पुत्र, पिता र क्रान्तिकारीता


शहरमा एउटा गाँइगुई सुनिन थालेको छ अचेल, कि माओवादी सुप्रिमो अध्यक्ष कामरेडका पुत्रले पार्टीकी एक महिला कार्यकर्तालाई उछिट्टियाए रे ! हुन त बेलाबेलामा बाउछोराका विषयमा निकै गर्मागर्मी कुरो बाहिर आएकै हुन । त्यसकारण पनि यो पछिल्लो कुराले उति गम्भीर अर्थ नराख्ला कतिपयलाई । तरपनि नेपाली संस्कारको त कुरै छाड्दिम क्रान्तिकारीतको बख्यान गरेर नथाक्ने माओवादी पार्टीका अध्यक्षका छोरा अझ एक जिम्मेवार माओवादी कार्यकर्ताले नै कम्युनिष्ट चरित्रको धज्जी उडाएकाले सायद शहरमा यस्तो चर्काचर्की बहस चलेको हुनुपर्छ । यो चर्चा कहिले गएर सेलाउँछ त्यो मैले जान्ने कुरो भएन ! तर मलाई लागेको कुरा प्रचण्डपुत्रले आफ्नो पिताको लागि केहि राम्रो त गर्न सकेनन् बरू आफ्नो पिताको “बचेखुचेको” ईज्जत, शान, शौकत बागमतिमा लगेर सेलाईदिए !
आफ्ना पिता प्रधानमन्त्री हुँदा पिताको सहयोगी भएर देशविदेश भ्रमण गर्ने अत्यन्तै दुर्लभ अवसरहरु पाएपछि यिनलाई लागेको हुँदो हो – म भनेको प्रधानमन्त्रीको छोरो ! ऐश आराम भोग गर्न जन्मेको ! हुनपनि बाउले नै छोराको बानी बिगारेपछि अरुले जे पनि लाग्ने कुरो भएन । मलाई अचम्म लाग्छ, प्रचण्ड जस्तो एउटा भिमकाय ब्यक्तित्व निर्माण गरेको मान्छेले कुन क्षमता देखेर आफ्ना छोरालाई यस्तो अवसर दिए कुन्नी ? के छोरा हुँदैमा ऊ बाबाका लागि सहयोगी भूमिका निर्वाह गर्न योग्य नै हुन्छ ? सायद यो प्रचण्डको क्रान्तिकारी सैद्धान्तिक बुझाई हुन सक्दछ । यसमा बढी टिप्पणी नगरुँ । तथापि प्रकाश यस्तो हुनुमा सबभन्दा बढि जिम्मेवार प्रचण्ड हुन ।
“लौ बाऊ म देशमा शान्ति र संविधानका लागि सगरमाथा चढ्छु । सरकारलाई सहयोग माग्दिनु पर्‍यो !” छोराको ख्वाहिस सुन्दासाथ रक्सीको नशामा चूर हुने छोरा सुध्रिएछ लौ अब यो पनि देश र जनताका बारेमा सोच्ने भएछ भन्ने लाग्यो होला विचरा पिताजीलाई आफ्नै दलको नेतृत्वको सरकारलाई आदेश दिए – “लौ, हाम्रा पुत्र शान्ति र संविधानका लागि सगरमाथा चढ्ने ख्वाहिस राखिरहेछन् दुई चार करोड ब्यवस्था गर्नु पर्‍यो !” आफूलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान बनाउने आफ्ना मालिकका खातिर हाम्रा डाक्टर पछि हट्ने कुरै भएन । आखिर सुप्रिमोको आज्ञा हो । भनिदिए – “हस मालिक ! कति चाहिएला प्रकाशबाबुलाई ?” मुख्य कुरो यहि बाट बिग्रेको छ । प्रचण्डको खास स्खलन यहिनेरबाट भएको छ । यहि विन्दुमा आईपुगेपछि प्रचण्डले आफ्नो राजनैतिक प्रतिष्ठा त धुमिल बनाए बनाए, आफ्ना एकमात्र पुत्रलाई बिग्रने बाटोतिर लाग्न प्रोत्साहन पनि गरे । यता बाबा चाँहिलाई लाग्यो छोरो सगरमाथा चढ्न हिड्यो शान्ति र संविधानका लागि उता छोराले शान्ति र संविधानलाई गोली मार्‍यो । बिनालाई काखी च्याप्यो र आफ्नो उन्मत्त यौवनको प्यास बुझायो । परिणाम अहिले छोराले दुर्नाम गर्‍यो उसको क्रान्तिकारीताको !
यसबाट सबैले एउटा पाठ सिक्नु जरुरी छ – सन्तान भनेका आफू विनाका हुन् । अहिले देखिनै आफ्ना सन्तानको उज्ज्वल भविष्यका बारेमा सोचौं । नत्र पछि सुप्रिमो झैं पछुताउनु पर्ला !
1 comment

Popular Posts