Skip to main content

Posts

Showing posts from 2011

स्वीकार छन

स्वीकार छन तिम्रा हजार बातहरू
दिन्छ्यौ नै भने यदि प्रितका मातहरू
पिडा जति नै होस गुनासो म नगरूँला
हिर्काउछ्यौ भने त मायाले नै लातहरू

होला त्यो

होला त्यो कहाँ प्रिय छुँदै लाएको माया ?
होला र मज्जा बेहोस हुँदै लाएको माया ?
मान्न म सक्दिन सफल त्यस्तो प्रित -
जीवन सारा आँशुले धुँदै लाएको माया

नगरिदेऊ

त्यसै जिर्ण ब्यवसाय छ, झन मन्द नगरिदेऊ !
छैन उसै शान्ति ब्यवस्था, लौ उदण्ड नगरिदेऊ !
आँखा देख्नै छाड्यौ या त ब्यथा नबुझेको हो ?
थला परिसक्यो यो देश, सुन बन्द नगरिदेऊ

फूल्दैन

फूल्दैन माया जहाँ, घृणाको हुन्छ बस्ती
हुँदैन त्यो प्रित यदि, भएमा जबरजस्ती
अब्यक्त चोखो भावना, मान्छु म प्रेम हो
सोच्दैन यदि प्रेमी जहाँ प्रेम हो मोजमस्ती

इमानी

इमानी कति बनुँ बेइमानी हुन मन लागेको छ
तिम्रा हर अंग छिचोल्ने पानी हुन मन लागेको छ
वियोगका मात्रा धेरै देखिए यहाँका प्रेम कथामा
तर सफल एक प्रेम कहानी हुन मन लागेको छ

बि.सं. २१०० अंक (१४)

ट्याक्सीको पछिल्लो सिटमा चलायमान हामीहरुबीच नशालु कार्यब्यबहार भैछाडे । खासगरि उसको शिर मेरो काँधमा ढल्कने र मेरा औलाहरु उसको च्यापुमा पुग्ने उपक्रम रोकिएन । वाइनको मातमा हामी यति धेरै मातिरह्यौं कि हामी सवार ट्याक्सी अर्को कुनै तेस्रो ब्यक्तिले हाँकिरहेको छ भन्ने पनि सम्झिरहेका थिएनौं । जेट्लिना पूरापूर मातेकी थिई उसले कसैको चासो राख्ने कुरै थिएन तर म आफू एक भद्र र पाको उमेरको मानिस भएर पनि एउटा वयस्क मानिसको दायित्वबाट उम्किरहेको थिएँ । आफूभन्दा आधा उमेरकी युवतीसँग छिल्लिरहँदा न मैले संकोच मानेँ न त लाज नै ! म यति मूर्खतापूर्वक छिल्लिरहेकी एक पटक पनि मैले ट्याक्सी चालकतिर नजर पुर्‍याइँन । अहँ ठ्याम्मै पुर्‍याइँन ।
    ट्याक्सीबाट ओर्लिएपछि कोठामा नपुगिन्जेल मैले केही कठोर पलहरु गुजार्नु पर्‍यो । जेट्लिनाले आफ्ना कोमल तर वाइनको मातमा केहि कठोर बनेका औंलाहरुले च्याप्पै मेरा औंलाका काँपलाई भरिदिई । र, टिमिक्कै परेर मसँग हिड्न लागी । उसले यस्तो गरिदिदाँ उसको शरीरको अधिकांश भार मैले बोक्नुर्‍यो । यस्तो बेला प्रायः मलाई दम बढ्थ्यो तर त्यतिखेर मैले खास केही अनुभूत गरिनँ । सायद आकर्षण…

बि.सं. २१०० (अंक १३)

रातीको साढे नौ बज्नै आँटेको थियो, तालीको गड्गडाहटले सभाहल गुञ्जायमान भयो । हामी सबैले छन्त्याल कलाकारहरुको सुन्दर प्रस्तुतीका लागि धन्यवाद ब्यक्त गर्‍यौं । मैले जेट्लिनालाई हेरेँ, ऊ सन्तुष्ट देखिन्थी । भनी – “यो नगरमा मेरो पहिलो रात हरेक हिसाबले स्मरणयोग्य बन्दै छन् !” मैले सहमति जनाएँ – “यो हामी दुबै जनाको लागि एउटा सुन्दर अबसर थियो । उसो त यो अबसर मेरा लागि अझ बढि फलदायी रह्यो । पहिलो कुरा आउँदो शुक्रबार म यहाँबाट फर्कदै थिएँ, यसको मतलब आजको शो बाहेक मेरा लागि उपयुक्त हुने अर्को शो थिएन । दोश्रो कुरा करिब ३० बर्षपछि मैले यी आदिबासीहरुसँग साक्षात्कार गर्ने अवसर पाएँ ।” हामी बाहिर प्राङ्गणमा आइपुग्दा नपुग्दै बडो आश्चर्यमा पार्दै यसै नगरका स्थायी बासिन्दा मेरा पुराना मित्र झक मलाई स्वागत गर्न उभ्भिराखेका रहेछन् ! “अरे मित्र ! खबरै नगरी तपाइँ हाम्रो नगरमा ?” ६० बर्षिय मेरा मित्रले मलाई आफ्नो आलिङ्गनमा कस्दै आश्चर्य प्रकट गरे । जेट्लिना हामी दुईलाई हेर्दै मुस्कुराई । र, उनलाई नमस्कार गरी । उनको प्रश्न – “नानी पनि त यत्रि भैसकेछिन् ! कान्छी हुन ?” को जबाफमा मैले भनेँ – “हैन उनी मेरो साथी…

