बि.सं. २१०० (अंक ५)

  1. ...“तपाइँ यो भन्दा पहिले पनि यहाँ आउनु भएको थियो ?” झ्यालबाहिरका मनोरम दृश्य एकटकले हेरिरहेको मलाई झस्काउँदै उसले प्रश्न गरी । 
  2. “अँ आ’को थिएँ, लगभग ७–८ पटक म यहाँ आइसकेको छु । जागिरको शिलशिलामा ३२/३३ वर्ष पहिले यो भेगतिर म आइराख्नु पर्थ्यो ।” बोल्दै गर्दा अलिकति नोस्टाल्जीक हुन पुगेँ – “दरबाङ बजारसम्म कच्ची सडक थियो । साढे दुई घण्टा लाग्थ्यो, माइक्रो बसमा चढेर आउँदा ।”
  3. “माइक्रो बस ? के भन्या नि त्यस्तो ?” युवतीले माइक्रो बस भनेको थाहा पाइने सायद । प्रतिप्रश्न गरी ।
  4. “अँ, माइक्रो बस !” झर्को नमानी, उसका हरेक सवालका जवाफहरु दिनु मैले मेरो आफ्नो दायित्व सम्झिएँ । कारण, उसले यात्राको मेरो एकाकीपनलाई थोरै भएपनि दूर गर्न सघाउ पुर्याउँदै थिई । अझ उसले ड्रिङ्क्स सौजन्य गरेको गुण पनि फर्काउनु थियो मलाई । उसलाई माइक्रोबसका बारेमा बुझाउन थालेँ – “हाम्रो पालामा एउटा सानो बस हुन्थ्यो । त्यसको क्षमता त्यस्तै १७/१८ जना यात्रुको हुन्थ्यो । र, माइक्रो बस ब्यवसायी समिति मार्फत यस्ता बसहरु सडकमा गुड्ने गर्थे । पूरापुर ३५ देखि ४५ यात्रुहरु बोकेर धूलो उडाउँदै गुड्थे ती गाडी कच्ची सडकमा । हो, म पनि अन्य यात्रुहरु जस्तै तीनै गाडीमा यात्रा गर्ने गर्थे उ बेला । उफार्दै–उफार्दै तीनले ल्याइपुर्‍याउँथे गन्तब्यमा, यात्रुले सोचेको भन्दा एकाध घण्टा ढिलो गरी ।”
  5. उसलाई मेरा पुराना अनुभवहरु निकै नै चाख लागेको हुनुपर्छ सायद । केहि कुरा बताइनसक्दै प्रश्न गरिहाल्थी – “गाडीले त्यसरी उफार्दा पनि तँपाइहरु चुपचाप बस्नुहुन्थ्यो ? ड्राइभरलाई बिस्तारै ड्राइभ गर्न लगाउनुहुन्नथ्यो र ?” 
  6. “अँ, मान्थे तिम्रा बाजेहरु ?” भनुँ कि जस्तो लागेको थिएँ, तर आफूलाई भद्रतापूर्वक नै प्रस्तुत गरेँ – “तिमीलाई तिम्रा बाबाआमाले पूराना कुराहरु सुनाउनु हुँदैन र ? सबै कुरा मबाटै थाहा पाउन खोजीरा’छौ त !” मैले जिज्ञासा राख्दै भनेँ । मसिनो आवाजमा हाँसो पनि छुट्यो, मेरो ।
  7.  “ठिकै छ नी त, हजुरलाई झर्को लाग्या छ भने कुरा नगर्नु न त !” उसले झर्किदै बोली । र, आफ्नो बसाइको स्थितीमा परिवर्तन गरी । 
  8. झ्यालतिर ढेपिन पुगी । उसको मनमा चोट पुर्‍याएकोमा मलाई पछुतो लाग्यो । उसलाई नरिसाउन आग्रह गर्नु पर्‍यो मैले – “मेरो थोरै जिस्किने बानी छ, अन्यथा नलिउँ ल !”
  9. “म पनि कहाँ साँच्चीको रिसाएकी हुँ र ? तपाइँलार्इ आफ्नो गल्तीको महशुस गर्ने समय दिएको मात्र !” मादक मुस्कान सहित युवती पूर्ववत आसनमा फर्की । केहिबेर अगाडि टुक्रेको हाम्रो संवादलाई फेरि शुरु गरी – “हजुरहरु बसभित्र उफ्रिदै उफ्रिदै यात्रा गर्नुहुन्थ्यो उसोभए है ? खुरुक्कन त्यस्ता गाडीबाट उत्रेर अर्को समयको गाडी चढ्ने काम किन गर्नुहुन्नथ्यो तपाइँहरु ?”
