हेलसिन्कीको चिसो र उनको न्यानो स्पर्श


स्थलगत अध्ययनका लागि विद्यालयले हेलसिन्की जान अर्‍हाएपछि म मेरो समूहसँगै २० मिनेटको रेलको यात्रा गरेर नोभेम्वरको अन्तिम हप्ता हेलसिन्की पुगेको थिएँ । के गर्ने ? कसरी स्थलगत अध्ययन गर्ने ? सबै कुरा अज्ञात थिए मेरा लागि । र, मेरा समूहका अरु साथीहरुका लागि पनि ! त्यसकारण हामीहरुले निर्णय गर्‍यौं, केहि पनि नगर्ने । सिवाय हेलसिन्कीको केन्द्रिय रेल्वे स्टेशनका वरिपरी चक्कर काट्ने र केहि लायकका दृश्यहरु देखियो भने तस्बिर लिने । अब लायकको पनि के दृश्य देखिने होला ? जबकी हाम्रो अध्ययनको विषय थियो – लागू पदार्थ दुर्व्यसनी र मानसिक समस्याले शिकार भएका मानिसहरु ! साथीहरु चाँहि तीनै लायकका दृश्यहरुको खोजिमा जुटे, म चाँहि भेटेसम्म ती ब्यक्तिहरुसँग कुराकानी गर्ने अठोटका साथ त्यही सेन्ट्रल स्टेशनको चक्कर काटिरहेँ । त्यो दिन, मेरो समूह कार्यमा योगदान पुग्ने गरेर खास उपलब्धीमुलक त्यस्तो केहि सूचना वा ज्ञान त हात लागेन मलाई तर पनि केहि फिनिस मानिसहरुलाई नजिकबाट बुझ्ने अवसर चाँहि प्राप्त गरे भन्ने लागेको छ मलाई  ।
कोहिसँग पनि तुरुन्तै बोलिहाल्ने आँट जुटाउनै नसक्दा मलाई आफ्नै अवस्थाप्रति टिठ लागेर आयो । जसलाई हेर्‍यो ऊ निकै हतारोमा छ भन्ने प्रतित भैरह्यो । जता हेर्‍यो त्यतै मान्छेहरु कुदेका कुदै छन् । कसलाई रोकेर के सोध्ने ? यस्तै अलमलमा म नजिकैको भवनभित्र छिरे । भित्रपट्टि पुगेको केहि थान मानिसहरु चुपचाप बसिरहेको भेटेँ । एकदम शान्त ! अगाडिपट्टि मैनबत्ति बलिरहेको देखिन्थ्यो, र आडमा एउटा पवित्र धार्मिक ग्रन्ध खोलिएको जस्तो देखिन्थयो । भित्रको दृश्य नियाल्दै गर्दा मैले मेरो काँधमा एउटा तातो स्पर्श अनुभूत गरेँ । त्यहाँ एउटी बुढी आइमाई मेरो पछाडी उभ्भिरहेकी थिईन । सायद म त्यस पवित्र स्थानसँग सम्बन्ध राख्दिनँ भन्ने उनले अड्कल काटिछिन् क्यार, बाहिर निस्किदै गर्दा मेरो कानमै आएर फुस्फुसाईन् – “तिमी अर्कै धर्ममा आस्था राख्ने मान्छे हौ कि जस्तो लाग्यो, तर तिमीलाई यहाँ देख्दा मलाई आनन्द लाग्यो । किनकी यो ठाउँ अत्यन्तै शान्त छ । यहाँ आउँदा हरेकको मनमा एकखालको अनुभूति हुन्छ, एकदम आनन्ददायक !” ती बृद्धा अङ्ग्रेजीमा बोल्दै गर्दा नै मलाई उनको बुद्धिमत्तापूर्ण होशियारी सारै मन परेको थियो । अझ उनले मप्रति देखाएको सदभाव र उनले प्रक्ट गरेको कृतज्ञताले मलाई नछुने कुरै भएन्, मैले नढाँटि भनिदिएँ – “म बुद्धको देशमा जन्मेको एउटा हिन्दु हुँ । तर म संसारका सबै धर्म र