बग्रेल्ती साहित्यिक समाज, भानु जयन्ती र साहित्यकारहरु

नेपाली साहित्यमा आदिकवी भनेर चिनिने भानुभक्तको जन्मजयन्ती प्रत्येक वर्ष आषाढ २९ गते पर्दछ भन्ने कुराको हेक्का म्याग्दीका थुप्रै साहित्यकारलाई थाहा रहेनछ भन्ने तथ्य मैले त्यतिखेर थाहा पाएँ, जतिखेर १९८ औं भानु जयन्तीका अवसर पारी तय गरिएको कार्यक्रमको निमन्त्रणाका लागि उनीहरुसँग मैले फोन सम्पर्क गर्नु प¥यो । हुन त यस सम्बन्धमा मेरो केहि ब्यक्तिगत गुनासो छैन । र, मलाई यो पनि थाहा छैन कि भानुजयन्ती, लक्ष्मीजयन्ती र भुपीजयन्ती जस्ता दिवसहरु साहित्यकर्ममा लागेकाहरुका लागि महत्वपुर्ण हुन वा हैनन तर मलाई राम्ररी के थाहा छ भने साहित्यकर्ममा लागेकाहरुले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका माथि उल्लेखित मूर्धन्य साहित्यकारहरुका जन्मजयन्तीका सम्बन्धमा समेत हेक्का नराख्नु लाजमर्दो बिषय चाँहि अवश्य हो ।
हुन त भानु जयन्ती मनाउने सन्दर्भमा पनि म्याग्दीमा छन भनिएका आधा दर्जन कुनै पनि साहित्यिक संस्थाहरुको संस्थागत निर्णयबाट भने भएको हैन । म्याग्दीका क्रियाशिल साहित्यकारद्धय ध्रुबलाल शर्मा र अजयमिलन श्रेष्ठसँग यस पंक्तिकारले बिशेष सम्पर्क र समन्वय गरे पश्चात उक्त कार्यक्रम सम्भव भएको हो । हुन त त्यस कार्यक्रमहरुको आयोजनमा हामीले हामी संलग्न संस्थाको नाम आयोजकमा उल्लेख गरिएको ब्यानर मुनि बसेर नै गरेको हो तर कार्यक्रम संचालनमा आफ्नो कुनै पनि खाले भूमिका निर्वाह नगरेका केही साहित्यिक संस्थाका मुख्य जिम्मेवार भन्ने गरिएका सदस्यहरुले विभिन्न समस्या दर्शाउँदै कार्यक्रममा उपस्थिती समेत जनाएनन् । जब एउटा साहित्यकारले नेपाली साहित्यका एक महान साहित्यकारको जन्मजयन्तीका अवसरमा उपस्थिती समेत जनाउन सक्दैन भने त्यसलाई हामीले कुन दृष्ट्रिकोणबाट ब्याख्या गर्ने ? म नाजवाफ छु ।
कुनैपनि साहित्यिक संस्थाको गठनमा मेरो कुनैप्रकारको संलग्नता नरहेकाले म त्यस्ता साहित्यिक संस्था किन र के उद्देश्यले अभिप्रेरित भै विधिवत रुपमा दर्ता भै गठन भए भन्ने कुरामा उती जानकार भने छैन तथापी म्याग्दीको एक क्रियाशिल र पुरानो साहित्यिक संस्था पौलस्त्य साहित्य समाजको वर्तमान उपाध्यक्षका रुपमा केहि संस्थागत साहित्यिक क्रियाकलापहरु आयोजना तथा सञ्चालन गर्ने अवसर बेलाबखत पाएको सानो अनुभवका आधारमा म के कुरामा विश्वस्त छु भने, म्याग्दीमा जतिपनि साहित्यिक संस्थाहरु छन् तीनले आफ्ना तैयारी विधानहरुमा एउटा कुरा के चाँहि नछुटाएको हुनुपर्छ भने – संस्था स्थापनाको पहिलो उद्देश्य नेपाली भाषा तथा साहित्यको उत्थान तथा श्रीबृद्धिमा टेवा पु¥याउनु हो । तथापि, कतिपय संस्थाहरुको त वर्षमा मुश्किलले २ वटा सम्म कार्यसमिति बैठक बस्दैन । कार्यसमितिको बैठक सम्म बसाल्न नसक्ने अध्यक्ष भने बेलाबखत आयोजना हुने साहित्यिक कार्यक्रममा बडो गजधम्म परेर अतिथीको स्थान ग्रहण गरिरहेका हुन्छन ।