बि.सं. २१०० (अंक १२)

“यति जाबो उकालो चढ्दा पनि कस्तो टायर्ड फिलिङ भएको हो ?” – सात तले भवनको चौथों तलामा रहेको आफ्नो अपार्टमेन्टमा पुगेपछि सोफामा थ्याच्च बसिसकेपछि जेट्लिनाले थकित अनुहार पार्दै बोली ।  “मलाई पनि त्यस्तै महशुस भयो । म त झन बुढो मान्छे ! त्यसैमाथि खुट्टा गल्ने समस्या बल्झिएको छ अचेल !” ऊ भन्दा बढी दुखित हुँदै मैले भनेँ ।  “लौ त जेट्लिनाजी म हिडेँ । गुड नाइट !” उसको पि.आर.ओ.ले त्यहाँबाट छुट्टिन खोज्दै बोल्यो । जेट्लिनाले ऊतिर पुलुक्क हेरी र भनी – “हस हजुरलाई मेनी मेनी थ्याङ्क्स ! सि यू अन मन्डे सर ।” युवक थोरै मुस्कुरायो । जेट्लिनातिर हात बढायो । दुबैले हात मिलाए । हात मिलाएकै अवस्थामा केही बेर कुराकानी पनि गरे । म बाथरुमबाट बाहिर निस्कदा युवक कोठामा थिएन । जेट्लिना ड्रेस चेन्ज गर्न कोठाभित्र छिरिछ । उसलाई म बाहिर बैठककोठामै पर्खेर बसेँ । दश मिनेट पछि जेट्लिना बाहिर निक्ली । अर्को कोठाको चाबी थमाउँदै भनी – “यी हजुरको रुमको ‘कि’ लिनु । ड्रेस चेन्ज गरेर आउनु । फ्रेश पनि हुनुपर्यो । म तातो पानी उमाल्छु । दुबैले पिएर सपिङ गर्न जाउँला । फेरि कल्चरल शो पनि हेर्नु पर्यो । कति अर्को हप्ता कुरिराख्…

म, रत्नपार्क र मेरो भविष्य

स्नातकोत्तर अर्थात एम.ए । कतिपय बुद्धिजीवीहरु यसो पनि भन्दा रहेछन – एम.ए पछिको पढाई आवश्यक छैन । उनीहरुको टिप्पणी सुनेपछि मलाई लाग्यो विश्वबिधालय जीवनमा यो तहको पढाई सर्वाधिक महत्वको पढाई हो । र, विशेष महत्वका साथ यो तहको पढाई पूरा गर्नु आवश्यक छ । तसर्थः स्नातक तहको अध्ययन सिध्याएको ४ वर्षपछि मैले स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने अठोटका साथ फेरि एकपटक कलेज जीवनको शुरु गरेँ । लागेको थियो – मसँगै पढ्नेहरु दुईचार साल कमका होलान, मेरो उमेरको खिसिटिउरी पो गर्ने हुन कि ? तर कक्षामा प्रवेश गरेको शुरुकै दिनमा मेरो अनुमान फेल खायो – पढ्नेहरुका लागि उमेर प्रधान कुरो रहेनछ । मेरा कतिपय साथीहरु स्नातक सिध्याएको १५–२० वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न आएका रहेछन । उमेरमा म बुढो भन्ने चिन्ता त्यो दिनदेखि रहेन । चालीस कटेकाहरु भएको ठाउँमा म बबुरो २६ मा चलिरहेको सानो केटो नै देखिएको छु । परन्तु समयसँगै म बदलिन नसकेको हुँ, वा महत्वकांक्षा ठूलो भएछ कुन्नी ? थुप्रै समस्याहरु असरल्ल देखिरहेछु । कक्षाबाट शुरु गरुँ । पहिलो दिनमै मलाई कक्षाको वातावरण कत्ति पनि रुचीकर लागेन । अगाडि प्राध्यापकको लेक्चर…

लुकेर

लुकेर कतै तिमीले मलाई नै चिहाए झै
रोएर तिमीले आसुँ मलाई नै पियाए झै

लाग्छ अचेल प्रित तिम्रो हराएको छ
साचेर मुटुमा अर्कै मलाई नै रिझाए झै

पाउदिन किन तिमीलाई समिपमा मेरो
बिताएर पल अन्तै मलाई नै भेट्न आए झै

शहरमा (२)

मन दुखाउनेहरु धेरै भेटिए शहरमा
माया गर्ने आफन्तहरु छेकिए शहरमा
पर्वाह छैन अरुको बाँच्न पाए आफू
बिनासित्ती चोट दिने देखिए शहरमा

शहरमा

लुकाउने कुरा देखाउने मैयाँ छन् शहरमा
उस्तै कामुक कृष्ण कन्हैया छन् शहरमा
टोलै पिच्छे हरेक गल्ली र चोकमा हेर
मान्छेका अनेक रवैया छन् शहरमा

बुझिराख

बुझिराख सम्बन्ध कुनै स्थाई हुँदैन
सबै माथि तिम्रो मात्रै रजाई हुँदैन
आफू एक्लै विशेष हुँ ठान्छौ भने यदि
तिम्रा लागि कसैको बधाई हुँदैन

मान्छे नभेटेसी

मीठो मसिनो ख्वाउने भान्से नभेटेसी
जे भएनि आफ्नै प्रिय ठान्ने नभेटेसी
बहुलाउन बेर लाउँदैनन मान्छेहरु
आफ्नो मन बुझिदिने मान्छे नभेटेसी

आफ्नै

आफ्नै मात्र कुरा बेशी गर्छन मान्छे किन ?
चोरीचोरी आफ्नै गोजी भर्छन मान्छे किन ?
लक्ष्य सबको आकाश चुम्ने धर्ती बिर्सिएर
नचाहेनी आखिर तलै झर्छन मान्छे किन ?

