बि. सं. २१०० (अंक ९)

... मैले उसको प्रस्ताव अस्वीकार गर्नु भनेको, उसको ठोस अपमान गर्नु ठानेँ । र, असहज हुँदाहुँदै पनि आफूसँगै बस्न गरेको उसको प्रस्ताव स्वीकार गरिदिएँ । लाग्यो, यहि हो हामी पुराना युगका मान्छेहरूको पहिचान – हरहालतमा दोश्रो पक्षको चित्त नदुखाउनु ! आफ्नो हार्दिक आग्रहलाई मैले विनम्रतापूर्वक स्वीकार गरेपछि युवती अझ अरू निभर्य खुल्न थाली । सन्तुष्टिको मुस्कानसहित उसले भनि – “थापाजी, यू आर रियल्ली स्वीट म्यान !” उसका कोमल औलाहरू मेरो चेपुमा चलिरहेका थिए । बेलाबेलामा उसका कोमल औंलाहरूले मलाई अप्ठ्यारो पारिरहँदा समेत असहज महशुस भएको प्रतिक्रिया दिनै मन लागेन । सोचेँ – यसैगरि धेरैबेरसम्म उसका मायालु औंलाहरूको मनपरी चलिरहोस मेरो स्थुल भरी ।
जेट्लिनाले आफ्नो शीर मेरो काँधमा अड्याई । र, यात्रा अवधीभर आर्जित सबै थकान एकै निमेशमा बिसाउने अहोभाग्य पाएको जस्तै गरी । गन्तब्यमा पुग्ने समय निकै कम हुँदै गएको थियो । मनभरी अनेक कुराहरू खेलिरहेका थिए । त्यती विघ्न चञ्चल त म होइन, तर चञ्चलताले एकतमास अठ्याउँदै लग्यो मलाई । गाजाल टाँसेको भन्दा चम्किला एक जोर आँखाहरूले पुलुक्क हेर्दै जेट्लिनाले सोधी – तपाइँ पहिला आउँदा कस्तो थियो नी यो ठाउँ ? “ठाउँ उस्तै नै थियो अहिलेको झैं सुन्दर । तर फरक यत्ति छ, उतीखेर यहाँ कृत्रिम चमकता थिएन केवल प्राकृतिक सुन्दरता मात्र थियो । धुलौटे बाटामा जतिसक्दो खच्चडका लस्करहरूलाई पछाडी पारेर यात्रुहरु अगाडी लम्कन्थे । यात्रामा पानी र खाजाको पहिल्यै ब्यवस्था गर्नु पथ्र्यो । बाटामा फाटफुट भेडा गोठाला र बटुवाहरू हिडेका हुन्थे । सारै सुनसान लाग्ने गथ्र्यो यात्रा । न्वारनदेखिको बल लगाएर हिडे पनि लम्सुङबाट पूरै आधा दिन खर्चनु पथ्र्यो – गुर्जा आइपुग्न ! उतिबेला उखानै थियो, ‘टुपीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ घुम्न रुचाउने भएपनि कतिपय मानिसहरु हत्पति गुर्जा जाने योजना बनाउँदैनथे । यसको नाम सुन्दासाथ उनीहरुको सातोपुत्लो उड्थ्यो ।” उसले खित्का छाडदै हाँसी – बाफरे ! नाम सुन्दा साथ ‘फ्रिजिङ’ हुने मान्छेहरु ? अर्को साइडमा बसेका एक जोडी विदेशीहरूले हामीतिर पुलुक्क आँखा तन्काए । उनीहरूले खिस्स मुस्कान छाडेको मलाई मन परेन ।
“यो ठाउँ यति धेरै विकट मानिन्थ्यो है ?” अचम्भित हुँदै उसले भनी । “हो त, मैले पनि उतिखेर यतिछिट्टै ‘लक्जरियर्स’ बसमा चढेर यहाँ आइपुग्छु होला भनेर सोचेको सम्म थिइँन । आफूले नै निश्चित गरेको समयभित्र संविधान दिन नसकिरहेका त्यतिखेरका नेताहरूमा दूरदर्शिता त एक रत्ती पनि थिएन । स्वहितका लागि जे पनि गर्ने ऊ बेलाका नेताहरूको सोचमा नै खोट थियो । अब तिमी नै भनन खोटी नेताहरूले हाँकेको राज्यमा विकासको हविगत के कस्तो थियो होला ? विकास निर्माणका खोक्रा सपनाहरू मात्र बाँड्थे, उनीहरू । त्यसकारण, पनि उतिखेरका हामीहरूलाई सबै ठाउँ दुर्गम र विकट लाग्थे !” एकै श्वासमा सविस्तार लगाएँ । जेट्लिना अत्यन्तै चासोका साथ मलाई सुनिरहेकी थिई । आफूलाई कसैले ध्यानपूर्वक सुनिरहँदा म अझ बढी भावुकतापूर्वक प्रस्तुत हुने गर्दछु, मेरा पालाका नेताहरूका बारेमा अझ केहि जानकारी गराउन मन लाग्यो – “तिमीलाई सुन्दा अचम्म लाग्ला, संसदिय निर्वाचनमा सांसदका केहि उम्मेदवारले यो ठाउँसम्म केवलकार ल्याउने सपना बाडेर चुनाव जिते । कतिले मोटरबाटो ल्याउने आश्वासन दिएर मत लुटे । जे जे भने सब मनगढन्ते कुराहरू भने । चुनाव जितेर जतिपनि केन्द्रमा पुगे, ती आफूमात्रै बने । काठमान्डुमा घर ठड्याए, आफ्ना छोराछोरीलाई छात्रबृतिमा विदेश पठाए, रियल स्टेट ब्यापारको लाइसेन्स निकालीदिए । जतिपनि गरे आफ्ना लागि गरे, ती सबैले आखिर जनतालाई बिर्से । तीनले साँच्चीकै अचम्म गरे ।” राजनीतिका पूराना कुराहरू उप्काएर आफैलाई दुखी बनाउनु मन लागेन मलाई । तर उसको जिज्ञासु स्वभावले यतिमै सिमीत हुन दिएन मलाई । करिब गुर्जा पुगुन्जेल मैले उसलाई मेरो पालाको फोहोरी राजनैतिक संस्कारका बारेमा मात्रै सुनाएँ ।
बस गुर्जाखोलाबाट उकालो चढ्न शुरू गरिसकेको थियो । यस्तैमा चालकले बोल्यो – “अब दश मिनेटमा हामी गुर्जाको विछट्टै सुन्दर भूमिमा पाइला टेक्नेछौ ।” मेरो ढुकढुकी केही बढेर आयो । ३२ बर्ष पहिलेको गुर्जा र अहिलेको गुर्जाबीचको भिन्नताको साक्षी बस्दै थिएँ म । जेट्लिना पनि अलिकति उत्साहित देखिई । अकस्मात चूरेन हिमालको चीसो सिरेठोको झोक्का झ्यालमा ठोक्किएपछि, भित्रैसम्म जाडो महशुस भयो । दुईचार जना यात्रुहरू भन्दै थिए — “धूर्त ड्राइभरले हिटर बन्द गरेछ !”
Post a Comment

Popular Posts