हत्तेरि एकछिन पर्खनुस न !


युवा स्वयंसेवकका रुपमा नर्वे आएपछि मैले धेरै कुराहरु सिक्ने मौका पाएको छु । बाटोमा हिड्दा होस या कुनै सभामा सहभागी हुँदा, चाहे पसलमा सामान किन्न जाँदा होस या बसमा चढ्दा । प्रत्येक पल्ट नयाँ कुराहरु अनुभव गर्ने अवसरहरु मिल्दै आएको छ, मलाई । त्यसैले, आफूले अनुभूत गरेका दुईचार कुराहरुलाई यस  ब्लग मार्फत बाड्न मात्र खोजेको हुँ ।
मलाई अचम्म लागिरहेको छ, मान्छेको संस्कार भन्ने कुरो । यो हत्तपत्त त्यसै नभूलिने विषय रहेछ । हरेकपल्टक कुनै पनि कार्यसम्पादन गर्दा मैले अनुभूत गरेका थुप्रै त्यस्ता अनुभूतीहरु छन् मसँग जसमा सगैँ मैले मेरो समाजमा सिकेको संस्कार जोडिएर आउँछ । अनि जब गल्ती महशुस हुन्छ म भुतुक्कै हुन्छु । तत्काल त्यो गल्तीलाई म सच्याउने प्रयत्न गर्दछु । र, प्रतिज्ञा पनि कि त्यही गल्ती म पटक पटक दोहोर्याउने छैन । तर ती त्यसरी नै त्यही रुपमा घटिरहेकै हुन्छन । सायद यसैले नै होला हामी नेपालीहरुले धेरै पहिले देखी भन्दै आएको, नानीदेखि लागेको बानी सिस्नोपानी लाउँदा नी नजानी ।
नर्वे आएको पहिलो हप्ता चल्दै थियो । रुवान्डा, सुडान र नेपालबाट आएकी युवा स्वयंसेवक प्रजु गुरुङ गरी हामी छ जना युवा स्वयंसेवकहरु आफूलाइ आवश्यक पर्ने सामाग्री खरिदका लागि ओश्लो शहरको मुख्य व्यापारिक केन्द्रमा गएका थियौं । मलाई चाँहि कम्प्यूटरका लागि आवश्यक पर्ने हेडसेट किन्नुपर्ने थियो । हामी अति नै हतारमा थियौं । सामान किन्नका लागी छुट्टिनु भन्दा पहिले हामीले २५ मिनेटभित्रमा आवश्यक सामान किनीवरी गेटमा भेट्ने योजना पनि बनाएका थियौ । साथीहरुसँग छुट्टिएपछि म कम्प्यूटरसँग सम्बन्धित सामाग्री पाइने पसलको खोजीमा भौतारिएँ । केहि समय भौतारिए पछि बल्ल मोवाइल, आइपड तथा एअरफोन झुण्ड्याएको एउटा पसल देखेँ । पसले एकजना ग्राहकसँग कुरा गरिरहेको देखेपछि एकछिन आफ्नो पालो पर्खेँ । उनीहरुबीचको गफ लम्बिदै गएपछि मैले सोचेँ, मलाई त हेडसेट किन्नुछ । त्यहाँ मैले हेडसेट देखिरहेको थिईन । त्यसैले लाग्यो, सोधी हेरौं न त के भन्छ पसले ? मैले सोधेँ पनि, एस्क्यूज मी । मेरो अपेक्षा विपरित पसलेले मलाई जवाफ फर्कायो– “तिमीभन्दा पहिले आएको ग्राहकसँग म कुरा गरिहेको छु, त्यसैले तिमीले एकछिन धैर्य गर्नुपर्छ ।” मैले उसको कुरा बुझेको बताउँदै भनेँ, “तर मलाई यत्ति भनिदिनुस कि हजुरको स्टोरमा कम्प्यूटरमा जोड्ने हेडसेट पाइन्छ कि पाइँदैन ।” त्यसपछि उसले
झनै बेपर्वाह ढंगले मलाई जबाफ फर्कायो, “माफ गर्नुहोला, अझै तपाइँको पालो आएको छैन ।” म चुपचाप ती दुईबीचको कुराकानी सुन्न विवश भएँ । केहि समयपछि कुरा सिध्याएर उसले बल्ल मलाई सोध्यो, अँ तपाइँलाई के चाहिएको रे ? मैले जवाफ दिएँ, कम्प्यूटरमा जोड्ने हेडसेट । उसले फेरि प्रश्न गर्यो, ए, त्यो च्याट गर्नका लागि हो ? माइक्रोफोन सहितको ? मैले टाउँको हल्लाए, अँ हो । उसले जवाफ दियो, “ला हामीसँग त अहिले सिद्धियो नी । माथिल्लो चौथो तलामा हाम्रो भन्दा ठूलो स्टोर छ, त्यहाँ जानुस पक्कै पाउनुहुनेछ ।” साथीहरुसँग भेट्ने भनी तोकेको समय लगभग सिद्धिन लागिसकेको छ । मलाई झन्का छुटेर आयो । लाग्यो, यत्रोबेलासम्म पर्खाएर छैन भन्ने ? मनमा जे लागे पनि यो उसको संस्कार थियो, र जे जसरी भएपनि मैले त्यो पछ्याउनै पर्छ ।
त्यो दिन म सरासर चौथो तल्लामा पुगेँ र आफूलाई चाहिएको हेडसेट लिएर आएँ । कोठामा फर्किसकेपछि, मैले त्यो घटनालाई निकैबेरसम्म मनमा खेलाईराखेँ । शुरुमा त पसलेप्रति सारै रिस पनि उठ्यो । त्यत्रो बेरसम्म पर्खाएर, छैन भन्ने ? तर पछि जब मैले घटनालाई अझ विश्लेषण गर्दै गएँ, अनि लाग्यो यसको यो संस्कारबाट मैले सिकेँ भने मलाई नै फाइदा हुन्छ । साँच्चिकै सबै मान्छेहरुको मनमा पालो मिच्न हुन्न भन्नेकुराको गहिरो छाप पर्यो भने राम्रै त हुन्छ नी । यो पनि एउटा राम्रो संस्कार त हो नि । हाम्रोमा त सबै मान्छे हामीहरु आफूलाई मात्र हतार र चटारो परेको ठान्छौं । तर कहिल्यै पनि आफूलाई जस्तो हतार अरुलाई पनि भएको होला भनेर सोच्दैन । सायद त्यही कुराको कमी थियो ममा । र, त्यसदिन मैले ती दुईबीचको कुराकानीमा अवरोध गर्न खोजेँ । अहिले सम्झदा ग्लानी हुन्छ । मनमा शंका पनि उब्जन्छ, कतै म नेपाली भएको थाहा पाएर अब सबै नेपालीप्रति हेर्ने उसको धारणामा त बदलाव आएन ? तर जेहोस् त्यसदिनको घटनाले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको मैले महशुस गरेको छु । अहिले आफ्नो पालोको विषयमा अलि चनाखो हुन थालेको छु । र, कम्तीमा पनि मजस्तै हरेक मान्छेहरु व्यस्त छन् र उनीहरुलाई पनि समयको अति महत्व छ भन्ने कुरालाई मनन गर्न थालेको छु । र, मलाई लाग्दछ, सधैं पालो मिच्न खोज्ने र आफूलाई मात्र व्यस्त र समयको महत्व बुझेको ठम्माई भएका म जस्तै थुप्रै नेपाली दाजुभाइ तथा दिदीबैनीहरुले यो संस्कारबाट केहि सिक्नु आवश्यक छ ।
Post a Comment