बि.सं. २१०० (अंक ११)

हामी गुर्जा नगरभित्र चल्ने नगर बसको पर्खाइमा थियौं । बस स्ट्यान्ड खाली थियो । बस आउने समय हेर्दा थाहा लाग्यो अझै १५ मिनेट पर्खनु पर्ने रहेछ । प्रत्येक आधा घण्टामा बस त्यो स्ट्याण्ड हुँदै नगरभित्र प्रवेश गर्दोरहेछ । “मंसिरको लास्ट विकमै यति विघ्न जाडो हुने थाहा लागेको भए म समर सेसनका लागि आउने थिएँ ।” जेट्लिना गनगन गर्दै थिई । मलाई पनि लागिरहेको थियो – केहि अगाडि मात्र पिएको तातो कफिले खास प्रभाव पार्न सकेन गुर्जाको ठन्डीमा । भित्रैदेखि थुरथुर कपायो जाडोले । जेट्लिना गुनासो गर्दै थिई – “यो ठन्डीमा मेरा तीन महिना कसरी बित्ने होलान ? आइ एम सो स्केयर्ड !” यहाँको जाडोको शुरुकै भोगाईमा उसले डराउनु अस्वभाविक लागेन । यति कठोर जाडोको अनुभव मैले जीवनभरिमै एकपटक मात्र ६० को दशकको एक साल गरेको थिएँ, जतिखेर हिउँ जगन्नाथ मन्दिरको डाँडाबाट ओरालै ओरालो बेनीसम्म आइपुगेको थियो । करिब एक हप्तासम्म बेनी नगरमा बिधुत तथा सञ्चार सेवा सुचारु हुन नसकेको त्यो सप्ताह मेरा समकालीन धेरैका लागि अविष्मरणीय छ । अतः उसको गुनासोमा मैले केहि बोलिनँ । उसले धेरै बेरसम्म  गनगन गरिराखी ।  स्ट्यान्डमा बिस्तारै यात्रुहरुको चा…

बि.सं. २१०० (अंक १०)

“ओ माई गड, इट्स वन्डरफूल ल्यान्ड !” बसबाट झरेपछि युवतीले यहाँ भन्दा बढी एक शब्द अरू केही बोलीन । मलाई पनि उतिबेलाको गुर्जा गाउँ र यतिबेलाको गुर्जा नगरमा आकाश पातालको फरक लाग्यो । प्राकृतिक सुन्दरतामा मानिसको जादुमयी कलात्मकता मिसिदाँको परिणाम हुनुपर्छ – यो नगर ! यति बिघ्न परिवर्तन भएको हुनुपर्छ भन्ने मैले सोचेकै थिईन । म हुस्सु मान्छेले यहाँ आउनुभन्दा पहिले गुगलिङ गर्नुपर्ने थियो, कम्तिमा पनि केहि भिडियो र तस्बीरहरू हेरेर यो नगरका केही तस्बीर र भिडियोहरू हेर्नुपर्ने थियो । हतारमा घुमघामको कार्यक्रम बनाएर हुर्रिदै घुम्न आउँदा यात्रा धेरै अस्तब्यस्त हुँदो रै’छ भन्ने सिकाई भयो, यो पालीको घुमघाममा ।  हठात् मलाई जेट्लिनाको याद आयो, उसलाई वरिपरी हेरेँ । कतै देखा परिन । मन अलिकति आत्तिएर आयो । लाग्यो – केहि भन्दै नभनी हिडेकी उसको चिन्ता के गर्नु ? अरूको ख्याल नगर्ने मान्छेको एकोहोरो खोजी मैले मात्र के गर्नु ? अर्को मन लाग्यो, छोरीको उमेरकी युवती छे, छोरी नै नभएपनि छोरी जस्तै त हो नी । छोरी सम्झिएर भए पनि उसको ख्याल गर्नु मेरो दायित्व हो । तन्नेरी मन उम्लेर आयो – केको छोरी झैं हुनु ? त्यस्तरी…

बि. सं. २१०० (अंक ९)

... मैले उसको प्रस्ताव अस्वीकार गर्नु भनेको, उसको ठोस अपमान गर्नु ठानेँ । र, असहज हुँदाहुँदै पनि आफूसँगै बस्न गरेको उसको प्रस्ताव स्वीकार गरिदिएँ । लाग्यो, यहि हो हामी पुराना युगका मान्छेहरूको पहिचान – हरहालतमा दोश्रो पक्षको चित्त नदुखाउनु ! आफ्नो हार्दिक आग्रहलाई मैले विनम्रतापूर्वक स्वीकार गरेपछि युवती अझ अरू निभर्य खुल्न थाली । सन्तुष्टिको मुस्कानसहित उसले भनि – “थापाजी, यू आर रियल्ली स्वीट म्यान !” उसका कोमल औलाहरू मेरो चेपुमा चलिरहेका थिए । बेलाबेलामा उसका कोमल औंलाहरूले मलाई अप्ठ्यारो पारिरहँदा समेत असहज महशुस भएको प्रतिक्रिया दिनै मन लागेन । सोचेँ – यसैगरि धेरैबेरसम्म उसका मायालु औंलाहरूको मनपरी चलिरहोस मेरो स्थुल भरी ।
जेट्लिनाले आफ्नो शीर मेरो काँधमा अड्याई । र, यात्रा अवधीभर आर्जित सबै थकान एकै निमेशमा बिसाउने अहोभाग्य पाएको जस्तै गरी । गन्तब्यमा पुग्ने समय निकै कम हुँदै गएको थियो । मनभरी अनेक कुराहरू खेलिरहेका थिए । त्यती विघ्न चञ्चल त म होइन, तर चञ्चलताले एकतमास अठ्याउँदै लग्यो मलाई । गाजाल टाँसेको भन्दा चम्किला एक जोर आँखाहरूले पुलुक्क हेर्दै जेट्लिनाले सोधी – तपाइँ पहिल…

