बि.सं. २१०० (तेस्रो भाग)


पहिलो भाग पढ्न यहाँ थिच्नुस
दोश्रो भाग पढ्न यहाँ थिच्नुस
.... उपन्यासको मुख्य पात्र छ– राजेश । सायद उपन्यासकार थकालीले हाम्रा पालाका सुपरस्टार नायक राजेश हमालको नामलाई सम्मानपूर्वक आफ्नो सृजनामा स्थान दिनका लागि यस ‘राजेश’ पात्रको जन्म गराएको हुनुपर्दछ । मैले सानो अडकल काट्छु । किनकी, पाँच दशक भन्दा बढी नेपाली चलचित्रमा क्रियाशिल जीवन बिताएका तत्कालिन नायक हमालको नामलाई अहिलेका पुस्ता पनि उत्तिकै सम्मानपूर्वक लिने गर्दछन । झन ३ हप्ता पहिले रिलिज भएको उनी निर्देशित चलचित्र ‘शहरको एउटा बन्द कोठा’ एकै समयमा रिलिज भएको समकालीन बलिउड सिनेमा ‘मैं तुम्सें आगे’ को इन्डिया बाहेकको एशियाली कलेक्सनको बराबरी गरेपछि त हमालको व्यक्तित्व मिथक बन्न पुगेको छ । सम्मानित मदन पुरस्कार प्राप्त थकालीको यो उपन्यासको राजेश पात्र तीनै महानायकको नामबाट अत्याधिक प्रभावित हो वा होइन म अड्कल काट्नुको अलावा ठोकुवा नै चाँहि गर्न सक्दिन तर म विश्वस्त छु, उपन्यासको पात्र ‘राजेश’ जीवनप्रति उत्तिकै आशावादी चित्रित गरिएको छ, जति महानायक हमालले उतिबेला अभिनय गरेका कतिपय चलचित्रमा उनले भूमिका निर्वाह गरेको पात्र जीवनप्रति आशावादी हुन्थ्यो । उपन्यासका जति पानाहरु मैले पल्टाउँदै गएँ, त्यो भन्दा दोब्बर गतिमा उपन्यासभित्रका उप–कथाहरु उत्तिकै रोमाञ्चक हुँदै गएको भान हुन्छ । अहिले चलिरहेको समयभन्दा झण्डै ३५–४० वर्ष पहिलेको विद्यमान नेपाली परिवेशलाई थकालीले यो उपन्यासमा ज्युँकात्युँ उतार्ने कोशिस सर्‍हानीय लाग्यो । 
मैले ४० औं पृष्ठ पल्टाइसक्दा, उपन्यासको मुख्य पात्र ‘राजेश’ कामको खोजीमा ३५ वर्षे पहिले ओमान भासिएका मेरा एकजना छिमेकी दाई कृष्ण झैं स्वदेशमा रोजगारीको सम्भावना नदेखेर रोजगारीका लागि कतारमा जान खोज्दै हुन्छ । भर्खर जुँघाको रेखी बसेको राजेश, एस.एल.सी. परिक्षा प्रथम श्रेणीमा उत्तिर्ण गर्न सफल भएपनि आफ्नो उच्च शिक्षा पढ्ने धोको पूरा गर्ने कुनै विकल्प नदेख्दा एकदमै हतास मनस्थितीमा छ । बुढा भएका बाबाआमाहरुलाई सँगै रहेर हेरविचार गर्नुपर्ने बखतमा पनि आफू विदेशिनु पर्ने विवशताले ऊ बेस्सरी थिचिएको छ । उपन्यासमा वर्णित राजेशको कथा पढ्दै गर्दा म सवार बसको गति सुस्त हुन्छ । ‘हैन के भएछ ?’ मेरो मन चनाखो हुन्छ । पछि कुरा बुझ्दा थाहा लाग्यो, भएछ के भने – शिबाङ क्रसमा तीनतिरबाट आएर मिस्सिएका सडक सञ्जालमा धौलागिरि बेस क्याम्पको अवलोकन गराएर मुदिबाट आउँदै गरेको बसको चालकले आफ्नो बस उक्त क्रसबाट अगाडि बढाउन खोज्दै गर्दा उसको दिशातिरबाट आइरहेका सवारीहरु रोक्न बलिरहेको स्वचालित रातो ट्राफिक बत्ति उसले देखेनछ र स्वाट्टै आफ्नो बस क्रस गराउन पुगेछ ! परिणाम – हामीलाई ओभरटेक गरेर गइरहेको एउटा कारको बम्परको कुनामा त्यो बसले अलिकति छुन पुगेछ ! अब के चाहियो ? एकैक्षण अगाडिसम्म सडकमा कतै नदेखिएका ट्राफिकहरु ५ मिनेटमै घटनास्थलमा ! सडकभरी सवारी आगमनको सुपरिवेक्षणका लागि लुकाएर राखिएको क्यामेराले त्यो दृश्य कैद नगर्ने कुरै भएन ! बस चालक दिक्दार देखिन्थ्यो । ट्राफिक नियम उल्लघंन गरेकाले उसले ट्राफिकलाई झण्डै १५ हजार रुपैया जरिवाना ति¥यो । ट्राफिक प्रहरीले ल्याएको हाते मेशिनमा आफ्नो डिजिटल सवारी चालक अनुमति पत्र घोट्दै थियो । अब उसले यस्ता थप चार गल्ती गर्न पुगेमा उसलाई नेपालमा कहिल्यै पनि सवारी हाँक्न निषेध हुनेछ ! ‘बिचरा !’ मलाई उसको नचाहिँदो हतार देखेर दया जागेर आयो । सवारी अलिकति संयमित भएर चलाउन नजान्दा उसले बेकारमा ५ दिनको कमाइ झ्वाम पार्नु पर्‍यो !
केहिसमय पश्चातः बसले फेरि आफ्नो गति लिन थाल्यो । बल्ल मेरी आडकी युवतीले बस एकछिन रोकिएको कुरा चाल पाइछे, ल्वाङ्गको वासना मिसिएको अलिकति भिन्न स्वासको गन्ध मनेर फुस्फुसाउँदै बोली – के भा’को रै’छ चाचा ? मलाई यो पापा, चाचा भनेको उति मन पर्दैन । तथापि नझर्किन मैले उसलाई जवाफ फर्काएँ – “धौलागिरि बेस क्याम्पबाट आएको बसको चालकले रातो बत्ती देखेनछ अनि त जबरजस्ती अगाडि बढाउन खोज्दा हामी चढेको बसलाई भर्खर उछिनेर गएको एउटा कारको बम्परको कुनामा थोरै छुन पुगेछ !” 
“ओ रियल्ली ? कस्तो झुर ड्राइभर हगी ? आँखा बन्द गरि चलाउँछ होला नी भेहिकल ! हैन त चाचा ?” अलिकति उत्तेजित बनी ऊ । 
“कहिलेकाही गल्ती त भै हाल्छ नी, आखिर मान्छे न हो ऊ पनि !” उसको उत्तेजनालाई सामान्यीकरण गर्न खोज्दै मैले मेरो जबाफ फर्काएँ । र, उसले वार्तापिच्छे ‘चाचा’ भनि सम्बोधन गरेको ब्यहोरा आफूलाई मन नपरेको बताउँदै भने – “यू न ? मलाई चाचा भनेको मन पर्दैन ! बरु अंकल... हैन हैन जस्ट थापाजी भन्दा पनि हुन्छ.. !” 
युवतीले अलिकति लाज माने जस्तै गरी । र, आफ्नो हाते झोलाभित्र हात छिराएर केहि खोज्न शुरु गरी ...!

Popular Posts