लेखुँ भने छुच्चो भन्लान कि भन्ने भय, नलेखुँ भने यो बिडम्बनापूर्ण स्थिती अझ अरु लम्बेला भन्ने खतरापूर्ण भविष्य आँखैको अगाडि झल्झल्ती प्रतिबिम्बित भैरहेछ । तथापि मेरो मनमा विगत लामोसमयदेखि खेल्दै आएको सत्य कुरो के हो भने कतिपय संस्था त साहित्यिक कार्यक्रममा आफ्नो नामको अगाडि कुनै संस्थाको पद झुण्डाइयोस र एउटा जिम्मेवार ब्यक्तिको परिचयसहित मञ्चमा निमन्त्रणा गरियोस् भन्ने हेतुले खोलिएका छन् । यस्ता संकुचित धारणाले ओतप्रोत भएका कथित साहित्यकारहरुले म्याग्दीको साहित्यमा के कस्तो योगदान दिदैँ आएका छन र भविष्यमा कस्तो प्रकारको साहित्यिक योगदान दिने पूर्वतयारी गर्दैछन, मैले केहि बुझिरहेको छैन ।
नाम मात्रका यी साहित्यिक संस्थाहरुले म्याग्देली साहित्यको उत्थान र विकासका लागि न कुनै ठोस योगदान पु¥याउन सकेका छन न त तत्सम्बन्धी यी सँग कुनै ठोस योजना नै छन । छन त फगत फलानो साहित्यिक संस्था र ढिस्काना स्मृती प्रतिष्ठानका नाममा रहेका तर प्रयोगमा नआएका लेटरप्याड र रबर स्ट्याम्प । जिल्लामा क्रियाशिल साहित्यिक संस्था भनेर भनिएका पौलस्त्य साहित्य समाज र म्याग्दी साहित्यिक समाजका बैठक पुस्तिका समेत थोत्रिसकेका छन । आफ्ना साहित्यिक संस्थाका पछिल्लो नियमित बैठक कहिले बसेको थियो भन्ने प्रश्नको सायदै जवाफ दिन सक्लान ती क्रियाशिल साहित्यिक संस्थाका जिम्मेवार पदाधिकारीहरु ।
साहित्यिक कार्यक्रम आयोजना गर्दा यस्तो लाज मर्दो अवस्था रहने कि मञ्चमा आसिन अतिथि साहित्यकारहरुको संख्या दर्शकदिर्घामा रहने साहित्यकारहरुको संख्याका तुलनामा झण्डै दोब्बर भैदिने । नहोस पनि कसरी ? आधा दर्जन साहित्यिक संस्थाका अध्यक्ष, संरक्षक र अझ त्यसमाथि जिल्लामा बरिष्ठ कहलिएका साहित्यकारहरुलाई मञ्चमा ठाउँ नदिदाँ उनीहरुको मानहानी होला कि भन्ने डर ! तर यसपालि भानु जयन्ती मनाउने सन्दर्भमा भने अलि पृथक तरिकाले सोच्ने काम गरियो । मञ्चमा सभापतिलाई बाहेक कसैलाई स्थान दिइएन । यसले कम्तिमा पनि मन्चमा देखिने अस्वभाविक कानेखुशी, वरिष्ठताको दम्भ र पेचिलो औपचारिकतालाई ठ्याम्मै निश्तेज पारिदियो । यो अभ्यासले के सन्देश पनि दिन सक्यो भने, साहित्यकर्ममा लागेकाहरु सबै बराबर हैसियतका छन् – कोहि सानो वा ठूलो छैन । यो किन पनि आवश्यक थियो भने पचासको दशकमा जन्मेको ठिटो साहित्यकार दश वा बिसमा जन्मेको वयस्क साहित्यकारसँगै जन्मेको भए अहिले आएर उनीहरुको साहित्यिक योगदान करिब उस्तैउस्तै रहने थियो, तसर्थः फूलेका केशका संख्याले साहित्यिक योगदानमा बरिष्ठताको कसी लगाउन सकिदैन भन्ने हेक्का सबैलाई रहोस !