बि.सं. २१०० (अंक ८)

...लञ्चको प्याकेट रित्तिसकेको थियो । युवतीले पुलुक्क मतिर हेरी । मैले थाहा पाइहालेँ उसको मनोदशा । मनमा लागिरहेको थियो, छोरीकी उमेरकी युवतीसँग परिचय गर्नुको तुक के नै रहला र ? मनमनै यस्तै सोचिरहेको मलाई उसको कुटिल मुस्कानले झस्कायो । म केही भन्न खोज्दै थिएँ, तर उसले मादकताले भरिएको मुस्कान छाड्दै भनी–“खै त थापाजी, हजुरले आफ्नो इन्ट्रडक्सन दिएको ?” बसको गति केही धिमा भयो । बस उकालो चढ्दै थियो । लम्सुङलाई पछाडि पार्दै देउराली तिर उकालो चढ्दै गरेको बसभित्र म युवतीसँग संवादमा लिप्त थिएँ । उसलाई मैले मेरो परिचय दिन जरुरी थियो । र, मैले परिचय दिएँ–“अँ, मेरो नाम बुद्धिमान थापा । उमेर ५६ वर्ष । र मलाई घुम्न मन पर्छ ।” युवतीले फिस्स हाँसो हाँसी । सायद उसलाई मेरो नाम अचम्म लाग्दो हुनुपर्छ । “अँ साँच्ची थापाजी, पहिले पहिलेका मान्छेहरूका नामहरू साँच्चिकै उराठलाग्दो हुने किन हो ? जस्तो मेरो ड्याडको नेम हरीप्रसाद, चाचाको नेम रामप्रसाद...!” म चुपो लागेर बसेँ ऊसँग प्रतिवाद गर्नु औचित्यहीन लाग्यो मलाई । यसपछि निकैबेरसम्म हामी चुपचाप बस्यौँ । युवतीले संवाद अगाडि बढाउन थाली–“हजुर किन तपाईँका जमानाको मान…

बि.सं. २१०० (अंक ७)

...युवती फेरि पनि उस्तै हतारोमा बसभित्र छिरी र हुर्रिदै सिटमा आएर बसी । हाम्रो यात्रा पुनः शुरु भयो । मुनाको ब्यावसायिक पशुपालन र माछापालनका बारेमा अलिकति भए पनि हामीले जानकारी पाएका थियौं । म जस्ता अघिल्ला पुस्ताका मानिसहरुलाई यस्ता ब्यावसायिक अभ्यासका बारेमा किन पनि थाहा हुनु आवश्यक छ भने ती दृश्यले हाम्रा पुस्ताका मानिसहरुका इमान्दार प्रयास र अविरल मेहनतका बारेमा धेरै कुराहरु स्पष्ट पार्ने काम गरेका छन । अहिलेका युवाहरुका जस्तो ‘बिन्दास’ जिन्दगी हामीले चाहेर पनि बिताउन पाएनौं । तर यसका बारेमा अहिलेका युवा पुस्ताले थाहा पाएर पनि बुझपचाएका हुन वा अज्ञात नै हुन उति गम्भिरतापुर्वक आफूलाई प्रस्तुत गर्दैनन् । त्यसकारण पनि युवतीसँगैको यात्रा उती रुचीकर लागिरहेको थिएन मलाई, अझ झन ऊ बस्ने र बस अगाडि बढ्ने काम एकैपटक भएपछि ऊ मेरै काखमा घोप्टिन आइपुग्दा पारो नतात्ने कुरै भएन, सम्हालिन खोज्दा खोज्दै मुख खोलीहालेँ – “हत्तेरि के गरेको यस्तो ?” उसलाई खासै ग्लानीबोध भएन । उसले सोची सायद, त्यो उसको भूल थिएन । शिघ्र आवेगमा आएपनि उसको ढेपाइले मेरो शरीरभरि अस्वभाविक तरंगहरु सञ्चार गरिदियो । ऊसँगको स्…

बि.सं.२१००(अंक ६)

