बि.सं. २१०० (अंक ११)


हामी गुर्जा नगरभित्र चल्ने नगर बसको पर्खाइमा थियौं । बस स्ट्यान्ड खाली थियो । बस आउने समय हेर्दा थाहा लाग्यो अझै १५ मिनेट पर्खनु पर्ने रहेछ । प्रत्येक आधा घण्टामा बस त्यो स्ट्याण्ड हुँदै नगरभित्र प्रवेश गर्दोरहेछ । “मंसिरको लास्ट विकमै यति विघ्न जाडो हुने थाहा लागेको भए म समर सेसनका लागि आउने थिएँ ।” जेट्लिना गनगन गर्दै थिई । मलाई पनि लागिरहेको थियो – केहि अगाडि मात्र पिएको तातो कफिले खास प्रभाव पार्न सकेन गुर्जाको ठन्डीमा । भित्रैदेखि थुरथुर कपायो जाडोले । जेट्लिना गुनासो गर्दै थिई – “यो ठन्डीमा मेरा तीन महिना कसरी बित्ने होलान ? आइ एम सो स्केयर्ड !” यहाँको जाडोको शुरुकै भोगाईमा उसले डराउनु अस्वभाविक लागेन । यति कठोर जाडोको अनुभव मैले जीवनभरिमै एकपटक मात्र ६० को दशकको एक साल गरेको थिएँ, जतिखेर हिउँ जगन्नाथ मन्दिरको डाँडाबाट ओरालै ओरालो बेनीसम्म आइपुगेको थियो । करिब एक हप्तासम्म बेनी नगरमा बिधुत तथा सञ्चार सेवा सुचारु हुन नसकेको त्यो सप्ताह मेरा समकालीन धेरैका लागि अविष्मरणीय छ । अतः उसको गुनासोमा मैले केहि बोलिनँ । उसले धेरै बेरसम्म  गनगन गरिराखी । 
स्ट्यान्डमा बिस्तारै यात्रुहरुको चाप बढ्न थाल्यो । अगाडिसम्म म र जेट्लिनामात्र रहेको स्ट्याण्डमा पन्ध्र सोर्‍ह जना मान्छेहरु भेला भैसकेका थिएँ । कोही कामबाट फर्के झै देखिन्थे, कोही काममा जान हिडेका जस्ता देखिन्थे । सबैलाई हतारो थियो । बस छुट्नै लाग्दा एउटै सांस्कृतिक पोशाकमा सजिएका आधा दर्जन युवायुवतीहरू हुल पनि बस भित्रै छिर्‍यो । प्रायः यात्रुले खासखुस गर्न थाले । उनीहरुले कसैको केही मतलब राखेनन् । आफ्नै धुनमा मस्त थिए । जेट्लिनाले समेत बडो आश्चर्यपूर्वक मतिर हेरी । सायद युवायुवतीहरुको त्यो हुलका बारेमा मैले उसलाई केही बताउन सक्छु कि भन्ने आशले मतिर हेरेको हुनुपर्छ । म चुपचापै रहे । खासमा उनीहरुका बारेमा त्यति विस्तृत अनुमान लगाउने सामथ्र्य राखिनँ मैले । मैले अनभिज्ञता प्रकट गरेँ । चालकले यात्रुहरुको जिज्ञासु भाव आफू अगाडिको ऐनामा प्रतिबिम्बित भएको देखेछ सायद, त्यसैले एकजना युवतीलाई आफूतिर आउन ईशारा गर्‍यो । र, उनीहरुका बारेमा थोरै केही राखिदिन आग्रह पनि । युवतीले खुशी हुँदै भनी – “हामी यहाँका आदिवासी छन्त्याल समुदायका हौं । प्रत्येक शुक्रबार यस नगरको मुटुमा रहेको छन्त्याल केन्द्रमा हाम्रो कल्चरल शो हुन्छ । यदि यहाँहरूसँग समय छ भने पाल्नुहोला ।” युवतीले जानकारी दिएपछि धेरै यात्रुहरूले उसले बताएअनुरुपको कल्चरल शो हेर्न जाने ईच्छा जाहेर गरे । जेट्लिनाले मलाई हेरी । म निशब्द रहेँ । उसले जाऔं भनी भने नाइँ नभन्ने विचार आयो मनमा । 
