Skip to main content

नकाबधारी, चोरीकाण्ड र एउटा मान्छे

बेनी सानो ठाउँ, सानै खबरले पनि खुब तात्तिने गर्छ, मेरो अनुभवले यहि भन्छ । यो त घटना नै गम्भीर छ । घटनासँग सम्बन्धित भनिएका पात्रहरुको बारेमा एकखालको चर्चा बाहिर आएपछि मैले यो घटनालाई गम्भीर हैन भनेर ठोकुवा गर्न चाहिनँ । विषय जति गम्भीर छ, विषयसँग सम्बन्धित उत्प्रेरकका विषयमा भएको चर्चाले मलाई थुप्रै प्रसंगहरु उठान गर्न मन लाग्यो । 
चोरी सानो होस् वा ठूलो त्यो चोरी नै हो । र, यो एक सामाजिक अपराध पनि । पछिल्लो समय, बाबियाचौर चोरी काण्डले चोरीकाण्डमा जुन संस्थागत संलग्नता समेत रहन आएको कुरा खुलासा गरेको छ, त्यसले पक्कै पनि आम मानिसहरुको एउटा जिम्मेवार पार्टी पंक्तीप्रति नै नकारात्मक धारणा विकाश हुन गएको छ । घटनाको सतही जानकारीबाट नै एक सचेत नागरिकले निक्र्यौल गर्न सक्दछ कि लाखौंको धनमाल लुटपाट गर्नमा सानो वा कमजोर समूहले आँट गर्न सक्दैन । पक्कै पनि त्यो समूह पेशेवर हो र एउटा सशक्त समूह पनि । चोरीमा कसको के कस्तो संलग्नता थियो वा छ त्यो विषयमा भन्दा पनि घटनामा संलग्न ब्यक्तिले किन एक जिम्मेवार दलका जिम्मेवार नेताको संलग्नता समेत थियो भनेर बयान दिए सन्दर्भ बिचारणीय छ । खैर, यो विषयलाई यहाँ उति प्राथमिकतापूर्वक उठान नगर्दै वेश होला । प्रहरीले घटनाका विषयमा अनुसन्धान गर्दै गरेको विषय रहेकाले बरु यो घटनाले यस पूर्व भएका केहि महत्वपूर्ण चोरीका घटनाहरुको पनि भेद खुलाउनेमा हामीले आशा ब्यक्त गर्न सक्दछौं । 
एकाएक घटनामा संलग्न भनिएका माओवादी कार्यकर्ता कमल किसानको पक्राउसँगै माओवादी जिल्ला सेक्रेटरी लालु किसानलाई समेत घटनामा संलग्न रहेको आरोप लाग्नुलाई हल्का रुपले लिनु कुनैपनि हिसावले उपयुक्त नहुन सक्दछ । चोरीको घटनामा लालुको संलग्नताको विषयले उनको राजनैतिक भविष्यमा समेत प्रश्न चिन्ह लगाएको छ । बन्द संघर्षको लामो राजनैतिक पृष्ठभूमीबाट खुला राजनीतिको मैदानमा प्रवेश गरेको माओवादीका कार्यकर्ताहरु यस्ता आपराधिक घटनामा संलग्न हुनु हरहालतमा शोभनीय विषय हुन सक्तैन अझ त्यसमा पनि पार्टीको महत्वपूर्ण पदमा आसिन ब्यक्तिलाई यस्ता घटनाहरुमा संलग्नताको आरोप लाग्नु कति गम्भीर विषय हो त्यो त आउँदा दिनले नै बताउने छन् ।
मानौं कि यो घटनामा उनको संलग्नता थिएन, तथापि उनकै पूर्व अंगरक्षक रहेको भनिएका कमल किसानको संलग्नताले यो घटनालाई थप गम्भीर बनाइदिएको छ । चोरी काण्डमा संलग्न रहेको आरोपमा कमल किसान जिल्ला कार्यालयबाटै पक्राउ पर्नुलाई आम मानिसले कसरी बुझ्ने ? यो विषयमा म्याग्दीको माओवादी नेतृत्वले जिम्मेवारीपूर्वक जवाफ दिनु पर्ला कि नपर्ला ? 