... मैले यात्रा गरिरहेको जस्तो गाढा निलो रंगमा अङ्ग्रेजी बर्णमालाको ‘टि’ अक्षर लेखिएको बसमा यात्रा गर्दा हुने सबभन्दा महत्वपूर्ण फाइदा भनेको गन्तब्यमा नपुगिन्जेल यात्राका क्रममा पर्ने ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको पनि आनन्दपूर्वक दृश्यावलोकन एवं भ्रमण गर्न पाइनु रहेछ भन्ने यो यात्राका क्रममा मैले अनुभूत गर्न पाएँ । २० मिनेट पहिले ताकममा आधा घण्टासम्म रोकिएको बस फेरि मुनाको पल्लोपट्टिको यस पाल्टेभिरमा आएर रोकिएको थियो । यसरी विभिन्न महत्वपूर्ण र दर्शनीय ठाउँहरुमा बस पटक पटक रोकिदा यात्राको अवधी अलिकति लम्बिन पुग्दो रहेछ । त्यो पाल्टेभिर ३२\३३ वर्ष पहिले जागिरका क्रममा म आउनुभन्दा निकै भिन्न देखियो । उहिले यहाँ बारीका स–साना चोक्टाहरु थिए, अहिले त्यस्तो देखिएन । बारीका धेरैजसो पाटाहरु आकर्षक तरिकाले सम्माइएका थिए । प्राकृतिक सौन्दर्यतामा मानवीय सीपको उच्चतम प्रयोग जस्तो लाग्यो, मलाई । वरपरको मनमोहक दृश्यले युवती खुबै सम्मोहित भई – “ओ माइ गड, कस्तो ब्युटिफूल नेचर !” स्थानीय जातको बाख्रीको सानो पाठी उफ्रिदै उसको नजिकै आइपुग्यो, बडो मायापूर्वक युवतीले सेतो पाठीलाई च्याप्पै समाती । स्त…

बि.सं. २१०० (अंक ५)

...“तपाइँ यो भन्दा पहिले पनि यहाँ आउनु भएको थियो ?” झ्यालबाहिरका मनोरम दृश्य एकटकले हेरिरहेको मलाई झस्काउँदै उसले प्रश्न गरी । “अँ आ’को थिएँ, लगभग ७–८ पटक म यहाँ आइसकेको छु । जागिरको शिलशिलामा ३२/३३ वर्ष पहिले यो भेगतिर म आइराख्नु पर्थ्यो ।” बोल्दै गर्दा अलिकति नोस्टाल्जीक हुन पुगेँ – “दरबाङ बजारसम्म कच्ची सडक थियो । साढे दुई घण्टा लाग्थ्यो, माइक्रो बसमा चढेर आउँदा ।”“माइक्रो बस ? के भन्या नि त्यस्तो ?” युवतीले माइक्रो बस भनेको थाहा पाइने सायद । प्रतिप्रश्न गरी ।“अँ, माइक्रो बस !” झर्को नमानी, उसका हरेक सवालका जवाफहरु दिनु मैले मेरो आफ्नो दायित्व सम्झिएँ । कारण, उसले यात्राको मेरो एकाकीपनलाई थोरै भएपनि दूर गर्न सघाउ पुर्याउँदै थिई । अझ उसले ड्रिङ्क्स सौजन्य गरेको गुण पनि फर्काउनु थियो मलाई । उसलाई माइक्रोबसका बारेमा बुझाउन थालेँ – “हाम्रो पालामा एउटा सानो बस हुन्थ्यो । त्यसको क्षमता त्यस्तै १७/१८ जना यात्रुको हुन्थ्यो । र, माइक्रो बस ब्यवसायी समिति मार्फत यस्ता बसहरु सडकमा गुड्ने गर्थे । पूरापुर ३५ देखि ४५ यात्रुहरु बोकेर धूलो उडाउँदै गुड्थे ती गाडी कच्ची सडकमा । हो, म पनि अन्य यात्रु…

बि.सं. २१०० (चौथो भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुसदोश्रो भाग पढ्न यहाँ थिच्नुसतेस्रो भाग पढ्न यहाँ थिच्नुस...युवतीले मलाई वियरको एक बट्टा दिई र बडो विनम्रतापूर्वक पिउनका लागि आग्रह गरी । उसले दिएको वियर मैले सहजतापूर्वक स्वीकार गर्न सकिनँ । म वियर नपिउने भद्र ब्यक्ति त होइन तर घाम नडुब्दै पिउने बानी पारेको छैन मैले । पिउनका लागि खासमा मलाई सप्ताहन्तका तीन रात र दुई दिन अत्यन्तै उपयुक्त समय हुन जस्तो लाग्दछ । तर उसले ज्यादै कर गरेपछि उसले माया गरी दिएको मीठो उपहार मैले स्वीकार नगरी रहन सकिनँ । बियर चीसै थियो । म तीन छक परेँ – उसले आफ्नो झोलाबाट भर्खर झिकेर दिएको वियर कसरी चिसै रहन सम्भव भयो ? वियरको एक चुस्की लिएपछि मैले आफ्नो जिज्ञासा राख्दै सोधेँ – ‘हैन, यो तिमीले आफ्नो झोलाबाट भर्खर मात्र झिकेर दिएको वियर यतिविघ्न चीसो कसरी सम्भव भयो ?’ ‘उ त्यहाँ देख्नुभएन फ्रिज ? त्यहीँबाट लिएको नि !’ चालकको ठीक पछाडिपट्टिको खालीभागमा देखाउँदै उसले बताई । त्यहाँ चारजना अन्य यात्रुहरु पनि लाममा थिए । सायद ती मध्ये धेरैको रोजाई वियर नै हुनुपर्छ । चीसो वियर । केही मिनेट पहिले शिबाङक्रसमा भएको दुर्घटनाका विषयमा अलिकति आक्रोश…

