बुझ्नै नसकिने दूर्बोध्य पत्रकारहरू

सबैभन्दा दुर्बोध्य विशेषता बोकेका मानिसहरू कुन पेशामा हुन्छन् भनेर कसैले मलार्इ प्रश्न गर्यो भने मेरो जवाफ हुनेछ, पत्रकारिता ! जुन वयदेखि म यो पेशासँगको सानिन्ध्यताबाटै गुज्रिएर आउने मौका पाएको छु, त्यतिञ्जेलदेखि मैले बुझ्नै नसकेका मानिसहरू भेला हुने ठाउँ भनेकै सञ्चार गृह हो । खासगरि यहाँ मैले यस्ता मान्छे भेटेको छु, जसको नजरमा आज एउटा कुरा अति सत्य हुन्छ, र त्यही विषय वा प्रसङ्ग भोली अत्यन्तै असत्य बन्न सक्दछ । यो यस्तो चौरस्ता हो जहाँ विषयको विश्लेषण गर्न सक्ने कसिलो क्षमता भएका मानिसहरू भेला हुन्छन् र आफ्ना स्वार्थ अनुकुलका विश्लेषणमा रमाउँछन् । अरूलार्इ पनि उसै अनुकुलको बुझार्इका लागि उत्प्रेरित गर्दछन् ।
यो पेशासँग आबद्द ब्यक्तिहरूबीच सर्वाधिक प्रतिस्पर्धा हुन्छ । एकले अर्काको प्रगति देख्न वा स्वीकार्नै नसक्ने खतरनाक प्रवृती यसमा संलग्न ब्यक्तिहरूमा नै हुन्छ । सिधा अर्थमा भन्दा, जसरी हुन्छ एक भन्दा अर्को विशेष देखिनै पर्ने वा 'आफ्नो सहकर्मीभन्दा उच्चकोटीको पत्रकार मै हुँ भन्ने' वातावरण तयार पार्न उल्टो, सुल्टो, थ्याप्चो वा च्याप्टो जस्तो सुकै काम गर्न पनि कसर नराख्ने भयानक विशेषता भएका मानिसहरू नै पत्रकार हुने हैसियत राख्दछन् । सोझो चरित्रको, कसैको टाङ्मुनी छिर्न नसक्ने, राजनैतिक दलको प्रवक्ताको काम गर्न नसक्ने, प्रहरी प्रशासनका अधिकारीहरूसँग थुतुनो मिलाउन नसक्ने मान्छे यो पेशामा गयो भने त्यो मान्छे कहिल्यै उभोँ नपर्ने गरि उत्तानो पर्यो भन्ने जाने हुन्छ । अर्थात औलो सोझो पारेर घिउ निकाल्छु भन्ने स्तरको चेतना भएको मान्छे यो पेशामा लाग्दै नलागेको बेश ! अष्टबक्रजस्तो आठ ठाउँमा भाँचिएको स्वरूपको मगज बोकेकाहरूले गरि खाने पेशा हो यो । बोलेर पैसा कमाइने यो पेशामा के बोल्दा पैसा कमाइन्छ, कसरी पहुँचको क्षेत्रलार्इ विस्तार गर्न सकिन्छ, कुन राजनैतिक दलको पुच्छर भएपछि बैतर्णी तरिएला भन्ने हेक्का नभएको मान्छे यो कठिन पेशामा हामफाल्नु भनेको जानी जानी आत्मदाह गर्नु सरह नै हो ।
यो गाइजात्रे पेशा नै हो । अरूका कुसंस्कार र गलत अभ्यासका बारेमा कलम चलाउनेहरूले आफ्नै छाता संगठनभित्रको गलत राजनैतिक अभ्यासलार्इ विश्लेषण गर्दैनन् । यो लेख पढ्दै गरेकाहरू मध्य कतिलार्इ हेक्का छ कुन्नी पत्रकारहरूको हक हित र पेशागत सुरक्षाको ग्यारेन्टीका लागि वकालत गर्ने उनीहरूको एउटा छाता संगठन हुन्छ, जसलार्इ