उसो त माओवादीहरु सशस्त्र युद्दको पृष्ठभूमीबाट आएको भएर हो कि के हो उनीहरुलाइ केहि आरोप लाग्दा बित्तिकै त्यसको न्यायिक छानबीनको सट्टा उग्रप्रतिकारमा आइहाल्ने । मानौं कि उनीहरु सप्पैलाई उच्च रक्तचापको समस्या छ । आज यो विषयमा लेखिरहँदा एक वर्ष पहिलेको दृश्य मेरो मानशपटलमा छायो । एमाले म्याग्दीका हरिकृष्ण श्रेष्ठले जिल्ला परिषदको सभामा मन्तब्य राख्दै, यार्सागुम्बु तस्करीमा सभासद गोविन्द पौडेलको संलग्नता रहेको कुरा छापामा आएको कुरा उल्लेख गर्दा मन्चमै आशिन माओवादीका एक भद्र प्रतिनीधीले कुर्सी उठाएर श्रेष्ठलाई दन्काइ हालेछन् । रगत पनि कति तातो हो ? कसैले केहि भन्यो कि त जंगिहाल्नु पर्ने । के यसको सट्टा श्रेष्ठलाई उनले लगाएको आरोप पुष्टीका लागि चूनौती पेश गर्न सम्भव थिएन होला त ? सार्वजनिक ठाउँमा एउटा जघन्य अपराधमा आरोप लगाउने ब्यक्तिलाई न्यायलयमा उभ्याउन सम्भव थिएन होला त ? आखिर कुर्सीले प्रहार गरेर त्यो आरोप यथार्थ हो हैं भन्ने भान आम नागरिकमा पर्न गयो कि गएन ? एउटा जिम्मेवार दलका नेताहरुले यसरी केटाकेटी पारा देखाउनु शोभनीय विषय हो त ? हो दुरुस्तै त्यहि घटनाको अर्को संस्करण बन्ने खतरा बढाएको छ, यो पछिल्लो घटनाले पनि । 
आरोप लागिसके पछि आरोपको सामना गर्दै त्यसको पुष्टीका लागि आरोप लगाउने निकायलाई चूनौती दिनुको साटो सबैपक्षबाट एक्लिएर जान खोज्नु त्यो कसरी बुद्धिमत्तायुक्त निर्णय हुन सक्ला ? सबैले ख्याल गर्नु पर्ने विषय के हो भने, यो चराचर जगतमा कोही पनि मनुवा दुधले नुहाएको छैन । जीवनमा कुनैपनि आरोप नलागेको मनुवा सायदै कोही होला । हिजो विभिन्न आरोप लागेका गिरीजाप्रसाद कोइरालालाई यो इतिहासले नेपाली राजनीतिको महानायक साबित गरिदियो । उनले जति बिबादास्पद जिन्दगी बाँचे, त्यति नै सम्मानपूर्वक मृत्यु मरेर गए । लाउडा, धमिजा र टनकपूरजस्ता चर्चित काण्डमा मुछिएका गिरीजा कसरी महानायक भए ? यसको हेक्का राख्नु पर्छ म्याग्दी माओवादी नेतृत्वले । बिबादमा तानिनु, आरोप लाग्नु असामान्य घटना होइन, बरु लागेका आरोपबाट भाग्न खोज्नु र आरोपको पुष्ट्याइका लागि आरोप लगाउनेहरुलाई चूनौती दिने साहस गर्न नसक्नु कायरताका महत्वपूर्ण उदाहरणहरु हुन । 
जिल्ला बिकास निर्माणका कार्यक्रमहरुको योजना तर्जूमा नै अप्ठ्यारो पर्ने गरी साझा संयन्त्रबाट अलग्गिएको घोषणाबाट खास कुन तथ्यलाई प्रमाणित गर्न खोजिरहेको छ म्याग्दी माओवादी ? यतिखेर धेरै मानिसहरु बिलखबन्दमा परेका हुन सक्लान । यदि यो घटनामा लालुको संलग्नता छैन भने उनले प्रहरीकोमा उपस्थित भै घटनाको अनुसन्धानका लागि सहज वातावरण बनाउनु बुद्धिमानी ठहरिएला । हरेक घटनालाई राजनीतिक प्रतिष्ठासँग जोड्न खोज्नु सायद उत्तम विकल्प होइन । र, यदि यो घटनामा उनको संलग्नता प्रमाणित भएमा उनको लागि यस घटनाबाट पाठ सिकेर आफ्नो सुदुर राजनैतिक भविष्यको मार्गचित्र कोर्ने साहस गर्ने उत्तम अवसर समेत रहने सम्भावनालाई नकार्न सकिदैन । यहाँ हामीले भूल्न नहुने कुरा के हो भने, गल्ती जो बाट पनि हुन सक्दछ, तर गल्तीको महशुस गरी त्यसबाट पाठ सिकेर अगाडि बढ्ने साहस झिक्ने मानिस नै वास्तवमा महान हुन्छ ।

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…