बि.सं. २१०० (अंक ७)

...युवती फेरि पनि उस्तै हतारोमा बसभित्र छिरी र हुर्रिदै सिटमा आएर बसी । हाम्रो यात्रा पुनः शुरु भयो । मुनाको ब्यावसायिक पशुपालन र माछापालनका बारेमा अलिकति भए पनि हामीले जानकारी पाएका थियौं । म जस्ता अघिल्ला पुस्ताका मानिसहरुलाई यस्ता ब्यावसायिक अभ्यासका बारेमा किन पनि थाहा हुनु आवश्यक छ भने ती दृश्यले हाम्रा पुस्ताका मानिसहरुका इमान्दार प्रयास र अविरल मेहनतका बारेमा धेरै कुराहरु स्पष्ट पार्ने काम गरेका छन । अहिलेका युवाहरुका जस्तो ‘बिन्दास’ जिन्दगी हामीले चाहेर पनि बिताउन पाएनौं । तर यसका बारेमा अहिलेका युवा पुस्ताले थाहा पाएर पनि बुझपचाएका हुन वा अज्ञात नै हुन उति गम्भिरतापुर्वक आफूलाई प्रस्तुत गर्दैनन् । त्यसकारण पनि युवतीसँगैको यात्रा उती रुचीकर लागिरहेको थिएन मलाई, अझ झन ऊ बस्ने र बस अगाडि बढ्ने काम एकैपटक भएपछि ऊ मेरै काखमा घोप्टिन आइपुग्दा पारो नतात्ने कुरै भएन, सम्हालिन खोज्दा खोज्दै मुख खोलीहालेँ – “हत्तेरि के गरेको यस्तो ?” उसलाई खासै ग्लानीबोध भएन । उसले सोची सायद, त्यो उसको भूल थिएन । शिघ्र आवेगमा आएपनि उसको ढेपाइले मेरो शरीरभरि अस्वभाविक तरंगहरु सञ्चार गरिदियो । ऊसँगको स्पर्शका कारण मैले थुप्रैकुराको अनुभूत गरिरहँदा उसले भने केहि कुराको भेउ पाइन । मलाई भन्दा बेशी बियरको नशा उसमा चढिसकेको थियो । मैले तीनवटा बट्टा लिदाँसम्म उसले कति बट्टा लिइसकेकी थिई त्यसको हिसाब थिएन मसँग । त्यसकारण पनि अलिकति मदहोश थिई ऊ । लागेको थियो, अब ऊ शान्तपूर्वक आफ्नै आशनमा निदाउनेछे, तर उसले संवादलाई पूर्ववतः जोड्दै भनी – “थापाजी, ड्रिङ्क्सको मात कत्तिको चढेको छ त नी ? मूडमा उती देखिनुहुन्न !”
“हा..हा..” मैले हासेँरै टारिदिएँ उसको कुरा । ऊ पनि थोरै खुलेर हाँसी । एकदम मादक हाँसो !  ऊ यसरी मादकतापूर्वक हाँस्दा उसको सुन्दरता अझ अरु घनिभूत भएको पाएँ मैले । ऊ र म एकसाथ हाँस्दा हाम्रा वरिपरीका मान्छेहरुका ‘चोर आँखाहरु’ हामीतिर बढ्ता सोझिएको देखेपछि, मेरो हाँसो ठप्पै भयो ! युवतीले केहि लामो समयसम्म हाँसी । सायद, हाँस्दा हाँस्दै बिचैमा रोक्नु सहज लागेन उसलाई । मलाई भने उसको हाँसो बढी नै अस्वभाविक लाग्न थाल्यो, यसकारण पनि मैले उसको मादकताले भरिपूर्ण हाँसोलाई विचैमा रोकेर प्रश्न गरेँ – “ए, साँच्ची...!” उसले आफ्नो अनवरत हाँसो विचैमा रोकी र थोरै मुस्कानसहित उसले भनी – “अँ भनन् ..!” अगाडिसम्म ‘हजुर, तपाइँ’ सम्बोधन गर्ने आफूभन्दा करिब आधा उमेरकी ठिटीले यसरी ‘तिमी’ को सम्बोधन गर्दा मलाई निकै असहज लाग्यो । अपरझट उसले मलाई आफ्नो समकालीनको ब्यवहार नगर्नू पर्ने हो, तर गरिहाली !
मलाई निकैबेरसम्म चुपचाप देखेपछि उसले भनी – “अँ ! तिमी के सोध्दै थियौ मलाई ? किन चुपो लागेर बसेको ?”