सार्वजनिक यातायात, हामी र हाम्रो यात्रा

मलाई हाम्रा सार्वजनिक सवारीहरुमा यात्रा गर्न एकदमै मन लाग्दैन । तर विवश परिस्थितीका कारण सार्वजनिक सवारीहरुमा यात्रा नगर्नका लागि अर्को भरपर्दो र मितव्ययी विकल्प पनि मसँग छैन । त्यसैले, सार्वजनिक सवारीका लागि म त्यस्तो यात्रु हो – जसको हरेक यात्राको पहिलो र अन्तिम रोजाई नै कालो नम्बर प्लेट लपेटेका थोत्रा भारतीय गाडीहरु नै हुन । र, चुपचाप वर्षौदेखि म ती सवारीहरुका माध्यमले हजारौं माइलको दुरी यात्रा गर्दै आएको छु । काला प्लेटका गाडीहरुमा यात्रा गर्दा म सधैं निम्छरो र हेपिएको महशुस गर्दछु । मेरो आत्मसम्मान वा स्वाभिमानको एक अक्षरको पनि त्यहाँ कसैलाई मतलब हुँदैन । अरु त अरु म आफुले रकम तिरेर बसेको स्थानमा आफुले चाहेजसरी सहज र स्वतन्त्र तरिकाले बस्न समेत पाउँदिन । मैले धेरै पल्ट, धेरै ठाउँहरुमा ओहोरदोहोर गर्दा मसहित दुईजनाको स्थान भएको जिपहरुमा चढ्दा, सवारीका चालक तथा सहचालकले त्यो तीनजना अटाउने स्थान भएको जिकिर गरी थप एकजनालाई चढाएको देखेको छु । र, यस्तो गल्ती गर्ने सवारी चालक र उसका सहयोगीहरुलाई कारबाही गर्ने अख्तियारी पाएको निकायले समेत चुपचाप रमिता हेरेको तीतो सत्य सायद मैले यहाँ उप्क…

बि.सं. २१०० (तेस्रो भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुस दोश्रो भाग पढ्न यहाँ थिच्नुस .... उपन्यासको मुख्य पात्र छ– राजेश । सायद उपन्यासकार थकालीले हाम्रा पालाका सुपरस्टार नायक राजेश हमालको नामलाई सम्मानपूर्वक आफ्नो सृजनामा स्थान दिनका लागि यस ‘राजेश’ पात्रको जन्म गराएको हुनुपर्दछ । मैले सानो अडकल काट्छु । किनकी, पाँच दशक भन्दा बढी नेपाली चलचित्रमा क्रियाशिल जीवन बिताएका तत्कालिन नायक हमालको नामलाई अहिलेका पुस्ता पनि उत्तिकै सम्मानपूर्वक लिने गर्दछन । झन ३ हप्ता पहिले रिलिज भएको उनी निर्देशित चलचित्र ‘शहरको एउटा बन्द कोठा’ एकै समयमा रिलिज भएको समकालीन बलिउड सिनेमा ‘मैं तुम्सें आगे’ को इन्डिया बाहेकको एशियाली कलेक्सनको बराबरी गरेपछि त हमालको व्यक्तित्व मिथक बन्न पुगेको छ । सम्मानित मदन पुरस्कार प्राप्त थकालीको यो उपन्यासको राजेश पात्र तीनै महानायकको नामबाट अत्याधिक प्रभावित हो वा होइन म अड्कल काट्नुको अलावा ठोकुवा नै चाँहि गर्न सक्दिन तर म विश्वस्त छु, उपन्यासको पात्र ‘राजेश’ जीवनप्रति उत्तिकै आशावादी चित्रित गरिएको छ, जति महानायक हमालले उतिबेला अभिनय गरेका कतिपय चलचित्रमा उनले भूमिका निर्वाह गरेको पात्र जीवनप्रत…

बि.सं. २१०० (दोश्रो भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुहोस  । प्रकाशको क्याफेबाट निस्के पछि मसँग अझै १० मिनेट जति बाँकी थियो । म उसै टहलिएर बसिरहेको थिएँ, मसँगै यात्रा गरिरहेकी युवती मनेरै उभ्भिन आइपुगी । ताकमसम्म आउँदा पनि चुपचाप रहेकी केटी के कुरा गर्न आई छेउमै ? सोधुँ कि भन्ने मनमन लागेको थियो । तर उसले कुरा शुरु गर्नुभन्दा पहिले मेरो मुखबाट एक शब्द पनि चुहिएन । म उभ्भेको ठाउँबाट केहि परको आराम कुर्सीमा आएर बसी । आफ्नो हाते ब्यागबाट बट्टाको बियर झिकी र पिउन थाली । हल्का तनावमा भए झैं देखिन्थी । बेफ्वाँक म उसको क्रियाकलापहरु किन निहालूँ ? मैले उतिरको सम्पूर्ण ध्यान हटाएर म उभ्भेको ठाउँबाट देखिने मनोरम दृश्यहरु हेर्नपट्टि लगाएँ ।ताकमकोट र ताकम गाउँको बीचतिरको भागबाट लगिएको तीन लेनको लोभलाग्दो सडक छेऊबाट उभ्भिएर ताकम गाउँतिरको रौनक हेर्दा मन रोमाञ्चित नहुने कुरै भएन । मनमन अडकल काटे यो पहाडी सुन्दरतामा ठडिएको बस्तीलाई रातको समयमा यहि ठाउँबाट हेर्दा यहाँको रात्रीकालीन दृश्य झन कति लोभलाग्दो होला ? अहा ! उस्तै रमणीय पुछारमा बगिरहेको म्याग्दी खोला जस्तै रमणीय पारी मुदीको बस्तीछेउको कफीको बगान । जता हेर्यो उतैको दृश्य…

