हुन्छ, थाहा छैन ? काम न काज मिस कल हान्छन् बस्छन् ।' नभन्दै त्यहाँ मिसकल २ वटा रहिछन्, एउटा उनको बुढीको, अर्को कलेज पढ्दै गरेको भार्इको । भोलि गर्नुपर्ला भन्ने कुरा सुनाउँदै । पूर्ववत उनी मसँगको वार्तालापमा फर्किए । थोएनबाट २४ मिनेट जतिको थेवानसँगैको यात्रामा हामी स्टोभनर ओर्लिसकेका थियौ । ३ मिनेटको ठाडो उकालो चढेपछि हामी जि.सि. सरको कोठामा पुग्यौ ।

टेबलमा आफ्नो घाइते हात बिसार्इरहेको अवस्थामा अति नै थकित तर चकित अनुहार लिएका जि.सी. सरलार्इ भेटेपछि नमस्कार गरी मैले सोधेँ- सर, सन्चै ? 'ठ्याक्कै मेरी श्रीमतीले प्रत्येक टेलिफोन वार्तालापको सबभन्दा शुरूमा गर्ने प्रश्न सोध्नुभयो नीराजन भार्इ तपाइँले ।' मलार्इ अचम्भित पार्दै उनले जबाफ दिए, 'तर यो बखत तपाइँको यो प्रश्नको ठ्याक्कै त्यहि झुटो जबाफ मसँग छ, जुन मैले मेरी श्रीमतीलार्इ भन्दै आएको छु । अर्थात मेरो यो झण्डै छिनिएको तर अप्रेशन गरिएको औलाको दुखार्इलार्इ जबरजस्ती भुलेर मैले भन्दै आएको छु, हो म सन्चै छु । अनि तिमीलार्इ नि ?' मैले यो जबाफ पाउँला भनेर कल्पना समेत गरेको थिइँन । तथापि विदेशी भूमीमा घाइते मन लिएर बाँचेको मान्छेसँग यो भन्दा उपुक्त जबाफ हुन्छ भनेर मलार्इ लागेको पनि थिएन । चुपचाप उनको व्यथित सुस्केरालार्इ मैले सुनेको मानेँ । म भावनात्मक रूपले अति नै कमजोर मान्छे उनको जवाफले मलार्इ झन विश्मयमा पारिदिएको थियो । मलार्इ एउटा मौका मिलेको महशुस पनि भयो । कम्तिमा अब उनलार्इ त्यो सबैथोकको रहस्य खुलाउनै पर्ने बाध्यता मैले खडा पार्न सक्ने मार्गप्रशस्त भएको थियो । र, मैले उनलार्इ उनको व्यथा नबाँडि चुपचाप रहने मौका नै दिइनँ । उनी बाध्य भए । र, त्यो दुःखद दिनलार्इ एकपटक फेरि सम्झन ।

'नियमित काममा जाने क्रममा, त्यो दिन पनि म पिज्जा रेष्टुरेण्टमा पुगेको थिएँ । तलबाट पिज्जाका लागि मैदा हालेर माथि पठाउने काम गर्दै थियो मेरो साथि । तर मेरो 'कन्सट्रेशन' मैले 'लुज' गरेछु । अचानक मेरो औला मेशिनमा अल्झियो । पछि हेरे सानो छालाको भरमा मेरो बाँया हातको यो बुढी औला झुण्डिरहेको पाएँ । मलार्इ सबभन्दा ठूलो अफशोच मेरो बाँया हातको बुढी औला च्यापिनुमा लाग्यो । मैले एकैपटक सम्झे, म कलमजीवि मान्छे ।' अति भावुकताका साथ बायाँ हाते उनले दुखेसो सुनाउँदै गए, 'जब मेरो लेख्ने औला नै अब चुडिनका लागि ठिक्क परेको छ, मेरो बाँच्ने आधार के ? म त्यो बाहिरको सानो छालाको त्यान्द्रामा झुण्डिएको औला बोकेर कोठामा आए । अनि भक्कानिएर रोएँ । मैले सम्झेँ, म अवैध मान्छे । म कालो मान्छे । नर्वेको उपचार पद्दतिमा मलार्इ ठाउँ छैन । ममा भयानक 'स्ट्रेश' पैदा भयो । तीन घण्टासम्म त्यो चुढिन लागेको औलाबाट जति रगत बग्यो त्यो भन्दा धेरै गुणा आँशु बगे मेरा आँखाबाट । म लाचार थिएँ । म निरीह थिएँ । साथीहरूलार्इ सम्पर्क गरे । केहिले कल रिसिभ गरे त कतिले त्यो कल रिसिभ गर्ने फुर्सद सम्म पाएनन । गोजीमा ४ हजार क्रोनर थियो, मेरो । तर म जस्तो अवैध कामदारका लागि जटिल उपचार पद्दति भएको नर्वेमा त्यो पैसाले एउटा छेउ पनि हुँदैन भन्ने मलार्इ लागिसकेको थियो । जसोतसो ह्यान्डसअप नै गरेर भएपनि उपचार जरूरी थियो । त्यसैले बाग्लुङका बिष्णुभार्इसँग सल्लाह गरेर म क्लिनक जाने निधोमा पुगेँ । मलार्इ लाग्यो दाहिने हातको बुढि औला हुन्थ्यो भने म त्यो छालाको सानो त्यान्द्रोलार्इ उही काममै भएका बेला चुडाइदिने थिएँ । तर त्यो मेरो लेख्ने हातको औलाको थियो । र, मैले त्यो हदको मुर्खाइ गर्ने दुस्साहस गरिनँ ।' किञ्चित भाव लिएर आफ्नो प्लाष्टर गरेको हातलार्इ हेर्दै उनले थपे, 'यो परदेश, अवैध जिन्दगी र निरीहपनले मान्छेलार्इ कतिसम्म हतोत्साही गराउँदो रहिछ भन्ने कुराको राम्रो अनुभव मलार्इ त्यो दिन भयो ।'

