संग्रहालयमा (कविता)

'उ त्यो डोरीमा
लहरै झुण्डाएको देखिस्?
हो, तीनै हुन् –
मादल, मुर्चुङ्गा र डम्फू
सारंगी, मुरली र दमाहा
सहनार्इ, ट्याम्को र ढोलक
तैलें कहाँ सुन्न पाइँस र, बाबै?
कति मीठा निस्कन्थे यीबाट,
फुक्दा, ठोक्दा र बजाउँदा
धूनहरू!'

पल्तिर कुनामा
धमीराले चिथोरेको दराजका
टक्टाउँदै मैलालुगाहरू
नातीलार्इ अर्थ्याउँदै छु म –
'धाननाच, रोपाइनाच
सेलो र मारूनीनाच
हिमाली आँगनीमा नाचिने
हाम्रा भोटेनीका शेर्पानाच
देउडा र माघीमा नाच्दा
उहिले-उहिलेका नतर्कीहरूले
पहिरिने भेष हुन – अमूल्य यी!
बुझिस् केटा?'

'हेर्दा पनि शीतल हुने,
साक्षात देख्दाको आनन्द के थाहा?
ह्योल्मो, रूप्से र पाताले छाँगो
रारा, बेगनाश र बुलबुल
फोक्शुन्डो, फेवा र तिलिचो
यिनकै नीला लहरहरूमा
पौडेर नथाक्ने यी –
अन्नपूर्ण, चोयू, कन्चनजंगा
धवलागिरि, माछापुच्छ्रे र सगरमाथा
'नाति केटालार्इ म किन नभनूँ?
अनुपम तालका नीला गहिरार्इमा
डुबुल्की मार्दा आँखाले,
सुन्दर हिमालका उचार्इ
जब नाप्न खोज्थे पैतालाहरूले
कि, फुल्थे गर्वले कति, हाम्रा नेपाली छाति?'

आज धर्म, संस्कृती र पहिचान
सबै हराएका बखत
हेरिरहेछ मेरो नाति केटा
भित्तामा सजाइएका फ्रेमहरू –
जामे, स्वयम्भू र स्वर्गद्भारी
मुक्तिनाथ, मनकामना र पशुपतिनाथ
र, जान्न खोजिरहेछ-
हैन कसले लुटेछ हाम्रो धर्म?
कहिले हराएछ हाम्रो सभ्यता?
किन बिलाएछ हाम्रो पहिचान?
त्यसैले त खोज्दैछु यो बुढ्यौलीमा,
सँगसँगै नातिसँग-
भाका, बाजा
नचरी, भेष
बिबिधता र एकता!

खोजिरहेछु, यो संग्रहालयमा –
म 'मेरो युग र मलार्इ' खोजिरहेछु !
Post a Comment