पहिलो स्टपमा आएर बस रोकियो । एउटा कलेजको ठीक मुनीको स्टपमा केही यात्रुहरु ओर्लिए र आफ्नो कक्षा सिध्याएर आएका केही बिधार्थीहरु बसमा उक्ले । मैले बिधार्थीहरुलाई एक एक नियाले । त्यस्तैमा मैले वाइड रेन्जको स्क्रिनमा नगरका बारेमा केही जानकारीहरु डिस्प्ले भैराखेको देखेँ ! अगाडि यहि नगरकी आदिवासी युवतीले बताए झैं प्रत्येक शुक्रबार ७ बजे साँझदेखि यस नगरमा हुने छन्त्याल साँस्कृतिक शोका बारेमा पनि जानकारी डिस्प्ले भयो । टिकट मूल्य रहेछ रु १३५० । टिकटको मूल्यमै डिनरको पनि ब्यवस्था गरिएको रहेछ । आजै त्यो मौका नछुटाई हाल्ने मनस्थिती बनाएँ मैले । जेट्लिना भन्दै थिई – “ओके म टिकटको स्पन्सर गर्छु । आउने है त शो हेर्न । डन ?” उसको प्रस्ताव मलाई ‘के खोज्छस कानो ? आँखो’ भने झै भयो । मैले ‘हुन्छ’ भनेँ । साँस्कृतिक शोको जानकारी सिध्दिनै लाग्दा, बस दोश्रो स्टपमा रोकियो । जुन नगरको बीच भागमा छ । त्यहाँ आइपुग्दा मलाई मेरा पुराना मित्रहरु झकप्रसाद छन्त्याल र कृष्णको याद आयो । उनीहरुलाई भेट्ने ईच्छा जाग्यो । यत्तिकैमा सांस्कृतिक शोका युवतीहरु त्यही ओर्लिए । बस नगरको बीचैबीचै पश्चिमतिर लाग्यो । बसको डिस्प्ले बोर्डमा गुर्जा नगरका वरिपरी घुम्नै पर्ने केहि दर्शनीय, पर्यटकीय र ऐतिहासिक महत्वका स्थानका बारेमा त्यहाँका तस्बीर सहित देख्दा मैले सातादिनको गुर्जा बसाई निकै नै कम हुने आँकलन गरेँ । बोर्डमा देखियो – गुर्जा नगरको ठिक पारिपट्टि हन्टिङ हिल्स । जहाँ नगरबाट बिद्युतिय केबलकार चढेर १० मिनेटमा पुग्न सकिन्थ्यो र एक रात त्यतै बिताउन सकिदो रहिछ, त्यो पनि जम्मा ८ हजारमा । तर आफूले शिकार खेल्ने हो भने चाँहि खर्च अलि बढि नै हुने रहेछ । करिब २७ हजार ! त्यस्तै अर्को सूचना देखेँ, चूरेन हिमालको फेदमा स्किङ गर्ने । गुर्जाघाटतिर टे«किङ जाने, स्याउ बारी घुम्ने, हर्बल कलेज तथा माउन्टेरिङ कलेजको भ्रमण गर्ने, छन्त्याल म्युजियम र अलि माथि लेकतिर ब्यावसायिक भेडापालन अवलोकन गर्ने । डिस्प्ले बोर्डको सूचना अनुसार कार्यक्रम बनाउँदा कार्यक्रमको लामै फेहरिस्त बन्ने देखेपछि म मेरै पुरानै योजना अनुरुप आफ्नो विदा मनाउनलाई तयार रहेँ ।
नगरको अन्तिम स्टपमा आएर बस रोकियो । यो आवासीय क्षेत्र रहेछ । धेरै मानिसहरु यतातिर बस्दा रहेछन । अलिकति शान्त स्थान, नगरबाट केहि पर । जहाँ म पहिलो पटक पाइला राख्दै थिएँ । त्यतिखेर गुर्जा आउँदा म यो भेगमा आएको थिइँन । मलाई साथीहरुले भनेका थिए, यतातिर सरकारी जमिन छ । तर अहिले सरकारले यहाँ अर्पाटमेन्ट बनाएर ब्यक्तिलाई बेचेको रहेछ । जहाँ जेट्लिनालाई एउटा अपार्टमेन्टको ब्यवस्था गरेको थियो उसको कम्पनीले । हामीलाई जेट्लिनाले इन्टर्नसीप गर्ने कम्पनीको पि.आर.ओ. ले उसलाई ब्यबस्था गरेको अपार्टमेन्टतिर लग्यो । बाटामा थुप्रै घतलाग्दा कुरा गर्‍यो, त्यो २७ वर्षिय ठिटोले । खासगरी गुर्जा नगरले पछिल्ला दश बर्षमा हासिल गरेको विकासका बारेमा । 


Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)