मेरो नयाँ वर्ष र र्इश्वी सन्


तस्बीर स्रोत
प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मेरो समयरेखामा आजबाट २०१३ त्यसरी नै थप गर्‍यो जसरी एक बर्ष अगाडि मध्य पौषको कुनै एकदिन ईश्वी सन् २०१२ को पहिलो दिन अरुसबैसँगै मेरो जीवनमा पनि पर्दापण भएको थियो । हुन त नयाँ वर्षहरु थुप्रै नै आए जीवनमा जसै गरी ईश्वीसनको नयाँ वर्ष २०१३ आएको छ, परन्तु बिक्रम सम्वतको नयाँ वर्षमा जस्तो खास रौनक ईश्वी सनको नयाँ वर्षले ल्याउन सकेको छैन मेरो जीवनमा । यस अर्थमा धेरै मान्छेहरुले मलाई बिक्रम सम्बतको पक्षपाती पनि भन्लान् । तथापि म बिक्रम सम्बतको पक्षपाती भन्दा पनि ईश्वी सन् र यस इतरका पक्षहरुले हाम्रो मौलिकतामा पारेको दुष्प्रभावबाट केहि बढि चिन्तित छु । नढाँटि भन्नुपर्दा, ईश्वी सनको नयाँ वर्ष र यो सँगसँगै आउने विभिन्न उत्सवहरुले खास अर्थ दिदैनन् मलार्इ ।  यति हुँदाहुँदै पनि यसका केहि निश्चित तर विशिष्ट विशेषताहरुले मलाई लोभ्याउन भने छाडेका छैनन् जस्तो कि प्रत्येक फ्रेबुअरी १४ मा मनाइने प्रणय दिवस, अप्रिल १ को “अप्रिल फुल”, मे १ को अन्तर्राष्ट्रिय श्रम दिवस त्यस्तै डिसेम्बर १ को विश्व एचआइभी एड्स दिवस । यसलाई म विश्व भूमण्डलीकरणको प्रभाव भनूँ वा दुष्प्रभाव ! साँस्कृतिक साम्राज्यवाद भनूँ वा साँस्कृतिक विचलन किन्तु आफ्नै सनातनदेखि चल्दै आएका परम्परालाई हृदयदेखि माया गर्ने एक नागरिकका हिसाबले गम्भीरतापूर्वक विश्लेषण गर्दा मैले सधैं आफूलाई “खतराको घेरो” भित्र पाएको छु । र, थुप्रै मौलिक संस्कारहरु गुमाईरहेको महशुस गरेको छु । 
एउटा जातीबाट माथि उठेर हेर्ने हो भने, मेरो आफ्नै परिधीलाई नाघेर विस्फारित तरिकाले बिश्लेषण नै गर्ने हो भने झण्डै केहिसय वर्षपहिले देखि औपचारिक प्रचलनमा रहेको विक्रमादित्यको क्यालेण्डरमा नै म आफ्नोपन देख्छु/भेट्छु । तर यसको अर्थ यो हैन कि नेपाल सम्बत वा अरु यस्तै केहि समुदाय एवं संस्कार विशेष क्यालेण्डरको म विपक्षमा छु । मेरो भन्नुको अर्थ चाँहि के हो भने कम्तिमा पनि सनातनदेखि प्रचलनमा रहेका र हाम्रा आफ्नै मौलिक विशेषता बोकेका संस्कारहरुमा हामीले गर्व गर्ने सामर्थ्य वा साहस चाँहि राख्नुपर्छ । हामी वास्तवमै एकै निमेषको झिलिमिली र चमकदमकबाट निकै नै प्रभावित बन्दै आएका छौं । यसलाई हामीहरु कतिपयले जेजस्तो वातावरणमा पनि घुलमिल हुन सक्ने हाम्रो खुबी हो भनेर गर्वको विषय पनि बनाएका हौला, तर यसलाई मैले त्यो भन्दा पनि बढी हामीमा अरुहरुको नक्कल गर्ने वानी छ भनेर बुझेको छु । किनकी शितलहरले मेरा मधेशका मान्छेहरु कन्ठ्याङग्रिरहेको बखत, मेरा हिमालका मान्छेहरु हिउँ भित्र छोपिएको समय मेरो नयाँ वर्ष आउँदैन, मेरो नयाँ वर्ष त त्यतिखेर आउँछ जतिखेर मेरा जंगलका बेपाते रुखहरुमा मुना पलाउन थाल्छन् र जसको दृश्यपानले मलाई जीवनमा दुःख र सुख बरोबर आउँछन् भन्ने तथ्यको शास्वत पक्षलाई बोध गराउँदछ अनि मेरा थाँति रहेका कामहरु पूरा गर्नका लागि नयाँ जोश, उमंग र उत्साह पैदा गर्दछ । बितेको बर्षमा आफ्ना मनोकाङ्क्षा प्राप्तीका लागि निरर्थक बनेका सत्प्रयासहरुको स्मरण गर्दै अझ भिन्न तरिकाले, परिमार्जित कार्ययोजनका साथ अगाडि बढ्ने प्रेरणा दिने त्यो दिन बसन्त ऋतुको मध्य समय आउँछ । र, त्यसलाई म बैशाख १ भनेर जान्दछु । 
एकातिर यो सत्य त छदैँ छ तर परिस्थतीवश मैले पछ्याउँदै आएको मेरो सनातनदेखिको प्रचलन अहिले म बस्दै आएको स्थान विशेषमा अस्तित्वमा छैन भन्ने अर्को सत्य पनि मेरा लागि उत्तिकै महत्वपूर्ण विषय हो । यहाँ मसँग निहीत मेरो परम्परा, संस्कार र संस्कृतिभन्दा धेरै भिन्न प्रकारको परम्परा, संस्कार र संस्कृति प्रचलनमा छ । त्यसकारण, यस बखत मेरा लागि सत्य यो पनि हो कि ईश्वी सन्को क्यालेण्डरमा पूर्णतः निर्भर रहनु निशर्तः अपरिहार्य छ मलाई । यस सत्यलाई शिरोपर गरि मैले केहि योजनाहरु बनाएको छु । मैले ईश्वी सन्को पछिल्लो वर्ष गरेका त्रुटीहरुबाट पाठ सिक्दै आफ्नो ब्यक्तित्व विकासका साथसाथ समाज रुपान्तरणमा ठोस योगदान पुर्‍याउने मेरो उत्कट चाहनालाई मूर्त रुप दिने प्रयास जारी राख्नेछु । गतवर्ष देखि आंशिक रुपमा त्याग गर्ने निर्णय गरेको मदिराजन्य पदार्थको सेवनलाई ईश्वीसन्को यो नयाँ वर्षसँगै पूर्णतः परित्याग गर्ने अठोट गरेको छु (साथीहरुसँग मनाएको न्यू एअर इभमा पनि मैले मदिरा पिइँन :) ) । र, सबभन्दा महत्वपूर्ण कुरो त विश्वभर अस्तित्वमा रहेका सबै भाषा, संस्कार, रितीरिवाज, चालचलन र अरु धर्मका मूल्य र मान्यताहरुलाई सम्मान गर्दै मेरो आफ्नो मौलिकतामा भएका अनावश्यक हस्तक्षेपहरुको सस्वर विरोध जारी राख्ने प्रण गरेको छु । 
यदि यहाँसँग पनि केहि प्रतिज्ञाहरू छन् भने बाँडिदिनु होला हैं !
2 comments