नयाँ नेपाल, हामी र हाम्रो धरातल

हाम्रो स्तर, जीवनशैली अनि सोच र हामी बसिरहेको यस भूगोलको विकसित भनिएका देशका बासिन्दाहरुको स्तर, जीवनशैली र सोचमा रहेको भिन्नताको भेद खुट्याउनका लागि सबभन्दा पहिले हामीले उनीहरुका बारेमा थाहा पाउनु पर्ने हुन्छ । जब ती विकसित भनिएका मानिसहरुका आचरण र जीवनशैलीका बारेमा हामीले जानकारी पाउँछौ तब हामीले हामी बाँच्दै आइरहेको सामुदायिक दायराको संकुचनताको भेद थाहा पाउँदछौं । मिहिन पाराले हामीले हाम्रो सोच्ने स्तरका सम्बन्धमा जहिलेसम्म अध्ययन गर्न सक्दैनौं, त्यहिले सम्म हामीले आफ्नै स्तरका बारेमा जानकारी हासिल गर्न सक्दैनौं । तसर्थः कम्तिमा पनि हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ, पत्ता लगाउनलाई कि हामी र विकसित मानिसहरुबीच के कति फरक छ ? र, गहन ढंगले विश्लेषण गरिनु आवश्यक छ– सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हाम्रो के कति योगदान रहन्छ ?  हामी भन्ने गर्दछौं, हाम्रो देश अत्यन्तै अब्यबस्थित छ । यहाँ कानुनी शासनको अभाव छ । नेताहरु सबै चोर हुन । फटाहा छन । तर हामी आफै सम्मानित संसदबाट ऐन कानुनका रुपमा पास भएर आएका नियमहरु पालना गर्न हिच्किचाउँछौं । हाम्रो ठनाइ छ कि नियम नमान्ने हामीहरु…

बि.सं. २१०० (पहिलो भाग)

युवा स्वयंसेवकका रुपमा करिब ३० वर्ष पहिले नर्वेमा छँदा जुन अनुभव मसँग थियो, गत हप्ता गुर्जा जाँदा ठ्याक्कै त्यस्तै महशुस गरे मैले । मेरी पत्नीले प्राध्यापन गर्ने विश्वबिधालयमा उनलाई छुट्टी नमिलेपछि शरदकालीन पन्ध्र दिने छुट्टी मनाउन आफु एक्लै त्यता जाँदा एकांकीपनले निकै नै सतायो । धन्न ! मदन पुरस्कार प्राप्त गर्न सफल बहुचर्चीत लेखक सुशिल थकालीको पछिल्लो औपन्यासिक कृति ‘खुलेको आकाश’ साथ मै रहेछ । सातसय पृष्ठको पुस्तक बस यात्रा र अन्य फुर्सदको बेलामा पढेर सक्काएँ । सायद २०६८ को वर्खायामतिरको समय हुनुपर्छ, त्यतिखेरका बहुचर्चीत कम्युनिष्ट नेता तथा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदासाथ नेपालमै एसेम्बल भएको मुस्ताङ म्याक्स जिप चढेपछि नेपालको एकमात्र गाडी उत्पादक हुलास मोटर कम्पनीका मालिक निकै हौसिएका थिए । फलस्वरुपः तत्काल आफ्ना इन्जिनियरहरुलाई अझ अरु सुबिधासम्पन्न गाडी निर्माणसम्बन्धी अनुसन्धानका लागि जापान, जर्मनी र अमेरिकाका चर्चीत मोटर उत्पादक कम्पनीमा पठाएको पाँचसात वर्षपछि मोटर उत्पादनमा हुलासले राम्रै गति लिएको हो । पुरानो मोटर उत्पादक कम्पनी भएको भएर पनि…

हटसिट यानेकी चर्काचर्की बहस

म्याग्दी काली एफ.एम. ८८.२ मेघाहर्जबाट प्रत्येक बुधबार बिहान सबा आठबाट नौ बजे प्रत्यक्ष प्रसारण हुने बहसमुलक कार्यक्रम हटसिटका कार्यक्रम प्रस्तोता सुरज के.सी को निम्तालार्इ हत्पती स्वीकार्ने आँट निकै कमले मात्र गर्छन । धेरैजसो उनीसँग हटसिटमा उपस्थित भएर बहस गर्न डर मान्ने गर्दछन । तर जसै आज बिहान उनले मलार्इ हटसिटका लागि निम्ता गरे, म निकै नै उत्साहित भएँ । लाग्यो, कार्यक्रम मेरा लागि निकै नै फलदायी हुनेछ ।  कार्यक्रममा मैले सञ्चालन गर्ने भनेको आत्माजागरण अभियान का बारेमा प्रष्ट्याउने अवसर पनि पाएँ । हामीले विभिन्न विषयमा निकै चर्चा बहस गर्यौ । कृपया सुनिसकेपछि प्रतिक्रिया लेखिदिनु होला । यहाँलार्इ के मन पर्यो ? के मन परेन ? खुलस्त पारिदिनुहोला ताकी प्रस्तोता सुरज के.सीले यो कार्यक्रमलार्इ अझ कसरी लोकप्रिय बनाउन सक्छन ? वा, मैले अन्तरवार्ताका कार्यक्रममा प्रस्तुत हुँदा आफूलार्इ कसरी प्रस्तुत गर्नुपर्ला ?

यो कस्तो चाड – तीज ?

