देवकोटा अर्थात पागल

स्वर्गबाट,
तिम्रो प्रमिथसले
आगोको फिलिङ्गो चोरेर
तिम्रो वतन उजिल्याए झैं
मुग्लानबाट,
मेरा प्रमिथसहरू
श्रमको मूल्य बेचेर,
आफ्नो वतन उजिल्याउने
फगतका सपनाहरूमा रमेर
प्रत्येक अँध्यारा दिनहरूमा
आँगन छोडिरहेछन्-घर छोडिरहेछन्
मन छाडेर
खाँदा खाँदैको गाँस छाडेर, यहिँ
मात्र आफूलार्इ बोकेर
जहाजका भर्याङ्गहरू
उक्लिरहेछन्/ओर्लिरहेछन् ।

 
न तिमीले लेखे झैं
शेक्सपियरले यहाँ हलो जोत्दैछन्
न नै सोक्रेटस गुफाभित्र घोत्लिरहेछन्
बरू, खेतहरू बाँझै छाडेर
बारीमा हनुमान झार फूलाएर
शेक्सपियर साउदीमा भेडा चराउँदैछ
सोक्रेटस मलायामा
ढोके भएको छ ।
यो काल्पनिक हैन, देवकोटा
म तिमीले जस्तो फूलाउन सक्दिन
काल्पनिक फूलहरू !

 
उफ तिमीले के लेखेको त्यस्तो ?
कालिदाशले असारका पन्ध्रमा
धाराप्रवाह रोपाइँका गीतहरू गाउँछ !
मलार्इ लाग्यो, देवकोटा -
बडो अचम्म रहेछ, तिम्रो जमाना !
कालिदाशले बलिउड र हलिउड नदेखेको !
तिम्रो पाखे कालिदाश !
कस्तो अज्ञात रहेछ, तिम्रो जमाना
'हाउ बोरिङ टाइम तिम्रो?'
तिमीले कसरी कल्पना गर्न सक्यौं, आखिर?
ज्याज र शाल्साविनाको जीवन!
तिमीलार्इ छ, मेरो प्रश्न-
'हाउ डिड यू डेयर टू राइट दोज नन्सेन्स ?'
 

तिमीले उपचार नपाएर,
साइनाइड माग्नुपर्यो,
तर, तिमीले लेखेनौ, किन ती यथार्थहरू
किन भन्यौ ?
जीवनबुटी छन्‑ हाम्रा देशमा !
फगत तिमीले झुटो लेख्यौ !
कल्पनाको फूल फूलायौ-
एकदम झुट्टा !
तिमीले साइनाइड माग्यौ,
यहाँ हामीले साइनाइड भोजन गरिरहेछौं-
फोहोरी राजनीतिको !
 

तर जेहोस्,
म खुशी छु-
कम्तिमा तिमीले आफू
पागल भएको घोषणा गर्यौ !
त्यो तिम्रो घोषणाले मलार्इ निश्चित बनार्इदिएको छ, अहिले
कि तिम्रा सबै सृजनाहरू
मनगढन्ते थिए,
काल्पनिक थिए,
र, थिए
ती सबै‑सबै
पागल ।
2 comments