  10. “भयो अब ? बिचरा हिजोको फुल आजको चल्लालाई के थाहा ? हाम्रो जमानामा के हुन्थ्यो ? कस्तो थियो ? अहिलो पो उसलाई यहाँ दुई बित्ते चोसो निकालेर भन्नू सजिलो छ नी – खुरुक्कन त्यस्ता गाडीबाट उत्रेर अर्को समयको गाडी चढ्ने काम किन गर्नुहुन्नथ्यो तपाइँहरु ?” मनमनै अचम्मको रिस उठ्यो मलाई । तथापि बाहिर पोखीहाल्नु शोभनीय लागेन । उसको शिघ्र तात्तिने बानीले मेरो सातो काढेको भएर हुनपर्छ, मेरो । अत्यन्तै शान्त र विनम्रतापूर्वक जवाफ फर्काउनुको विकल्प देखिनँ मैले, –“के गर्नु नानु ? तिम्रो जमाना र हाम्रो जमानामा धेरै भिन्नता छन । अहिले पो तिमीहामी यात्राका बेलामा सवारी चालक र कर्मचारीको व्यवाहार मन परेन भने उजुरी गर्न सक्छौं, त्यो पनि प्रमाणसहितको इमेल लेखेर वा एमएमएस पठाएर । उहिले त्यस्तो कहाँ हुनु ? पहिलो कुरो त सवारी साधनहरु समयमा पनि छुट्ने गर्दैनथेँ । शुरुमा सवारीमा पुग्ने यात्रुले उक्त सवारी यात्रुले खचाखच नभैन्जेल पर्खनु पथ्र्यो, एक घण्टा, दुई घण्टा अझ कहिलेकाही एउटा सिंगो बिहान । करिब पाँच घण्टा ! दोश्रो कुरो यात्रु भनेपछि जेजस्तो भएपनि यात्रा गर्नु हाम्रो विबशता हुन पुग्थ्यो !” मैले प्रस्टैसँग देखेँ ऊ मेरा कुरा सुनेर वाल्ल परी । बेलाबखत जिब्रो पनि टोकेकी थिई । विश्वास पो लागेन कि सायद मेरा भोगाइहरु । वा, दया जागेर पो होकी सानो स्वरमा उसले भनि – “त्यस्तो है ? च्वँ च्वँ म त्यतिखेर जन्मेको भए त ? माइ लर्ड म कल्पना पनि गर्न सक्तिनँ, जीवनका मेरा प्रत्येक पलहरु कति धेरे पीडा र अभावबाट गुज्रेका हुँदा हुन ?!” पच्चीस कट्दै गरेकी युवतीले आफ्नो युवावयमै थुप्रै सुविधाहरु भोग गर्न पाउँदा निकै गर्वका साथ आफूलाई प्रस्तुत गरिरहेकी थिई । उसको दिमागमा हाम्रा पालामा केही विकास नै नभएको असत्य भ्रम खाँदिएर रहेकोमा शंका नगर्ने आधार पाइँन मैले । 
  11. हाम्रा संवादहरू एक छोरामान्छे र छोरीमान्छे भेट हुँदा हुने चल्तीका वातचित भन्दा अलिकति फरक प्रकृतीले विकास हुँदै गए । कतिखेर झ्यालबाहिर हुत्तिन्थे हाम्रा नजर र एकाग्रता त कतिखेर ती मेरा र उसका पालाका कुराहरूमा आएर अड्किरहेका हुन्थे । तर संबाद यसरी नै अगाडि बढ्दै  गए । 
  12. बस फेरि एकपटक रोकियो । केहि समय पहिले परबाट देखिएको यो डाँडामा आएर बस रोकिएको थियो । यात्रुहरू बसबाट बाहिर ओर्लने क्रम शुरू हुन लाग्यो । मैले मेरो क्यामेरा झिकेँ । ऊ पनि मेरो पिछा लागी । उसले बियरका दुर्इवटा बट्टा बोकेर ल्याएकी थिर्इ । बसबाट ओर्लेपछि हामी सँगसँगै भयौं । हामीभन्दा केहि परको दुरीमा सेता रंगका एक हुल बाख्राका छाउराहरू माथितिर दगुर्दै थिए ..। 
(यसका पुराना अंकहरू यहाँ संकलित गरिएको छ ।)

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)