बि.सं. २१०० (अंक १२)

 “यति जाबो उकालो चढ्दा पनि कस्तो टायर्ड फिलिङ भएको हो ?” – सात तले भवनको चौथों तलामा रहेको आफ्नो अपार्टमेन्टमा पुगेपछि सोफामा थ्याच्च बसिसकेपछि जेट्लिनाले थकित अनुहार पार्दै बोली ।
 “मलाई पनि त्यस्तै महशुस भयो । म त झन बुढो मान्छे ! त्यसैमाथि खुट्टा गल्ने समस्या बल्झिएको छ अचेल !” ऊ भन्दा बढी दुखित हुँदै मैले भनेँ । 
“लौ त जेट्लिनाजी म हिडेँ । गुड नाइट !” उसको पि.आर.ओ.ले त्यहाँबाट छुट्टिन खोज्दै बोल्यो । जेट्लिनाले ऊतिर पुलुक्क हेरी र भनी – “हस हजुरलाई मेनी मेनी थ्याङ्क्स ! सि यू अन मन्डे सर ।” युवक थोरै मुस्कुरायो । जेट्लिनातिर हात बढायो । दुबैले हात मिलाए । हात मिलाएकै अवस्थामा केही बेर कुराकानी पनि गरे । म बाथरुमबाट बाहिर निस्कदा युवक कोठामा थिएन । जेट्लिना ड्रेस चेन्ज गर्न कोठाभित्र छिरिछ । उसलाई म बाहिर बैठककोठामै पर्खेर बसेँ ।
दश मिनेट पछि जेट्लिना बाहिर निक्ली । अर्को कोठाको चाबी थमाउँदै भनी – “यी हजुरको रुमको ‘कि’ लिनु । ड्रेस चेन्ज गरेर आउनु । फ्रेश पनि हुनुपर्यो । म तातो पानी उमाल्छु । दुबैले पिएर सपिङ गर्न जाउँला । फेरि कल्चरल शो पनि हेर्नु पर्यो । कति अर्को हप्ता कुरिराख्नु ?” उसको हातबाट चाबी लिएर म उसकै कोठासँग जोडिएको अर्को कोठामा गएँ । ड्रेस चेन्ज गरेर आउँदा दुई गिलास तातो पानी टेबलमा थियो । ऊ थिइँन त्यहाँ । बाथरुममा उसले नुहाइरहे जस्तो लाग्यो । बाथरुमबाट पानीको छङछङ आवाज आइरहेको थियो । मैले उसलाई नपर्खीकन तातो पानी पिउन शुरु गरेँ । झण्डै मैले गिलासभरीको पानी रित्याउने समयमा, ऊ टाउकोमा रुमाल बेरेर बाहिर निस्की ।
“हजुरको लागि तातो पानी राखिदिएकी थिएँ नी, लिनूभो ?” – मतिर आउँदै उसले भनी ।
“मेरो लागि राखिदिएको त लिएँ, तिम्रो भागको पानीले चाँहि तिमीलाई पर्खिरहेछ ।” – जिस्किएर बोल्न मन लाग्यो मलाई । 
“ए, मैले त भुसुक्कै बिर्सिएकी ! पानी राखेर नुहाउन हिडी हालेँ । अँ बरू हजुर पनि नुहाएर फ्रेश हुने हो भने छिटो गर्नुपर्ला । फेरि बस छुट्छ । अब ६ः३५ मा छ बस । हामी ६ः३२ तिर स्ट्याण्डमा पुगिसक्नु पर्छ । छोरामान्छेलाई त नुहाउन ५ मिनेट भए पुगिहाल्यो नी हैन र ?” – मलाई अत्याउँदै उसले भनी – “६ः३५ को बस छुट्यो भने त फेरि ४५ मिनेट बढी पर्खनुपर्छ नी !”