औला चस्केपछिको उनले निकालेको सुस्केराले मेरो मुटुलार्इ चिस्याइदियो । कति पीडा भएको होला, बिचरा ? मैले जिज्ञासा राख्न मात्र सक्थेँ तर उनको दुःखार्इलार्इ कम गर्ने सञ्जिवनी मसँग कहाँ हुनु ? मलार्इ यो कुराले निकै दुःखायो । म उनलार्इ लाचारपूर्वक सुनिरहेको थिएँ । र, त्यो बाहेक मसँग अर्को विकल्प समेत थिएन । अझ बढि दुखित हुँदै उनले सुनाए, 'क्लिनिकमा एक्सरे गरेर अप्रेशन गर्नु पर्ने कुरो सुनायो । औलामा ब्यान्डेज लगाइदिएर, हस्पिटल जानलार्इ रिफर गर्यो । मलार्इ लाग्यो अब ठूलो आपत लाग्दैछ । स्लोभोनीयामा पढ्न आएको म मास्टर्स गरेपछि यहाँ आएर काम गर्न थालेको केहि महिना भइसकेको थियो । मलार्इ त्यसरी काम गर्ने अनुमति छैन् यहाँ ? अब औला कसरी यस्तो भयो भन्ने ? मनमा ठूलो द्धिविधा आर्इपर्यो । मैले डाक्टरलार्इ कन्भिन्स गरेँ । म स्लोभोनियमा पढ्दै गरेको र छुट्टीमा साथीलार्इ भेट्नका लागि वश्लो आएको । र, बाथरूमको ढोकामा नराम्रोसँग औला च्यापिएको कुरा सुनाएँ । तर डाक्टर पत्याउनै मान्दैन । आफू नेपाली भएको र झुटो बोल्न नजानेको बताएपछि । उ केहि आश्वस्त भयो । कारण केही वर्ष पहिले उ नेपालमा गएको रहेछ । र, नेपालीहरू इमान्दार छन् भन्नेमा उ ढुक्क रहिछ । (तर नेपालीहरू कति बेइमान हुन विवश छन् विचरा उसलार्इ के थाहाःलेखक) औलाको ब्यान्डेज खोल्दै, फेरि मलार्इ झुटो बोल्नु पर्ने बनाउँदै उसले मेरो स्वास्थ्य सम्बन्धि बिमाका बारेमा जान्न चाह्यो । मैले भनिदिएँ, ती सबै स्लोभोनियमा बस्दै आएको होस्टेलमा छाडेको छु । एक्सरे पछि अप्रेशन गर्नु पर्ने भएको बताउँदै, ३० हजार क्रोनर खर्च लाग्ने सुने पछि मेरो सातोपुत्लो उड्यो ।' त्यतिन्जेलसम्म रामचन्द्रले चिया तयार पारेर ल्याइसकेका थिए । हामीले एक एक कप समात्यौ र चियाको चुस्की लिन शुरू गर्यौ । उनले आफ्नो यर्थाथ तर एउटा विस्मयकारी पीडालार्इ सुनाउँदै गए, 'तर जेहोस, विष्णुभार्इ, रामचन्द्रजी र मिनदार्इ जस्ता सहयोगी साथीहरूको सहयोगले ३० हजार सापटी खोज्न सकियो । र, मेरो उपचार सम्भव भयो । तर अप्रेशन पछिका दिनहरू अझ जटिल बन्न थाले । उपचारमा पैसा सबै सिद्दिसकेको पीरभन्दा पनि नुहाउने, पकाउने, खाने, कपडा लगाउने र जुत्ताको तना बाँध्ने जस्ता साना तर महत्वपूर्ण कामहरू कसरी गर्ने भन्ने गहिरो चिन्ता मनमा पर्यो ।' सिडि प्लेयरमा सानो आवाजमा बजिरहेको भ्वाइलिनको पीडादायक संगितको पृष्ठभूमीमा आँशु लिदै आँखाभरी उनले भने, 'यस्तो बेला साँच्चीकै श्रीमतीको बढि अभाव महशुस हुँदो रहेछ । आमाको यादले सताउँदो रहेछ, नीराजन भार्इ । यस्तो पनि के जिन्दगी ? कस्तो जीवन बाँचिरहेको छु म आखिर ? मनमा यस्ता अनेकन निराश भावनाहरूले मनमा डेरा जमाउन थाले । शरिर त घाइते औलाको चस्काइ सहन नसकेर दुखिरहेकै थियो, जब मननै घाइते हुन थाल्यो अब दिल दुख्न शुरू गरेको छ, भार्इ । धन्न ३/४ हप्ता पछाडी म ग्राफिक्स डिजार्इनको मेरो पार्ट टाइम काममा फर्कन सकेँ । अनि 'पेन्नीलेश' जीवन ज्यूँनबाट छुटकारा पाएँ । अझैपनि मन पोलिरहन्छ, कहिले म पूर्ण स्वस्थ हुन्छु र साथीहरूले उपचारमा सापट गरेको पैसालार्इ चुक्ता गर्न सक्छु ।' यसपछिको बाँकी कुरा अर्को दिन ।

2 comments