तस्बिरले नबोलेको एउटा कथा

ब्लगप्रेमी मित्रहरू, हामीहरूले सोचेका थियौं, यो तस्बीर हेरपछि यहाँहरू मध्ये धेरैको प्रतिक्रिया प्राप्त हुनेछ । तर हाम्रो अनुमान विपरित केही थोरै मात्र प्रतिक्रियाहरू प्राप्त भए । जेहोस् ती सबै अनुमान धेरै हदसम्म सत्यको नजिक छन् । खासमा यो तस्बीर हो - बि.सं. २०६५ चैत्र ९ गते आइतबारका दिनको । र, स्थान हो – म्याग्दी सदरमुकाम बेनीको जिल्ला अदालत अगाडि । सायद यो फोटोसँगै तल दाहिने पट्टीको तस्बिर पनि राखिएको भए यहाँहरूले घटनाका बारेमा अझ अरू सहि अनुमान लगाउन सक्नु हुन्थ्यो । अर्थात ६५ को चैत्र ९ गतेको दिन म्याग्दी जिल्लाका लागि एउटा बिशेष दिन बन्न गएको छ । '६० चैत्र ७ को प्रतिबिम्ब ! 
प्रतिक्रियास्वरूप नलेखे पनि कतिको अनुमान हुन सक्छ यो तस्बीर सडक ग्राभेलिङको हो ! तर यो कुनै पनि बिकासे कार्यक्रमसँग सम्बन्धित तस्बिर होर्इन । यसको सन्दर्भ अलि फरक छ - माथि उल्लेख गरेको दिन, वर्षमा एकपटक आउने एक अवसर हो – नेपालभरीका जिल्लाबासीका लागि । समग्र जिल्लाको बिकासको योजना तर्जुमाका लागि आयोजना हुने जिल्ला परिषद जिल्लाबासीका लागि चासोको विषय नहुने कुरै भएन । तसर्थः त्यो वर्ष म्याग्दी जिल्लाको जिल्ला परिषदको मिति त्यो दिन तोकिएको थियो । परिषदको उद्घाटनको दिन थियो, त्यो । जिल्लास्थित दलका प्रतिनिधीहरू, कार्यालय प्रमुख, विशिष्ट मानिएका ब्यक्तित्व र सर्वसाधारणहरू पनि कार्यक्रममा उपस्थित थिए ।
३ मिनेटको पाबन्दी लगाइएको थियो बक्ताहरूलार्इ । यसैक्रममा एमालेका प्रतिनिधी हरिकृष्ण श्रेष्ठले माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित सभासद गोविन्द पौडेलको नाम यार्सागुम्बा तस्करीमा के जोडेका थिए, मञ्चमा आसिन सभासद रातोपिरो भए भने माओवादबाट प्रतिनिधित्व गर्ने (मेरो ख्यालमा इन्चार्ज) मणिलाल शर्माले प्लाष्टिकको कुर्सीले झटारो हानिहाले । यो झटारोसँगै शुरू भएको कलह सडकमा पोखियो । युथफोर्सका लडकाहरू भटाभट बजार गर्न थाले । वाइसियल पनि के कम ? बजार खुलाउन पट्टी लागिहाले । अब झडप शुरू भैहाल्यो । के पत्रकार ? के प्राध्यापक ? एमालेसँग नजिक मानिएकाहरूका टाउको फुटाइहाले वाइसियलका लड्काहरूले । तर युथफोर्सकाहरूले पनि प्रयास त गरेका हुन खासै जोड चलेन बिचराहरूको ! जेहोस् झडप भयो । दुबैतिर घाइतेहरू पनि ।
यो तस्बीर अदालत अगाडिको हो, मैले अगाडि नै उल्लेख गरिसकेँ । अदालत अर्थात न्यायलय । कसैले गल्ति गर्यो भने वा सार्वजनिक गालि बेइज्जती गर्यो भने वा अन्याय गर्यो भने पिडकका बिरूद्द मुद्दा दायर गर्न सकिने ठाउँ ! तर त्यो दिन सामाजिक न्यायको सिद्दान्तले काम गरेन । हरिकृष्ण श्रेष्ठले गलत बोलेकै भए पनि सार्वजनिक गालि बेइज्जतीको मुद्दा दायर गर्न सकिन्थ्यो तर स्थिती झडपको बन्यो । राजनीतिका नाममा युवाहरूलार्इ युवाहरूकै टाउको फुटाउन लगाइयो । र सम्माननिय न्यायलयको अगाडिको सडकको हविगति यस्तो रह्यो !
फोटो श्रोतः बेनीअनलाइन डटकम डट एनपी
दाहिनेपट्टी राखिएको तस्बीर हो पत्रकार अमृत बास्कुनेको । जुन दिन उनी सख्त घाइते बनाइएका थिए, वाइसियलका युवाहरूबाट । निर्घात कुटपिटको शिकार भए उनी र उपचारका लागि पोखरा जानु पर्ने स्थिती सम्म बन्यो । टाउकोमा एकदर्जन भन्दा बढी टाँका लगाउनु पर्ने तरिकाले पिटिएका थिए उनी । आरोप थियो - एमालेको मतियार ! यस्तै बिच सडकमा भकुन्डो खेलिए एक जना प्राध्यापक । स्थानीय रूप्से साप्ताहिक प्रधान सम्पादक तथा म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्मा । क्याम्पसमै अध्ययनरत तर वाइसियल सम्बद्द युवाहरूले लात्तैलात्ताले भकुरे । जबकी यसरी पिटिन्छु भन्ने पूर्व अनुमानै थिएन बास्कुने र शर्मा दुवैजनाले । बास्कुने क्यामेरा लिएर कुदिरहेका थिए, घटना बिवरण सम्प्रेषणका लागि । र, शर्मा चाँहि बजारको वातावरण के कस्तो भैरहेछ भनेर अवलोकन गर्न निस्केका थिए, आफ्ना केही प्राध्यापक साथीहरूसँग । तर बिडम्बना यो घटनाका शिकार हुन पुगे दुर्इजना पनि !
के अबका जिल्ला परिषदहरू पनि यस्तै हविगतिबाट गुज्रिएलान् ? वा जिल्ला परिषदमा साँच्चिकै जिल्लाको बिकासका लागि योजनाहरूको तर्जुमा गरिएला ? मेरो प्रश्न – दलका नेताहरूलार्इ, बुज्रुकहरूलार्इ । र, युवाहरूलार्इ ! 

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)