विश्वासलाई वरोवर आदर गर्दछु !” मेरो जवाफ सुनेपछि उनले केहिसमय मसँग भलाकुशारी गर्न चाहिनँ । लजाउने स्वभाव भएका फिनिसहरुसँग मैले खास भलाकुशारी नै गर्न पाएको थिइँन । तर त्यो दिनलाई आज पनि याद गर्दा मलाई विश्वास हुँदैन् कि हिउँले पूरै सेताम्मे भएर ढाकिएको हेलसिन्कीको चिसोमा ती बुढी आईमाईले कति न्यानो बाडिन् मसँग । लागूपदार्थको दुव्र्यसनीका बारेमा केहि खोजी गर्न गएको मलाई उनले आफ्नो प्यारो भारतीय प्रेमीसँग भियनामा साटेका प्रेमका बारेमा बताइँन । उनले हामी दक्षिणी एशियालीहरुको इमान्दारिता, निर्दोशता र प्रेमील विशेषताको खुलेर प्रशंसा गरिनँ । मलाई अझै अविश्वास छ, पूरै एकलकाँटे जीवन बाँच्ने पश्चिमाहरुभन्दा माथि उठेर उनले मेरो बसाईका अनुभवहरुका बारेमा जान्न चाहिँन । फिनल्याण्डको अप्रसिद्ध चीसोबाट कसरी बच्ने अनि यहाँको अन्धकार चीसो ऋतुको दिनरातसँग कसरी अभ्यस्त हुने सबैसबै कुराहरु राम्ररी सम्झाईन् । मानौं पहिलो पटक घर छाडेर मुग्लान पस्न लागेको छोरालाई जानीनजानी एउटी ग्रामीण आमा सम्झाउँदैछिन् – परदेशमा कसरी आफू र आफ्नो स्वास्थ्यको ख्याल गर्ने ? झण्डै आधा घण्टे कुराकानीलाई बिट मार्दै म हिड्न लागेकै बेलामा उनले एउटा जीवन दर्शन पनि सिकाइँन – “खुशी भएर बाँच्ने प्रयत्न गर ।” 
बृद्धासँग कुरा गरे सक्काई सकेपछि मेरो वरिपरी मैले मेरा समूहका कोही पनि साथी भेटिनँ । पाँचसात मिनेट यताउता खोजेपछि बल्ल साथीहरु भेटिए । उनीहरु मैतिर एकतमास हेर्दै थिए । मैले केहि बोलिनँ । अन्ततः घर फर्कने निधोमा पुगेपछि हामी छुट्टियौं । म फेरि त्यही सेन्ट्रल स्टेशनमा कुद्दै थिएँ हातमा २० सेन्ट समातेर । चर्पी खोजिरहेथेँ – मुत्र विसर्जनका लागि । तर कहिँ भेटिनँ । एउटा युवालाई सोध्दै थिएँ, एकजना बृद्धले मलाई समातेर चर्पी भएको तिर लगे । २० सेन्ट उनितिर तेर्साउँदै सोधेँ – यो कहाँ खसाल्ने ? कस्तो अचम्म ? उनले मलाई २० सेन्ट फिर्ता दिदै भने – “यसमा चाँहि निशुल्क प्रयोगको ब्यवस्था छ !” धन्य हुन ती बुढा बा, जसले मेरो २५ ने.रु जोगाईदिएँ !
त्यो दिन हेलसिन्कीबाट रेल चढेर आफ्नो निवासस्थान फर्कदै गर्दाको २० मिनेटसम्म मैले ती दुईजना बृद्धा र बृद्धलाई खुबसँग सम्झेँ । एकदम आफन्तहरुको झैं उनीहरुको याद आयो । एकदम ।

Comments

Unknown said…
Yaha ko lekhan saile ko ma kadar garchu...ra sachikkai aananda ko anuvuti hun6 tapaiko lines haru padda..keep giving ur best,my bro..wish u luck.

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)