Skip to main content

साउना र नाङ्गा मान्छेहरू

साउना लिने कोठा । तस्बीर स्रोत

त्यतिखेर म फिनल्याण्ड झरेको पुगनपुग एक हप्ता भएको थियो । विद्यार्थी युनियनले एउटा भेटघाट कार्यक्रम राखेको थियो र त्यहाँ साउना पनि हुँदै थियो । “हो त मान्छेहरु सबै नाङ्गै भएर भित्र छिर्ने हो ।” नेपालबाट आएका एक सिनियर विद्यार्थीले साउनाका बारेमा यो वाक्य बोलेका थिए । र, मलाई भित्रैदेखि शरम लागेर आएको थियो । म पानीपानी भएको थियो, मलाई लाग्यो – छिः साउनामा बस्ने सबै मान्छेहरुको अगाडि आफ्नो नीजि अंगको प्रदर्शन म कसरी गर्न सक्छु ? यस्तैमा सिनियर मध्येका एक जनाले आफ्नो अनुभव सुनाएका थिए, “हैन त्यस्तो लाजै लाग्ने भए त भित्री वस्त्र (अन्डरवेयर) लगाएर जाँदा पनि हुन्छ । मैले त्यसै गरेको थिएँ ।” उनको कुरामा असहमत हुँदै अर्का एकजनाले सुझाए –“साउना पनि कोही कट्टु लगाएर जान्छ ? साउना भनेकै नाङ्गै बसेर आनन्दले वाफ लिने हो, पसिना झार्ने हो । कट्टु लगाएर साउना जानु स्वास्थ्यका लागि उति फाइदाजनक कुरो हैन ।” म त्यसदिन बिलखबन्दमा परेँ । पहिलो पटकको अनुभव भएकाले साउना जान मलाई भित्रैदेखि ईच्छा जागेर आएको थियो, र फेरि नाङ्गै मानिसहरुबीच बस्ने कुराले कताकता चिमोटी रहेथ्यो ।
कलेजको शुरुका दिन कक्षामा रहेका सबैजनालाई चिन्न मुश्किल भैरहेकाले पनि म त्यस भेटघाटलाई छुटाउने विचारमा थिइँन । मैले त्यसलाई साथीहरु चिन्ने अवसरका रुपमा बुझेँ । र, मसँगै आएका केहि नेपाली साथीहरुसहित त्यो पार्टिमा उपस्थित पनि भएँ । विद्यार्थी युनियनका साथीहरुले खेलका माध्यमबाट विद्यार्थी जीवनमा आउन सक्ने केहि अप्ठ्यारा परिस्थितीहरु र ती परिस्थितीहरुको सामना गर्न लिनुपर्ने सृजनात्मक पहलकदमीका बारेमा जानकारी गराईसकेपछि हामी पार्टीमा रम्न पुग्यौं । सबैजनाले आफूले पिउने चिजहरु आफैले व्यवस्था गरेकाले विद्यार्थी युनियनले अनावश्यक खर्च पनि गर्नुपरेन । आफूसँग जे छ त्यो पिउँदै सबैजना पार्टिमा खुब झुमिरहे । पार्टीकै बिचमा केटीसाथीहरु साउनाका लागि गए । र, उनीहरुको पालो पछि हाम्रो पालो आयो । 
एकएक गर्दै फिनिस, अफ्रिकन र हामी नेपालीकेटाहरु नाङ्गियौं । फिनिसहरुलाई यो नौलो विषय थिएन, सानैदेखिको अनुभव । तसर्थः उनीहरु चिसो पानीले जिउ पखालेपछि सामान्य रुपमै साउनालिने कोठाभित्र छिरे । अफ्रिकन चाँहि एकजना मात्र थिए । उनको पनि हाम्रो जस्तै लज्जालु चरित्रको संस्कार हुनेभएकाले होला आफू मानिसहरुका विचमा नाङ्गै हुँदा असहज महशुस गरिरहेथे । म र मेरा अर्का नेपाली साथीलाई चाँहि यो शरमकै विषय थियो । किन्तु, सानो छँदा आफ्ना स्कुले साथीहरुसहित गाउँ नजिकै खोलामा गएर नाङ्गै भएर पौडिएको चाँहि मैले त्यस बखत पनि विर्सिन सकिनँ । मलाई साउनाको फाइदा वा बेफाइदा केहि पनि थाहा थिएन । सायद साउनाले ब्यक्तिको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा पूर्व जानकारी हासिल गरी साउना लिन गएको भए मलाई यति सारो शरम लाग्ने थिएन होला, तर पहिलो पटक भएकाले साउना लिनलाई त्यो ८० डिग्री सेन्टिग्रेडको तापक्रम भएको कोठामा २०–२५ मिनेट बस्दाको पूरै समयभरी मेरो देब्रे खुट्रटा दाहिने खुट्टामाथि खप्टिरह्यो । मलाई डर थियो – कतै मेरो गोप्य अंग प्रदर्शन होला कि ! साउना लिदैँ गर्दा हाम्रा फिनिस साथीहरु आफ्नो साउना परम्पराका बारेमा बोलिरहेका थिए । उनीहरुले बताए कि प्रत्येक फिनिस ब्यक्ति आफ्नो घरमा साउना होस् भन्ने चाहन्छ । साथै उनीहरुले आफ्ना साउना अनुभवहरु पनि सुनाए । उनीहरु मध्ये कसैले टिप्पणी गरे – साउनाकोठा यस्तो ठाउँ हो जहाँ कसैले कसैको नाङ्गोपनको हाँसो गर्न मिल्दैन !
एउटा बन्दकोठाको एक कुनामा राखिएको विध्युतिय हिटर, त्यसमाथि तताइएका ढुंगाहरु र तातिएका ढुंगामा पानी खनाउँदा निस्कने बाफ र त्यही बाफ लिदै, खलखली पसिना चुहाइरका केहि थान नाङ्गा मान्छेहरु । अनि ती नाङ्गा मान्छेहरुका भलादमी भलाकुशारी । सामान्यतयाः यस्तै हुन्छ साउनाकोठाको वातावरण ! एउटा अचम्मको कुरो के छ भने मानिसहरु नाङ्गै हुँदा गफहरु भलादमी हुँदा रहेछन्, मैले मेरो जीवनकै पहिलो साउनामा यस्तै अनुभव गरेँ । त्यस बन्दकोठामा हामी नाङ्गा मानिसहरुले साउना लिदाँ मुटुको धड्कनमा आउने अचानक तिब्रता, त्यस तिब्रताले रक्त सञ्चालनमा ल्याउने गति, मानव शरीरबाट निस्कने पसिना र यी सबैले मानिसको स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी पायौं । हाम्रा फिनीस साथीहरुले जानकारी गराए कि साउना केटाकेटी दुवैले सँगैपनि लिन मिल्छ यदि साउना लिनेहरुले एकअर्कालाई राम्रोसँग जान्दछन् भने । यो अस्वभाविक रहेन किनकी साउनामा नाङ्गै बसिन्छ, तर नाङ्गा हर्कतहरु गरिदैन ।
साउना फिनिस जनताहरुको राष्ट्रिय परम्परा हो । सम्भव भएसम्म एउटा फिनिस मान्छे आफ्नो घरमा एउटा साउना लिने कोठा होस् भन्ने चाहँदा रहिछन् । र, पचास लाख मानिसहरुको बसोबास भएको फिनल्याण्डमा दश लाख भन्दा बढि साउना छन भनिन्छ । करिबकरिब एक साउना प्रतिघर ! 
1 comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…