Puhutko sinä suomia?



तस्बीर श्रोत
नढाँटि भन्नुपर्दा, फिनल्याण्डमा काम पाउनु गार्‍हो नै हो । अनि सजिलो पनि ! तर यहाँ हाम्रोमा जस्तो अस्तब्यस्त नहुने रहिछ । काम चाहिएको मान्छे काम दिने मान्छेकोमा गएर ढोका ढकढाउने चलन त छँदै छैन भन्दा पनि हुन्छ । किन्तु, यहाँ काम पाउने दुईवटा तरिकाहरु रहिछन् – पहिलो कुनै ठाउँमा काम गर्दै गरेका साथीभाईको सिफारिशमा सम्बन्धित कम्पनिको सुपरभाइजर वा प्रमुखलाई भेट्ने, दोश्रो श्रम मन्त्रालयको वेभसाइटमा राखिएका आवश्यकतासम्बन्धी बिज्ञापन छान्दै फर्म भर्ने ! फेरि पनि महत्वपूर्ण कुरा यो छ कि न पहिलो तरिकाबाट काम खोज्नका लागि धेरै मान्छेहरुका आफ्नै मान्छेहरु यहाँ हुन्छन् न त अरुले त्यसबारे बेकारमा टाउको दुखाउने कुरो नै हुन्छ । अब रह्यो दोश्रो तरिका – फर्म भरेर जागिर पाएको भन्ने रेकर्ड कमै हुने गर्दो रहिछ यहाँ । खासमा कुरो के पर्दो रहिछ भने, यस्सो काम पाईन्छ कि भनेर फोन गर्यो भने काम दिने भनिएको कम्पनीको फोन उठाउने ब्यक्तिको पहिलो प्रश्न हुन्छ – Puhutko sinä suomi? जसको अर्थ हुन्छ – तिमीलाई फिनिस बोल्न आउँछ ? 

आएको दुई महिनापछि बल्ल आज काम खोज्ने जाँगर चलेपछि मैले त्यो फिनिस श्रम मन्त्रालयको वेभसाइटमा भेटिएका चार थान फोन नम्बरहरुमा पालैपालो कल गरेँ । शुरुको कम्पनीमा गरेको फोन भद्र आवाज भएकी एक भलादमी आईमाईले उठाइन सायद, भन्दैथिईन् – “यो कार्यालयमा मुश्किलले अङ्ग्रेजी बोल्ने म एक्लो मात्र हुँ । अरु कोही अङ्ग्रेजी बोल्दैनन्, तिमी बबुरो फिनिस नजान्दो रहिछौं, फिनिस राम्रोसँग बोल्ने भएपछि फेरि कल गर्नु हैं !” मैले “हस” भन्नु बाहेक के नै भन्नुथियो र ? तर जेहोस् फोन राख्दै गर्दा उनले – कम्तिमा फोन गरेकोमा चाँहि धन्यवाद दिन नबिर्सिदा मन चाँहि शितल भएर आयो । मनमन यस्तो पनि लाग्यो – “यिनकोमा पो यिनी एक्लो मात्र अङ्ग्रेजी बोल्ने छिन्, अरु कम्पनीमा त फिनिस नजान्नेलाई पनि त काम देलान नी !” यहि सोच्दै कल पनि गरेँ । बिचरा मसँगै “मपनि कल गर्छु हैं” भन्दै पालो पर्खेर बसेको नेपाली भाई मभन्दा बढि निराश भएको देख्दा टिठ लागेर आयो ! 

एक, दुई, तीन गर्दै कागजमा टिपेर राखेको चारैवटा फोन नम्बरहरुमा कल गरियो । अहँ कसैले फिनिस नजानेकोलाई जागिर छ भनेनन् ! पछि आफैदेखि हाँसो लागेर आयो– “साला ! कोठामा बसेको अरु साथीले जागिरका लागि फोन गरेको थाहा पाउँलान् भनेर लुकीलुकी फोन गर्न हिडेको उल्टो लोप्पा खाईयो । कसैले जागिर दिएनन् !” कोठामा आएर साथीहरुलाई सुनाएको हाँसोको भुर्चालो ! 

तर बेलुकी खाना खानेबेलामा एउटा खुशिको कुरो सुन्न पार्इयो – छानामा चढेर हिउँ फाल्ने कामका लागि एकजना साथीलाई अन्तरबार्ताका लागि डाकेको रहिछ ! तर खुशी पनि के भन्नु र ? आफूले काम पाएको हैन, साथीले पा'को ! खानाको गाँस हाल्दै गर्दा मनमनै प्रतिज्ञा पनि गरेँ आज – चाहे त्यो जुनसुकै काम होस् म नाक खुम्चाउनेवाला छैन्– त्यो भाँडा माझ्ने होस् वा हिउँ फाल्ने । भुँई पुछ्ने होस् वा पत्रिका फाल्ने । त्यो जुनसुकै होस् यहाँ म त्यो काम गर्दिन भनेर बसेर हुनेवाला केहि छैन । यहाँ आएपछि जान्नैपर्ने कुरो के हो भने नेपालमा म के थिएँ त्यसले यहाँ केहि अर्थ राख्दैन् । नेपालमा हाकिम भएपनि, पत्रकार भएपनि, शिक्षक भएपनि वा प्राध्यापक भएपनि जे भएपनि यहाँको भाषा नजानुन्जेल गर्ने भनेको त्यहि हो – भुई पुछ्ने कि पत्रिका फाल्ने ! रातीराती वा बिहानैबिहान – जतिखेर जुनबेलापनि !  
7 comments

Popular Posts