सहजतापूर्वक संवादलाई अगाडि बढाएँ मैले, “हेर न हामी बेनीदेखि यहाँसम्म दुई नजिकका सिटमा बसेर यात्रा गरेर आईपुग्यौं, तर पनि खुलेर हाम्रो परिचय हुन सकिरहेको छैन ! तिमीलाई सम्बोधन गर्न पनि अप्ठ्यारो लागिरहेछ, मलाई । म कसरी सम्बोधन गरुँ ? त्यसकारण, मलाई तिमीसँग परिचय गर्न मन लागिरहेछ । के छ यसमा तिम्रो राय ?” युवतीले एकछिन गम खाई । ऊ सामिप्यताका लागि परिचयलाई उति महत्व नदिदीँरहिछे । भनि, “हेर, ‘क्लोज रिलेशन’का लागि इन्ट्रडक्सन उती इम्पोर्टन्ट छैन ! बरु, यो त ब्यक्तिको ‘जेन्टल बिह्याभ’ मा डिपेन्ड हुने कुरा हो ।” मलाई लाग्यो, परिचय गर्न खोजिरहेको मलाई लोप्पा पो ख्वाई ठिटीले ! बियरको नशामा मस्त ठिटीको प्रतिउत्तरहरु केहि अरु दार्शनीक हुँदै गएका पो हुन की ? सोच्न बाँध्य भएँ म । उसले फेरि भनी – “यदि सामिप्यताका लागि इन्ट्रडक्सन नै इम्र्पोटन्ट हो भन्ने लागेको भए मैले तिमीलाई फोकटमा वियर पिलाउँथे हुँला ? एकदमै पिलाउँदैनथेँ ! तर मलाई तिमी अलिकती जेन्टल लाग्यो र स्मार्ट पनि । तिमी एकदमै ‘म्याच्योर्ड’ पनि देखिन्छौ, त्यसैले मैले तिमीसँग सामिप्यता गाँसे । त्योपनि, विथआउट इन्ट्रडक्सन !’ केटीले धाराप्रवाह यति कुरा भनिन्जेल पनि मेरो मुखबाट एक शब्द निक्लीन सकेन । मानौं कि चिनापर्ची र सम्बन्धका विषयमा उसका दार्शनीक बुझाईहरु अत्यन्तै घगडान छन । र, मेरा जवाफी तर्कहरु अती नै फितला । परन्तु, उसका एकपक्षिय बुझाइहरु मैले शिरोपर गर्नु जरुरी कुरा पनि थिएन, मैले प्रतिउत्तर दिएँ – “तिमी जे भन तर असल सम्बन्धका शुभारम्भ परिचयबाटै हुने गर्दछन् । तिम्रा आफ्ना बुझाईहरु हुन्छन्, अरुका पनि तिम्रा जस्तै फरक मान्यताहरु हुनसक्ने सम्भावनालाई तिमी नकार्न सक्दिन्यौ पक्कै । मेरो विश्वास के हो भने परिचयविनाका सम्बन्धहरु भ्रामक हुन्छन । ती विश्वसनीय हुँदैन । त्यसैले, म चाहन्छु, हामी दुईको परिचय होओस् । र, यसले हामी दुईबीचको सामिप्यतालाई अझ धेरै नजिक बनाओस् ।” युवती पहिले भन्दा बढि ‘कन्भिन्स’ देखिई । तथापि मेरो कुरामा ऊ शतप्रतिशत ढुक्क भने हुनै चाहिनँ, भनी – “हेर, इन्ट्रडक्सनबाट हुने सम्बन्धहरुमा ‘इन्टरफेर’ हुने म्याक्सीमम चान्सेस हुन्छ, र ती सम्बन्धहरु छिट्टै स्खलित हुन पुग्छन । तैपनि, आफ्नो परिचय दिने कुरामा म यति धेरै कन्जुस्याइँ पनि किन गरुँ ? सो...” लामो श्वास तान्दै युवतीले भनी – “...मेरो नाम जेट्लिना, पोखरा युनिभर्सटीबाट ‘हर्वल स्टडिज’ मा मास्टर्स गर्दैछु । र, अहिले इन्टर्नसिपका लागि ‘गुर्जा हर्बल कम्पनी’ मा जादैँ छु ।” मादकताले लत्पतिएको बोलीमा उसले भनी – “साँच्ची मैले त बिर्सेको, आई एम ट्वेन्टी सिक्स एअर्स योङ्ग गल्र्स !” आफ्ना बारेमा यतिकुरा बताइसके पछि उसले भनी – “अनि तिम्रो नी....?”
मेरो आफ्नो परिचय दिनुपूर्व उसलाई आग्रह गरेँ मैले, –“ताकममा किनेको लन्च छ मसँग । पहिला त्यो खाऔं अनी म मेरो परिचय दिउँला नी हुन्न ?” जेट्लिना मैले भने जस्तै गर्न तयार भई । बस लम्सुङ बजारमा आइपुगेको थियो, दरखोलाको किनारैकिनार एकनाशको गतिमा अगाडि बढिरहेको । झण्डै एकसय मिटर माथिको चौरमा केहि पर्यटकहरुको टेन्ट देखिन्थ्यो – ढोरपाटन जान हिडेका उनीहरु । अलिपर लोक्ता कागजको उद्योगमा कागज खरिदको ‘बिड’ का लागि ब्यापारीहरु थुप्रिएका देखिन्थे । ती सबै दृश्यलाई पछाडि पादै हामी सवार बस अगाडि बढ्यो । मैले लन्च प्याकेट खोलेँ । र, दुवैजनाले एकसाथ एउटै प्याकबाट खान थाल्यौ, एउटै चम्चाले ....।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)