बाल सैन्य भर्ना बन्द गर !


सिरिया-लियोनमा भेटिएका एक बाल सैन्य फोटोः गुगल
आमा बजार गएर आउँदाको दिन एक पोका पाउरोटी नलिइकन आउँदा म आमासँग २ दिनसम्म घुर्कि लाएर नबोलीकन बस्थेँ । मलार्इ अझै याद छ, बाबाले चाइनिज फाउन्टेन कलम ल्याइदिन्छु भनि बिर्सेर नल्याइकन आउँदाका दिन म उहाँसँग झगडा गरेको थियो । भार्इलार्इ अलिकति बढी माया गरेको जस्तो लाग्यो भने म पस्केको खाना छाडेर उठ्थेँ । र, मलार्इ राम्ररी याद छ- स्कुलबाट एक बजे छुट्टीको बेला मामाघर जाँदा बोर्इले भातसँग खाने दुधको तर (कतै कतै मलाइ पनि भन्छन् सायद) नराखिदिदा, हजुर मेरो बोर्इ नै हैन भनि ३/४ दिनसम्म बोर्इको घरमा पस्दा पनि पस्ने थिइँन । अर्थात म सानो छँदा मेरो बाल्यकाल थियो । म सँग सुरक्षित थियो- मेरो बाल्यकाल ! म रूँदा फकाउने मेरा बाबाआमा र आफन्तहरू थिए । खेल्नलार्इ साथीहरू थिए । साथीहरूसँग खेलेको र बनभोज गएको मैले कसरी बिर्सन सक्छु ? मेरो छुट्टै संसार थियो । प्रायःजसो खुशीले भरिपूर्ण थियो, मेरो बाल्यकाल !
माओवादी युद्दकालमा एक बालसैन्य । फोटोः Flickr
मेरो बाल्यकालको समय बित्यो, म अहिले युवा छु । २४ वटा हिउँद पार गरिसकेँ, २५ मा चल्दैछु । आज नौ वर्षका बालबालिकाहरू बन्दुक बोकेर युद्दमा लड्दै छन रे भन्ने तथ्य थाहा पाउँदा मलार्इ दुःख लाग्छ । मेरो मन पोल्छ । म कल्पना पनि गर्न सक्दिन, एउटा नौ/दश वर्षे बालक बन्दुक समातेर रणभूमीमा गोली चलार्इरहेको क्षण । तथापि यो वास्तविकतालार्इ हामी कसैले पनि नकार्न सक्दैनौं । विश्वभर ३ लाख भन्दा बढी बालबालिकाहरू युद्दमैदानमा उतारिएको कुरूप चित्रलार्इ विभिन्न अध्ययन अनुसन्धानले प्रकाशमा ल्याइसकेका छन् । बालबालिकाहरूलार्इ सहज रूपमा फकाउन वा धम्काउन सकिने भएकाले प्रायःजसो भूमिगत संगठनहरूले बालबालिकाहरूलार्इ युद्दमा प्रयोग गर्दै आएका छन् । ति बालबालिकाहरूलार्इ खुशिको अर्थ थाहा छैन, थाहा छ त केबल कसरी बन्दुक चलाउने र हत्या गर्ने ! अध्ययन कार्यमा सरिक भै आफ्नो सुन्दर भविष्यको मार्गचित्र कोर्नु पर्ने समयमा बन्दुकधारी समूहहरूले बालबालिकाहरूलार्इ नारकिय जीवन जिउन बाध्य तुल्याएका छन् । ती बालबालिकाहरूलार्इ बाल्यकालको खास अर्थ थाहा छैन् । तपाइँ कल्पना गर्नुस त, यदि त्यो ठाउँमा तपाइँ हाम्रा साना भाइबैनीहरू हुन्थे भने हामीलार्इ कति नरमाइलो लाग्थ्यो होला ?
युद्दमा प्रयोग गरिने बालिकाहरूको अवस्था अझ कहालिलाग्दो भएको विभिन्न अनुसन्धानहरूले पुष्टी गरेका छन् । बालिकाहरूलार्इ युद्दमा सैनिकको मात्र भूमिका नदिइ, जबरजस्ती करणी वा बिबाहका लागि बाध्य पारिन्छ । उनीहरूको काम ती युद्द समूहका नाइकेहरूको यौन प्यास मेटाउने मात्र नभर्इ खाना पकाउने र ख्वाउने पनि हुन्छ । र, विभिन्न तथ्यहरूले यो पनि देखाउँछ कि कुल बालसैन्यहरूको संख्या मध्ये ४० प्रतिशत संख्या बालिकाहरूको छ । त्यसैले, समयमै हामी सबै सचेत हुनु आवश्यक छ । युद्दमा हुँदै आएको बालबालिकाहरूको प्रयोगका बिरूद्द एक भएर उभ्भिनु हामी सबै सचेत मानिसहरूको जिम्मेवारी हो । आउनुस्, हामी सबैले आफ्नो ठाउँबाट गर्न सकिने सहयोगका लागि साझा संकल्प गरौं ।
बालसैन्य भर्ना बिरूद्दको अभियानमा सहभागि हुनका लागि यहाँले तलका दुर्इ विकल्पहरू रोज्न सक्नुहुने पनि सहर्ष जानकारी गराउँछु ।
१) फेब्रुअरी १२ अर्थात रेड ह्यान्ड डे दिन सम्मका लागि यहाँको फेसबुक, ट्विटर वा माइस्पेस जस्ता सामाजिक सञ्जालहरूको प्रोफाइल तस्बीरमा रेड ह्यान्ड तस्बीर राखेको । यहाँहरूको सहजताका लागि एउटा तस्बीर तल राखिएको छ ।
२) फेसबुकमा तयार पारिएको एक अनलाइन कार्यक्रम मा सहभागि भर्इ, आफ्ना साथीहरूलार्इ पनि प्रोफाइल तस्बीर परिवर्तन गर्न अनुरोध गरेर ।
हामीले त आफ्नो बाल्यकाल हाँसी खुशी बितायौं, अब हाम्रो जिम्मेवारी भनेको हाम्रा भार्इबैनीहरूको बाल्यकाल हाम्रो भन्दा पनि उच्चस्तरले बितोस भनि सृजनात्मक काम गर्नु नै हो ।
आउनुस् बाल शैन्य भर्ना बिरूद्द एक भएर उभ्भियौ‌ ।




Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)