भित्तामा झुण्ड्याएको घडीले ६ः१० बजाइसकेको थियो । पछ्यौरा समातेर म हतार हतार बाथरुमतिर छिरेँ । 
बस स्ट्याण्डमा मान्छेको घुइँचो अलि बढी नै देखियो । ती मध्ये धेरै गुर्जा नगर भ्रमणमा आएको अड्कल गरेँ मैले । उनीहरुले छन्त्याल केन्द्रमा साँझ ७ बजेदेखि शुरु हुने शोका बारेमा कुराकानी गरिरहेका थिए । हामी जस्तै उनीहरु पनि कल्चरल शो हेर्न जान अत्यन्तै आतुर जस्ता देखिन्थे । करिब करिब पूरै खाली सिट बोकेर नगर बस हामी भएको स्ट्याण्डमा रोकियो । लामबद्ध मानिसहरु एक एक गरेर भित्र छिरेँ । जेट्लिना र म मध्यभागको सिटमा प¥यौं । चालकले छन्त्याल भाषाको गीत बजाइदियो । कसैले केही बुझे जस्तो लागेन । सबैले मुखामुख गरे ।
बसमा यात्रा गर्दै गर्दा हामीले आफ्नो योजना बदल्यौं । पहिला सिधैं छन्त्याल केन्द्रमा जाने । २ घण्टे कल्चरल शो हेर्ने । त्यसपछि सपिङ जाने । योजना मुताविक हाम्रो पहिलो प्रस्थान बिन्दु नगरको मुटुमा रहेको छन्त्याल केन्द्र बन्यो । बसबाट झरेपछि बस स्ट्याण्डमा सँगै बस चढेका अरु मानिसहरुसँगै हामी पनि छन्त्याल केन्द्रतिर लाग्यौं । ‘कल्चरल शोको टिकट स्पन्सर म गर्छु ।’ भनेकीले जेट्लिना टिकट काट्ने मानिसहरु उभ्भिएको लाइनमा उभ्भीन गई । म आडैको क्याफे बाहिरको मेचमा बसेँ । छन्त्याल पोशाक पहिरेकी वेट्रेश म नेर आई । दुई कप कफिको अर्डर लिई र त्यहाँबाट अलप भई । मैले वरिपरिको रमझम नियाले । पाँच मिनेटपछि दुई कप कफि बोकेर पेन्सिल हिलमा ‘टकटक’ आवाज निकालेर वेट्रेश मेरो टेबलमा आई । ब्यापारीक मुस्कान छाडी र त्यहाँबाट पूर्ववतः अलप भई । जेट्लिना अझै आइपुगेकी थिइन । मैले मेरा आँखा ऊ आउने बाटामा बिछ्याइरहे । तातो कफि अब मनतातो भैसकेको थियो । लाइनमा बस्दा बस्दा गोडा फतक्कै परेको कुरा सुनाउँदै जेट्लिना आईपुगी । उसको हातमा पहेँलो रंगको दुईवटा टिकट थिए ।
कल्चरल शो हेर्ने मानिसहरुको भीड अझ बाक्लिदै गयो । हामीले कफि पिउने बेलासम्म अझ अरु थुप्रै मानिसहरु टिकटका लागि लाइनमा उभ्भिरहेको देखियो । केहि मानिसहरु टिकट नपाएर फर्किए रे भन्ने सुनियो । आदिवासी जनजातीहरुको बिशेष उपस्थिती रहेको गुर्जा नगर जस्तै अरु ठाउँका यस्ता कल्चरल शो देखाउने केन्द्रमा पनि मानिसहरुको खुबै घुँइचो हुने सुनेको थिएँ । आज आफै अनुभव गर्न पाएँ । कस्सो भगवानको कृपाले टिकट नपाएर फर्कनु परेन !
तीनसय भन्दा बढी दर्शकहरुको क्षमता भएको साँस्कृतिक केन्द्रमा छन्त्याल जातिको साँस्कृतिक झाँकीमा सबै दर्शकहरु मन्त्र मुग्ध देखिन्थे । छन्त्यालको जन्मदेखि मृत्युसम्मका कर्मकाण्डको झलक देखाउने बेजोडको प्रस्तुती दिए उनीहरुले । विशेषतः छन्त्यालको बिबाहको प्रस्तुती देखाउँदा जेट्लिना अचम्ममा परी र मलाई कोट्याउँदै भनी – “माइ गड, अझै पनि यस्तरी बिहे हुन्छ हैं ?” 
“संस्कारहरु एकैचोटी कहाँ चेन्ज हुन्छ र ? जब मानिसहरुमा आफ्नो संस्कार, संस्कृतिहरुमा अपनत्वको अनुभव हुन्छ, तब धेरै कालखण्डसम्म त्यो जिवन्त रहन्छ । जसले आफ्नो संस्कृतिलाई माया गर्दैन त्यो तिमी हामी जस्तै पैसा खर्च गरेर अन्य जातिको ‘कल्चरल शो’ हेर्छौ । जस्तो अहिले गरिरहेछौं ।” जेट्लिनाले केही प्रतिक्रिया ब्यक्त गरिने । चुपचाप बसी । स्टेजमा मृत्युकर्मका बारेमा प्रस्तुती दिदै थिए – छन्त्याल कलाकारहरु !


Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)