रिसोर्ट, सहमतीहिन वार्ता र म एक आम नेपाली

किन आखिर सहमतिमा आउन सक्दैनन र्इ नेताहरू ? किन यिनमा नदेखिएको होला र्इच्छा शक्ति ? किन यिनले बुझ्दैनन होला हरेक कुराको आफ्नै सीमा हुन्छ ? किन यिनमा बढ्दै गएको होला अविश्वास ? किन यिनमा अरूद्धारा निर्देशित नभर्इ काम नगर्ने बानीको विकास भयो होला ? र, किन यिनले बुझपचाइरहेका होलान समयको महत्व कति छ ? किन ? आखिर किन ???
यिनै प्रश्नहरूले मेरो मनमा डेरा जमाएका छन् र राती अबेरसम्म म छटपटिरहेको छु । मलार्इ यस्तो लाग्छ, मेरो दिमागले काम गर्न छाडिरहेको छ । यिनीहरू उज्यालो छ भन्छन्, हामीलार्इ झुक्काइरहेको जस्तो लाग्छ । यिनले हाम्लार्इ उज्यालोको भ्रम दिएर अझ अरू अँध्यारा दिनहरू बिताउन बाध्य पार्ने प्रपञ्च रचिरहेको झै लाग्छ । मलार्इ यिनका कुनै कुरामा पनि बिश्वास लाग्न छाडिसकेको छ । यिनले जति जति उज्यालोको लोभ देखाउँछन् मलार्इ उति उति मेरो भविष्य अँध्यारिदै आएको जस्तो लाग्न थालेको छ । यिनका जति नाटकहरू पर्दाबाहिर छताछुल्ल हुन्छन्, तिनले मलार्इ उती नै बेचैन गराउँदै लगेका छन् । यिनले मेरो गोर्खाली शीरलार्इ सबैका माझ नतमस्तक हुन बाध्य पारेका छन् । यिनले मेरो सबै अधिकारलार्इ हनन गरिरहेका छन् । बिनासूर्ता निदाउन पाउनु पर्ने मेरो अधिकारको यिनीहरूलार्इ केही सुर्ता छैनन । आफ्नो देशको शासन व्यवस्था राम्रो र उदाहरणीय छ भनेर अन्तर्राष्ट्रिय जगतमा शानदार ढंगमा संवादमा सहभागि हुन पाउने मेरो अधिकारलार्इ यिनिहरू कुण्ठित पारिरहेका छन् । त्यति मात्र होर्इन यिनले मेरो देशमा कति भद्रगोल छ भन्ने कुरो कुनै एक विदेशीबाट सुन्न विवश पारी मलार्इ पानी पानी हुन बाध्य पारेका छन् ।
यिनका दिनदिनैका नाटकहरूले मलार्इ यति लज्जित र हायलकाय पारिरहेका छन् कि व्यक्त गर्नलार्इ उपयुक्त शब्द भेटिरहेको छैन, मैले । कोहीले भने यसपालिको दशैंको उपाहार नेपालीहरूलार्इ – नयाँ सरकार ! अर्कोले बोलिदियो – तिहार अगाडि जनताहरूका लागि महंगो हुन्छ त्यो कोशेली, त्यसैले तिहार पछाडि ! न दशैंमा पायौं हामीले, दशै पनि गयो । न त तिहारमै दिए, त्यो कोशेली – तिहार पनि सकिसक्यौं हामीले ! अचम्म लाग्छ, यिनिहरूबीच हुने तर्क वितर्क सुन्दा । मलार्इ लाग्छ, मेरो यो विचार शतप्रतिशत सत्य छैन् । र, मलार्इ यो पनि लाग्दैन, यो मेरो बुझार्इ शतप्रतिशत असत्य, काल्पनिक र व्यर्थ छ । त्यसैले मलार्इ लागेको छ‑ जबसम्म यिनमा राजनीतिक र्इमान्दारीताको बिकाश हुँदैन्, जबसम्म यिनले बुझ्दैनन राजनीति भनेको जनताको शासक हुनु हैन् बरू यो जनताको सेवा गर्नु हो, जबसम्म लाग्दैनन् यिनलार्इ राजनीति साहित्य हैन जहाँ स्वच्छन्दता हुँदैन, आफूले र्इच्छाए अनुसारको ब्याख्या हुदैन तबसम्म हुनेवाला केहि छैन – जतिसुकै गरून गोकर्ण रिसोर्टमा यिनले वार्ता । त्यतिन्जेलसम्म केहि तुक रहँदैनन यिनको गोप्य वार्ताको जुन निरन्तर चलिरहे पनि हात्तिवन रिसोर्टमा !
यस्तो बेला विदेशको ठाउँ (अझ जसको विकासको गति हाम्रो कल्पनाभन्दा धेरै पर छ, जहाँको राजनीतिक सुब्यबस्था हामीले सपनामा पनि नचिताउने हैसियतको छ) मा बसेर देशमा भैरहेका गलत राजनीतिक अब्यवस्थाले निकै पोल्दो रहिछ । बाहिर देख्दा यहाँ मान्छेहरूले मलार्इ सुखि र खुशी देखिरहेका छन् तर भित्र मन कति मरिरहेको छ यिनले त्यसको केहि भेउ पाउन सकेका छैनन् । देशमा राजनीतिक खिचातानीको महाभारत छ, यहाँ मलार्इ बुद्भ नेपालमै जन्मेका हुन भन्नेमा यिनीहरूलार्इ विश्वस्त गराउँनु छ । जब म यहाँका साथीहरूसँग कुरा गर्दै जान्छु – ८ हजार ८ सय ४८ को सर्वोच्च शिखर नेपालको शीर सगरमाथा हो, बिचमा एउटाले सोधिदिन्छ, अनि नेपाल छुट्टै कि र्इन्डियाभित्र ? गएर चड्काउन मन लाग्छ त्यसका गालामा तर मिलेन त्यसो गर्न ! यति लाचारीपूर्वक यो भूमण्डलको कुन अर्को प्राणी बाँचिरहेको होला जुन हामी नेपालीहरू बाँचिरहेका छौ ? देशमा चलिरहेको राजनीतिक किचलोले मेरो देश सुन्दर, शान्त र विशाल हो भनेर चिनाउने मेरो नैतिक अधिकार खुम्चिदैँ गएको छ । तर किन बुझ्न सकिरहेका छैनन् नेताहरू – देश कस्तो बन्ने त्यसको निर्धारण राजनीतिले गर्छ !
हे प्रभु ! यिनलार्इ राजनीतिक चेतना देउ !

Post a Comment

Popular Posts