एघार बजेदेखि शुरु गर्ने भनिएको कार्यक्रम साहित्यकारहरुको तिब्र ब्यस्तताका कारण झण्डै एक घण्टा बिलम्ब हुन गयो । तैपनि उपस्थिती मुश्किलले डेढ दर्जन नाघेको थिएन, ठूलो साहसका साथ कार्यक्रम प्रारम्भ गरियो । निर्धारित समयमा कार्यक्रम शुरु गरि साढे दुई घण्टामा सम्पन्न गर्ने हाम्रो योजनाले त्यतीखेर पानी खायो जतिखेर रचना वाचन गर्न मन्चमा निम्ताइएका साहित्यकारहरुले भानुका योगदानका बिषयमा लम्बेतान भाषण समेत दिन चुकेनन । जबकि, भानुको कृतित्व र ब्यक्तित्वका विषयमा हामीले सशक्त नारी हस्ताक्षर रेखाकौशल रेग्मीलाई जिम्मेवारी सुम्पेका थियौं, र उनले यस प्रसंगमा कार्यक्रमको आरम्भतिरै विस्तृत रुपमा प्रष्ट पार्ने काम गरिसकेकी थिइन । तैपनि कार्यक्रममा उपस्थित प्रायः साहित्यकारहरुको मनमा हरिज्ञान रहेन – म यहाँ आफ्नो सृजना वाचन गर्न आएको हुँ, भानुको ब्यक्तित्व माथि प्रकाश पार्न होइन !
कार्यक्रम निर्धारित समयमा कहिल्यै शुरु नहुने, शुरु भएपछि ६÷७ घण्टासम्म चलिरहने परिपाटी स्थापित भएका कारण धेरैलाई साहित्यिक कार्यक्रममा उति चाख लाग्ने गर्दैन । साँच्चीकै भन्नुपर्दा, साहित्यिक कार्यक्रम पट्यारलाग्दा नै हुन्छन । तीन दर्जन साहित्यकारहरुले सृजना प्रस्तुत गरिसक्दा पनि सुन्न लायक रचना भनेको आधा दर्जन पनि हुदैनन । अब यस्ता टीठलाग्दा कार्यक्रममा हामी कसरी उल्लेखनीय सहभागिताको अपेक्षा राख्न सक्दछौं ?
यदि साँच्चिकै म्याग्देली साहित्यमा केहि गर्ने हो भने साहित्यलाई माया गर्ने म्याग्देलीहरुले आजैदेखि दृढसंकल्प गर्नु आवश्यक छ – कि साहित्यप्रतिको मेरो अनुराग म अभैm बढोत्तरी गर्दै लानेछु, वास्तविक साहित्य फगतका आँशु कवि बन्नुमा छैन साधनामा छ ! नाममात्रका साहित्यिक संस्थाको प्रमुख पात्रका रुपमा मैले मञ्च त पाउँला तर पाठकहरुको मनभित्रको सिंहासनमा राज गर्न मैले उन्नत साहित्य लेख्नैपर्छ, म साहित्य लेख्ने काम मात्र गर्दिन अरु लेखक साहित्यकारहरुको सृजनालाई पनि उत्तिकै चाखपूर्वक अध्ययन गर्दछु र नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनमा मेरो निर्णायक भूमिकाको खाँचो छ भन्ने तथ्य बोध नगर्दासम्म हामीले यहाँको साहित्यको श्रीबृद्धिमा केहि लछारोपटारो गर्न सक्ने छैनौं !
Post a Comment