बि.सं. २१०० (चौथो भाग)


  1. पहिलो भाग पढ्न यहाँ थिच्नुस
  2. दोश्रो भाग पढ्न यहाँ थिच्नुस
  3. तेस्रो भाग पढ्न यहाँ थिच्नुस
  1. ...युवतीले मलाई वियरको एक बट्टा दिई र बडो विनम्रतापूर्वक पिउनका लागि आग्रह गरी । उसले दिएको वियर मैले सहजतापूर्वक स्वीकार गर्न सकिनँ । म वियर नपिउने भद्र ब्यक्ति त होइन तर घाम नडुब्दै पिउने बानी पारेको छैन मैले । पिउनका लागि खासमा मलाई सप्ताहन्तका तीन रात र दुई दिन अत्यन्तै उपयुक्त समय हुन जस्तो लाग्दछ । तर उसले ज्यादै कर गरेपछि उसले माया गरी दिएको मीठो उपहार मैले स्वीकार नगरी रहन सकिनँ । बियर चीसै थियो । म तीन छक परेँ – उसले आफ्नो झोलाबाट भर्खर झिकेर दिएको वियर कसरी चिसै रहन सम्भव भयो ? वियरको एक चुस्की लिएपछि मैले आफ्नो जिज्ञासा राख्दै सोधेँ – ‘हैन, यो तिमीले आफ्नो झोलाबाट भर्खर मात्र झिकेर दिएको वियर यतिविघ्न चीसो कसरी सम्भव भयो ?’ 
  2. ‘उ त्यहाँ देख्नुभएन फ्रिज ? त्यहीँबाट लिएको नि !’ चालकको ठीक पछाडिपट्टिको खालीभागमा देखाउँदै उसले बताई । त्यहाँ चारजना अन्य यात्रुहरु पनि लाममा थिए । सायद ती मध्ये धेरैको रोजाई वियर नै हुनुपर्छ । चीसो वियर । 
  3. केही मिनेट पहिले शिबाङक्रसमा भएको दुर्घटनाका विषयमा अलिकति आक्रोशित हुँदै उसले भनी – ‘पक्कैपनि त्यो बसको ड्राइभर हजुरहरुको पालाको हुनुपर्छ । त्यस्तै १०–१२ दिन ड्राइभिङ इन्सिटच्युटमा गएर ड्राइभिङ सिकेको । अलिकति रकम खर्च गर्नेहरुका लागि त त्यतिखेर ड्राइभिङ लाइसेन्स घरमा नै ल्याइदिन्थे रे नी ? हो थापाजी ?’ उसले उप्काएको कुरो शतप्रतिशत असत्य त थिएन तर हाम्रा पालामा उसले सोचेजति त्यतिविघ्न विसङ्गती थिए जस्तो त मलाई लाग्दैन । मैले थोरै असहमति जनाएँ –‘तिम्ले भनेको कुरो सो¥है आना गलत त छैन तर त्यति धेरै विसङ्गतीहरु पनि थिएनन्, जति तिमीले सुनेकी छ्यौ । केही मानिसहरु थिए होला जो आफ्नो क्षमतामा भन्दा बढ्ता आफूसँग भएको पैसामा गर्थे होला । र, सवारी चालक अनुमती पत्र केही रकम तिरेर किन्ने दुस्साहस गरे । तर तिमीलाई थाहा नहुन सक्दछ, मैले सवारी चालक अनुमती पत्र लिने परीक्षा चौथो पटकको प्रयासमा उतीर्ण गरेको थिएँ ।’
  4. ऊ अलिकति शान्त र चुपचाप देखिई । उसको असन्तुष्टी र प्रिज्यूडिस केही कम भएको जस्तो देखियो । 
  5. ‘खै ! त्यो बट्टा दिनुस, मसँग अर्को पनि छ ।’ वियरको अर्को बट्टा दिन खोज्दै उसले भनी । 
  6. ‘यो बट्टा अझै रित्तिसकेको छैन । यसमा दुई घुट्की जति छ होला ।’ मैले प्रतिउत्तर दिएँ । 
  7. मप्रति दया गर्दै उसले भनी –‘तपाइँ पूराना मान्छेहरु अलिकति कन्जुस हो कि जस्तो लाग्दछ मलाई । नत्र त त्यो दुई घुट्की रित्याउन्जेल किन पर्खी रहनुहुन्थ्यो हजुर ? अन्तिमका थोपाहरु किन पिउनु प¥यो ? जबकी हामीसँग प्रशस्तै वियर उपलब्ध छ !’ त्यतिन्जेलसम्म उसले मेरो हातमा बियरको दोश्रो बट्टा थमाइसकेकी थिई । उसले मप्रति देखाएको सदाशयताका लागि ‘धन्यवाद’ बाहेक अरु केही पनि भनिनँ । तर म र मेरा पालाका मान्छेहरुप्रति उसमा रहेको गलत बुझाई चाँहि मलाई पटक्क मन परिरहेको थिएन । 
  8. एकैछिनलाई हाम्रो वार्तालापले विश्राम लियो । आफ्ना गुलावी ओठले वियरको बट्टा च्यापेर ऊसले वियर पिउँदै गरेको दृश्य कुत्कुती लगाउने खालको थियो । ऊ आरामपूर्वक वियरको स्वाद आनन्दसाथ लिइरहेकी थिई । उसको सौजन्यमा उपलब्ध वियर पिउन मलाई पनि आनन्दै लागेको थियो । बाहिर चीसो साँठ चलिरहेको जस्तो  लाग्यो, मलाई । किनकी, झ्यालको शिसामा स्पर्श गर्दा मैले ठन्डा महशुस गर्न पुगेँ । युवतीले मलाई अलिकति बेचैन भएको महशुस गरिछ सायद, प्रश्न गरी – ‘हजुरलाई असहज भएको हो, थापाजी ? अगाडि देखि नै निकै चलमलाउनु भएको छ !’ मैले उसको कुरालाई उती गम्भीरतापूर्वक लिइँन तर जबाफ फर्काएँ – ‘त्यस्तो खास केही भएको छैन । यस अघि, घाम डुब्नु अगाडि मैले कहिल्यै वियर पिएको थिइँन । त्यसैले, अलिकति असहज भएको जस्तो मात्र लागेको हो । हल्का टाउको दुख्ला जस्तो पनि भएको छ ।’
  9. ‘सरी, थापाजी । आइ एम एक्स्ट्रेम्ली सरी ! मैले गर्दा हजुरलाई अनइजी फिल भयो !’ आफूले अक्षम्य अपराध गरेको जस्तै गरी ऊ निकै भावुक भएर बोली ।
  10. परिस्थितीलाई अलिकति सामन्यीकरण गर्न खोज्दै मैले भनेँ – ‘हैन, त्यति सार्हो अनइजी फिल गरेको छैन, मैले । हल्का टाउको भारी भएको जस्तो मात्र लागेको हो ।’
  11. ऊ केहि आश्वस्त देखिई । हामी पुनः पूर्ववत संवादमा फर्कियौं । झ्यालबाहिर केहि वर्षपहिले निर्माण सम्पन्न भएको दरखोला जलविधुत परियोजनाको ‘पावर हाउस’ देखियो । सेतो र पहेलो रङमा सजिएका भवनहरुको चमक भित्रैसम्म आइपुग्यो । माथि डाडाँमा केहि चौपायाहरुका बथान दगुरिरहेको देखियो । सायद गाईभैंसीको बथान हुनुपर्छ त्यो, हरियो पाल्टेभीरमा दगुरिरहेका ...।

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)