सार्वजनिक यातायात, हामी र हाम्रो यात्रा


यसरी सिन्की झैं कोचिन्छ यात्रुहरू । तस्बीर  सहारा संसार डट कम 

मलाई हाम्रा सार्वजनिक सवारीहरुमा यात्रा गर्न एकदमै मन लाग्दैन । तर विवश परिस्थितीका कारण सार्वजनिक सवारीहरुमा यात्रा नगर्नका लागि अर्को भरपर्दो र मितव्ययी विकल्प पनि मसँग छैन । त्यसैले, सार्वजनिक सवारीका लागि म त्यस्तो यात्रु हो – जसको हरेक यात्राको पहिलो र अन्तिम रोजाई नै कालो नम्बर प्लेट लपेटेका थोत्रा भारतीय गाडीहरु नै हुन । र, चुपचाप वर्षौदेखि म ती सवारीहरुका माध्यमले हजारौं माइलको दुरी यात्रा गर्दै आएको छु ।
काला प्लेटका गाडीहरुमा यात्रा गर्दा म सधैं निम्छरो र हेपिएको महशुस गर्दछु । मेरो आत्मसम्मान वा स्वाभिमानको एक अक्षरको पनि त्यहाँ कसैलाई मतलब हुँदैन । अरु त अरु म आफुले रकम तिरेर बसेको स्थानमा आफुले चाहेजसरी सहज र स्वतन्त्र तरिकाले बस्न समेत पाउँदिन । मैले धेरै पल्ट, धेरै ठाउँहरुमा ओहोरदोहोर गर्दा मसहित दुईजनाको स्थान भएको जिपहरुमा चढ्दा, सवारीका चालक तथा सहचालकले त्यो तीनजना अटाउने स्थान भएको जिकिर गरी थप एकजनालाई चढाएको देखेको छु । र, यस्तो गल्ती गर्ने सवारी चालक र उसका सहयोगीहरुलाई कारबाही गर्ने अख्तियारी पाएको निकायले समेत चुपचाप रमिता हेरेको तीतो सत्य सायद मैले यहाँ उप्काइराख्नु जरुरी छ जस्तो मलाई लाग्दैन । सार्वजनिक यातायातका सवारी खासगरी बागलुङ – बेनी, बेनी–मालढुङ्गा र बेनी–जोमसोम वा अन्य ग्रामीण सडकहरुमा यात्रा गर्ने तमाम हजारौं यात्रुले यो देख्दै भोग्दै आएका छन् । हाम्रा क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटनाको एक महत्वपूर्ण कारण सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु चढाउनु हो । तर पनि यो तथ्यलाई हृदयगंम नगरी सवारी मालिक र चालकहरुले उहि गल्ती बारम्बार दोहोर्‍याउँदै आएका छन ।
अर्को विर्सनै नहुने कुरो के पनि छ भने, सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले सामान्य रुपमा बोलचाल गर्दा समेत प्रयोग गर्ने शब्दहरु अत्यन्तै तुच्छ र फोहोरी हुन्छन । उनीहरुले प्रयोग गर्ने शब्दहरु सभ्य र सुसंस्कृत वातावरणमा हुर्केको कुनैपनि ब्यक्तिसँग सहजतापूर्वक लिने साहस हुदैँन । ती यति घिनलाग्दो तरिकाले बोल्छन् कि यदि मेरो वशमा हुन्थ्यो भने, फाटेको जुत्ता चप्पल सिलाउँदा प्रयोग हुने धागोले म उनीहरुको तलमाथिको दुइवटै ओठलाई एकैठाउँमा ल्याएर सिलाइदिन्थेँ ! मीठो र सभ्य तरिकाले सञ्चार गर्न आखिर उनीहरु किन यति धेरै कन्जुस्याँइ गर्छन होला ? के उनीहरुलाई मानिसको शिष्टताको पहिलो परिचय उसको विनम्रता र सभ्य बोलीचालीमा हुन्छ भन्ने कुरो सिकाइँदैन ? यदि सिकाइदैन भने, उनीहरुले यससम्बन्धी प्रशिक्षण दिने जिम्मेवारी कसको हो ? 
धौलागिरि भेगमा चल्ने छोटा वा लामा दुरीका अधिकांश सवारी साधनहरु अपेक्षित वा निश्चित गरिएको कुनै पनि समयमा छुददैनन । या त ती दशप्रन्ध मिनेट ढिला गर्छन वा यात्रुले सवारी खचाखच नभइन्जेल एक डेग पनि अगाडि सर्दैन । समयमै गन्तब्यमा पुग्नका लागि हामीले हाम्रा सार्वजनिक सवारीका साधनहरुमा विश्वास गर्न सक्ने १ प्रतिशत पनि आधार हामीसँग सुरक्षित छैनन । हाम्रा क्षेत्रमा गुड्ने कतिपय सार्वजनिक सवारी साधनका चालकहरुले गुड्नु भन्दा अगाडि सवारीमा यात्राका लागि कति इन्धन बाँकी छ भन्ने समेत ख्याल गर्दैनन् । टायरमा हावा कति छ ? इन्जीन ठीक छ÷छैन ? सवारीको सफाइ ? यी कुराहरुलाई उनीहरु कत्ति पनि महत्व दिदैनन् । उनीहरुलाई सिर्फ मतलब हुन्छ एउटै कुराको कि सवारीमा यात्रु खचाखच भएकी÷भएनन ? परिणामतः हामीले यात्रा गर्दै गर्दा थुप्रैपटक हामी सवार गाडीहरुको टायर पन्चर भएर, पट्टा भाँचिएर वा इन्धन सक्किएर सडकमै अलपत्र पर्नुपरेको छ । अरु त अरु कतिपय अभागीहरुले आफू सवार सवारी साधनको ब्रेक नलागेर (फेल भएर) ज्यान समेत गुमाउनु परेको छ ।
प्रतिष्ठा नै कमाउन नसकेका सार्वजनिक सवारी साधनका मालिक, चालक तथा सहचालकले यसपट्टी समयमै ध्यान दिनु आवश्यक छ । यो उनीहरुको मात्र प्रतिष्ठाको विषय हैन यसले हाम्रो खराब सार्वजनिक यातायातको नीतिलाई समेत प्रकाश पारेको छ । के हाम्रो सार्वजनिक यातायात ब्यवस्थापनमा सुधारको आवश्यकता छैन त ?

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)