सानो छँदा तीज आउँदा आमाको पछि लागेर मामाको घर जाने गर्दथ्यौं म र मेरो भाई । आमा, छामाहरु र ठूलीआमाहरुको भेटघाट हुने त्यतिखेरको तिजले हाम्रा आमाहरुलाई एउटा औसर जुटाउने गर्दथ्यो – टाढाटाढाका दिदीबहिनीहरुलाई करिब एक बर्षपछि एकै ठाउँमा जुराउने । आमाहरुले वर्षभरी अनुभूत गरेका दुःखसुखका कुराहरु सुन्न पाउँदा अर्कै किसिमको आनन्द आउने गर्दथ्यो, मलाई पनि । मामाकै घरको तगारोबाहिर रहेको खुल्ला चौरमा गाउँका अरु चेलीबेटीहरु पनि जम्मा भएका हुन्थे, उनीहरुले तीजका भाकामा गाएका गीतहरुले गाउँ नै जुरुक्क पाथ्र्यो । हातका औंला झुराझुरा पर्ने गरी उनीहरुले बजाउने मादलको आवाजले निर्माण गर्ने रौनकका बारेमा शब्दमा म कसरी ब्यक्त गरुँ ? साँच्चीकै भिन्न थियो हाम्रा आमाहरुले उतीबेला मनाउने तिज ।  जति जति मेरो उमेर हुर्कदों छ, उति उति हाम्रा चाडपर्वहरु मनाउने शैलीमा पनि परिवर्तन हुँदै आएको महशुस गर्दै आएको छु, मैले । तीज, महिलाहरुको महान पर्व भन्ने गरिए पनि कतै यो महिलाहरुकै पहुँच बाहिर जान लागेको त हैन ? तीज बिशेष कार्यक्रमहरुमा निश्चित आर्थिक हैसियत भएका महिलाहरुको मात्र उपस्थिती देख्दा यस्तै अनुभूत गरेको छु मैल…

एउटा चोक, फुटबल र हस्ताक्षर

“अझै दुई गोल भएको भए त एघारै जनालाई एकएक गोल पुग्थ्यो नी !” २०१४ को विश्वकप प्रतियोगिताको एशियाली छनोटमा जोडर्नसँगको आफ्नो पहिलो खेल ९–० को विशाल अन्तरले गुमाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापक कोहीपनि आलोचनाको परिधीबाट फुत्कन पाएनन् । सकभर बराबरी वा पराजित भएपनि थोरै गोल संख्याको अन्तरले मात्र पराजित हुने विश्वास बोकेर अम्मान उडेका नेपाली राष्ट्रिय टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस् यस पराजय पछि सबभन्दा बढी आलोचित पात्र रहे । आफ्ना खेलाडीहरुमा जोर्डनका खेलाडीहरुलाई टक्कर दिने अद्धितिय क्षमता रहेको बताउँदै आएका रोबर्टस्, टोलीका अन्य खेलाडी सदस्यहरु पक्कै पनि आफ्नो दाबीले पानी खाँदा सर्बाधिक चिन्ताग्रस्त थिए होलान नै तर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्तामा नेपाली फुटबलप्रेमीहरुले त्यो अकल्पनीय हारबाट विक्षिप्त हुँदै आलोचनात्मक टिप्पणीको हदै पार गरेर आफ्ना भित्ताहरु कुरुप पारे ।  हुनसक्दछ, हामी नेपालीको यो एउटा संस्कारगत त्रुटी हो, वा परम्परा नै हो । कमजोर पक्षमाथि आलोचना गर्नु स्वभाविक पनि मान्न सकिएला । तर आलोचनाको पनि सीमा हुन्छ भन्ने यथार्…

राजनीति बिग्रेको देश, हामी युवा, हाम्रा चूनौती र सम्भावनाहरु

मैले धेरैपटक सुन्दै आएको छु – युवाहरु परिवर्तनका संवाहक हुन । यी उर्जाशील शक्ति हुन । युवा शक्तिको समुचित प्रयोगमा घगडान परिवर्तनहरु सम्भव छन । यी सो¥है आना सत्य छन । तथापी यी पेचिला सत्य कुराहरु हाम्रो देशमा कहिल्यै वास्तविकतामा परिणत हुन सकिरहेका छैनन् । सार्वजनिक सभाहरुमा नेताहरुको भाषणमा उच्च प्राथमिकतामा पर्ने युवा सम्बन्धी उनीहरुका यी बुझाईहरु, कार्यान्वयनका बखत कहिल्यै प्राथमिकतामा पर्न सकिरहेका छैनन् ।
गल्कोट साप्ताहिकले आफ्नो रजत जयन्तीको उपलक्ष्यमा २५ औं अंक तयार पार्दै गर्दा, मित्र दिल शिरीषले युवाहरुका चूनौती र सम्भावनाका विषयमा लेख तयार पार्न गरेको आग्रहपछि मैले अनुभूत गरेको हामी युवाहरुका लागि सबभन्दा ठूलो चूनौती नै हामी युवाहरुका संभावनाका विषय भाषणमा मात्र सिमित पारिनुमा देखेको छु । कतिपय राजनैतिक युवाहरुर्लाइ लाग्ला, यसले फगत कुरा गरिरहेछ । हुनसक्छ, यी राजनीतिमा अभ्यस्त युवाहरुका लागि फगत कै कुरा हो । गलफती नै हो । तर एक आम नेपाली युवा भएर देशमा विद्यमान गञ्जागोल र राजनैतिक हठताका बीचमा कुन नेपाली आम युवाले सम्भावनाका स्वर्गीय स्वप्न देख्न समर्थ होला र ? सधैं भाषणमा …