डकुमेन्ट्रीमा अटाएका युद्दका केहि पाटाहरू

डकुमेन्ट्री हेर्नका लागि उपस्थित दर्शकहरू
यहाँ (नर्वेको ट्रोम्सो) मा चलिरहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा अस्ति बुधबारका दिन एउटा नेपाली डकुमेन्ट्री साइलेन्सीङ द गन्स र त्यसैसँग सम्बन्धित सेमिनार आर्इ डु नट हेट माइ इनिमिजमा भाग लिने अवसर पाएको थिएँ । डकुमेन्ट्री यहाँस्थित प्रसिद्द विश्वबिधालय, ट्रोम्सो विश्वबिधालयको पिस एण्ड कन्फिलिक्ट म्यानेजमेन्ट विभागले पहिलो पटक निर्माण गरेको रहेछ ।
द्भन्दका समयमा नेपाली सेनाका एक अधिकारी क्याप्टेन (हाल सेवानिर्वृत्त मेजर) हेमलाल पुन माओवादीहरूको एम्बुसमा परि घाइते भएको कथादेखि गाउँमा रहेकी उनकी दिदी मायालार्इ विद्रोहीहरूले सताउने गरेको सन्दर्भ अटाएका छन् । उसो त पाल्पाका एक परिवारले द्भन्दका क्रममा आफ्नो कलेज पढ्ने छोरालार्इ सेनाले नियोजित रूपमा हत्या गरेको विषय पनि डकुमेन्ट्रीमा समावेश छ । तथापि डकुमेन्ट्रीको मुख्य विषय चाँहि दशवर्षे द्भन्दका क्रममा पनि एउटा पनि गोली नपड्केको गुल्मीको भार्से गाउँ (हेमलाल पुनको पुर्ख्यौली घर छ र दिदी माया समेत बस्दछिन) को वरिपरी घुमेको छ । त्यस गाउँको संस्कार, सहिष्णुता र हार्दिकताका पक्षहरूलार्इ समेत डकुमेन्ट्रीमा ठाउँ दिइएको छ । तथापी आफ्नै भार्इ सेनामा भएको आधारमा माओवादीका कार्यकर्ताहरूले उनीमाथि गरेको ज्यादतीको सत्य घटना सुनिरहँदा मेरो मुटु ढक्क फुल्न गयो ।
गरिवका लागि लडेका हौ भन्ने माओवादीहरूले तत्कालिन समयमा सेनाप्रहरीमा भएका गरिवहरूको वास्तविकतालार्इ आत्मासाथ नगरेको तथ्य तपाइँ हामी माझ छर्लङ्गै छ । हेमलाल पुन जसको पुर्ख्यौली पेशा भनेकै सैन्य सेवामा जागिर हो, जसको गाउँका प्रत्येक युवाको सपना, लक्ष्य वा महत्वाकांक्षा जे भन्नुस् त्यो भनेको सेना बन्नु हो । यो वास्तविकतालार्इ तत्कालिन समयमा माओवादीहरूले बुझ्न नसक्नु दुर्भाग्य नै हो ।
बुटबलका एकजना श्रेष्ठ थरका सिनेमा हलका सञ्चालकले प्रस्तुत गरेको पिडा सुन्दा जोकोहीको आँखा भिज्छ । माओवादीहरूले उनीबाट कसरी पटक पटक चन्दा धुत्न सम्म धुते र उनको फिल्महलमा कसरी बम पड्काएर ध्वस्त पारिदिए भन्ने कथा सुन्नेहरू जोकोहीले पनि तत्कालिन समयमा माओवादीको त्रासदीबाट बाँच्न विवशहरूको जीवनव्यथालार्इ नजिकैबाट चियाउन सक्दछ । हृदयघातबाट मृत्युभएको बाबाको क्रियाक्रम उम्काउने बेलामा दक्षिणास्वरूप दिने पैसाको जोहो गर्न नसकेको आफ्नो वास्तविकतालार्इ श्रेष्ठले बताइरहँदा क्यामेराका अगाडि उनका आँशु बरर झरेको दृश्य हेर्दा के तपाइँको आँखा रसाउँदैन होला ? यो मेरो प्रश्न यहाँहरूलार्इ !
हुन त राज्य पक्षबाट पनि चरम र बर्बर घटनाहरू नभएका हैनन् । खारा काण्डहरू पनि मच्चिएकै हुन । तथापि तत्कालिन समयमा आफ्ना मान्यता भन्दा फरक विचार राख्नेहरूलार्इ माओवादीहरूले गरेको बर्बरता कुनै पनि हालतमा चित्तबुझ्दो चाँहि पक्कै हैन । युद्दको सन्दर्भबाट शुरू भएको डकुमेन्ट्री, खुल्ला आकाशमा लागिरहेको चन्द्रमाको उज्यालोमा भार्सेका गाउँलेरूले गरेको नाचगानसँगै समाप्त हुन्छ । मेरो बुझार्इमा डकुमेन्ट्रीले हामीलार्इ दिन खोजेको सन्देश - युद्दका ती भयानक अँध्यारा पक्षहरूका विषयलार्इ अलिकति भएपनि अनूभुत गर्न र त्यसबाट महत्वपूर्ण तथ्यहरू सिकेर आत्मसाथ गरि अगाडि बढ्नु नै हामीहरूका लागि उपलब्ध सबैभन्दा उत्तम विकल्प हुन सक्दछ । भन्ने त हैन ?
Post a Comment