पत्रकार महासंघ भनिन्छ । यसका बाबजुद पत्रकारितालार्इ पेशा बनाएका व्यक्तिहरूको पेशागत क्षमता अभिवृद्भि तथा नेतृत्व बिकासका लागि पहलकदमी गर्नु पनि यसको अर्को महत्वपूर्ण उद्देश्य हो । साथै यो छाता संगठनको अर्को बिशेष उद्देश्य फरक विचार र क्षमताको पृष्ठभूमी भएका पत्रकारहरूलार्इ एकै छाना मुनी ल्याएर आफ्ना आवाजलार्इ एकिकृत गर्नु पनि हो । तर जब यो छाता संगठनको नेतृत्वका लागि निर्वाचनको समय हुन्छ, यिनीहरूको रमिता हेर्न लायकको हुन्छ । राजनैतिक दलका गैर्हराजनीतिक कृयाकलापका बिरूद्द कलम चलाउने यिनका हातहरू फरक बिचार र आस्था बोकेकाहरूलार्इ लघार्न प्रयोग हुन्छन् । यिनीहरूबीच रस्साकस्सी पर्छ । त्यहाँ कोही पत्रकार हुँदैनन् । सबैले पत्रकारको हेसियत गुमाइसकेका हुन्छन् । लाग्छ, उनीहरू कुनै संसदिय निर्वाचन क्षेत्रमा निर्वाचन लडिरहेका दलका उम्मेदवार र कार्यकर्ताहरू हुन वा कलेज तथा विश्वविध्यालयमा हुने स्वबियू निर्वाचनका लागि उम्मेरदवारी दिएका राजनैतिक दलका भार्तृसंगठनका उम्मेदवारहरू हुन । आफू र आफ्नो पक्षले सकेसम्म नेतृत्व सहितको प्यानलै हत्याउने, त्यो सम्भव नभए नेतृत्व र केहि मुख्य जिम्मेवारीको पद लुट्ने त्यो पनि सम्भव नभए जसरी हुन्छ आफ्नो अभिष्ट पूरा गर्ने । अब त्यो पनि सम्भव नभए निर्वाचन बहिष्कार गर्ने वा मतपेटिका लुट्ने अथवा माइन्यूट र अन्य कागजात कब्जामा पार्ने अनि हल्लिखल्ली गर्ने ।
सायद, यहाँहरू मध्ये धेरैले थाहा पाउनु भएको होला बागलुङ जिल्लामा भएको पत्रकार महासंघको निर्वाचनका बारेमा । किन थाहा पाउनु ? जगै हसाउने गाइजात्रा भएपछि, थाहा नपाउने को बाँकी हुन्छ र ? छाता संगठन भैसकेपछि बिचार र आस्था अनुरूपको संगठनमा आबद्दभएका पत्रकारका समूहहरूको हैसियत अनुसारको पदिय जिम्मेवारी बाँडफाँड गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको भए कति जाति हुन्थ्यो होला ? तर त्यसो गर्नुको साटो सबै पक्षलार्इ सभापति चाहिने ? लेख्ने बेलामा दलका नेताहरूले प्रधानमन्त्री हुने अभिष्टका बिरूद्दमा लेख्ने, दलका नेताहरूमा सत्तालिप्सा प्रवृती देखियो भनेर उछितो काढ्ने, अनि आफूहरूको निर्वाचन आउँदा चाँहि सभापतिकै लागि मरिहत्ते गर्ने ? मुख्य जिम्मेवारीको पदहरू आफ्नै भागमा पर्नुपर्छ भन्ने ? अरूहरूले यसो गरे र उसो गरे भन्दै औला ठड्याउने, आफूहरू चाँहि नेतृत्वका लागि घम्सघम्सी गर्ने ! यो कहाँसम्मको कन्तबिजोग कुरा हो ? महासंघ भनेको संघहरूको एकिकृत रूप हैन ? यहाँ फरक फरक विचार भएका मानिसहरू अटाउनु पर्छ कि पर्दैन ? केही पक्षहरू मिलेर अर्को पक्षलार्इ अलग्याएर, एक्लो पारेर आफू र आफ्ना इतरका विचार मिल्नेहरूलार्इ मात्र समाविष्ट गरेर महासंघको गठन भयो भन्ने पुष्ट्याइ कसरी गर्लान बागलुङे पत्रकारहरूले त्यो त आफै जानुन । तथापि पत्रकारहरूबीच राजनैतिक विचार र समर्थनका आधारमा बढ्दै गएको दुरी भने गम्भीर चिन्ताको विषय हो ।
Post a Comment

Popular Posts