यसरी बन्छ नयाँ नेपाल


गुराँश क्रान्ति (जनआन्दोलन २) ताका ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै चर्चामा आयो । चिया गफ, रत्नपार्कभित्र गरिने बदामे गफ यहाँसम्म कि भट्टीमा समेत भट्टी गफको शिर्षक बन्यो – नयाँ नेपाल ! परन्तु यो शब्दावलीप्रति हामी नेपालीजनहरुको आकर्षण यति कम भएर गयो कि मेलम्ची खानेपानी, काठमाडौं – तराई जोड्ने फास्ट ट्रयाक वा आठलेनको चक्रपथमा जति हामीलाई बिकर्षण छ, जुन भएपनि ठिकै नभएपनि मतलब नभएजस्तो । तर एक आशावादी आम नेपालीका नाताले ‘नयाँ नेपाल’ शब्दावलीप्रति मेरो आकर्षण अझै पनि ज्यूँका त्युँ छ । र, मनभरी नयाँ नेपाल निर्माणका खातिर थुप्रै तर्कनाहरु उब्जिन थालेका छन् । ती तर्कनाहरु ब्यक्तिको ब्यावहारिक परिवर्तनसँग सम्बन्धित भएकाले मैले अनुशरण गर्ने कामपनि थालेको छु । यदि यहाँहरुलाई पनि उपयुक्त लागेमा अनुशरण गर्ने प्रयास गर्नुहोला ।
जस्तो सार्वजनिक यातायातमा 
यात्रा गर्दा मैले अझैसम्म नक्कली बिधार्थी परिचयपत्र प्रयोग गरेको छैन । 
महिला, जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुका लागि सुरक्षित गरिएका सिटमा बस्ने गरेको छैन ।
आफूभन्दा अशक्त तथा बृद्ध नागरिकहरुलाई उभ्याएर म मज्जाले सिटमा बसी यात्रा गर्ने गरेको छैन ।
जस्तो सार्वजनिक स्थानमा
म आफू धूमपान गर्दिन तर सार्वजनिक स्थानमा धूमपान गर्नेहरुलाई यसो गर्न पाइँदैन भनेर सम्झाउने गरेको छु । (कतिपय अवस्थामा सम्झाउँदा हप्काई खाएको पनि छु तर निभर्य मैले यो काम जारी राखेको छु ।)
फुटपाथमा हिड्दा अर्को यात्रुलाई धक्का दिदै हिडेको छैन ।
मगन्ते वा भिखारीहरुलाई दुव्र्यवहार गरेको छैन ।
हात समातेर हिड्ने वा अंगालो हालेर हिडिरहेका उमेरका पुगेका युवायुवतीको जोडीलाई घुरेर हेर्ने काम गरेको छैन । 
पार्कतिर जाँदा बदाम खाएपनि त्यसका खोस्टाहरु जहाँपायो त्यहाँ फाल्ने गरेको छैन ।
बाटो काट्दा जेब्रा क्रसिङ वा आकाशे पुलको प्रयोग गर्ने गरेको छु ।
जस्तो डेरामा
अर्को कोठामा बस्ने ब्यक्तिलाई असर पुर्‍याउने गरि चर्को आवाजमा संगित सुन्ने काम गर्दिन ।
अनावश्यक रुपमा बिधुत खपत गर्दिन ।
पानीको अनावश्यक प्रयोग गर्दिन ।
अन्यले के गरिरहेका छन् त्यसमा चासो राख्दिनँ ।
यी त सामान्य उदाहरणहरु मात्र रहे जसको अनुशरण गर्दागर्दै पनि कतिपय अवस्थामा म चिप्लिदै आएको छु । जस्तो कतिपय अवस्थामा सडकमा हात समातेर हिडिरहेका जोडीलाई एकपटक नहेरी रहन सक्दिनँ । अत्यन्तै हतार भएका बखत आकाशे पुल वा जेब्रा क्रसिङको ख्याल सम्म गर्दिन । तर मेरो विश्वास के हो भने हामीलाई सामान्य जस्ता लाग्ने हाम्रा बिद्यमान ब्यबहारहरुमा परिवर्तन गर्न सक्यौं भने हाम्रा संस्कारमा रहेका केहि गलत अभ्यासहरु स्वतः सच्चिने छन् । फलस्वरुपः भावी पुस्तालाई हामी एक सभ्य र पूर्ण संस्कार दिन सफल हुनेछौं ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)