एउटा पत्र प्रिय सहिदहरूलार्इ



दिवंगत सम्पूर्ण मेरा प्रिय सहिदहरु
भावपूर्ण श्रद्धान्जली
लेख्नुपर्ने विषयहरु धेरै छन् । सन्दर्भहरुपनि थुप्रै छन् । प्रसङ्गहरु त कति छन् भनिसाध्य छैन । त्यसकारण पनि म अलमलमा छु – पत्र लेख्छु भन्ने अठोट त गरेँ, परन्तु शुरु कसरी गरुँ ? जेहोस्, आफ्ना प्राणको आहुति दिएर कम्तिमा पनि मलाई र मेरा आफन्तहरुलाई बाँच्ने वातावरण निर्माण गराईदिनु हुने तपाइँहरुजस्ता महान ब्यक्तित्वहरुलाई म भूपिले जस्तो चूनौति दिन असमर्थ छु – .. मरेर शहिद हुनेहरु हो जिएर त हेर जिउन झन गार्‍हो छ ... यस्तो हाँक दिन असहज लाग्दछ मलाई । सायद, त्यत्रो घगडान हैसियत बनी सकेको छैन मेरो । खैर, भूपिले के भनेका थिए भन्ने विषयमा ब्याख्या गर्ने हेतू होईन मेरो । समयको पाबन्दी छ मलाई । अलिकति कामकाजी छु । ब्यस्त छु – कुनैपनि विषयमा त्यति विधी गहिरिएर विश्लेषण गर्ने समयको अभाव छ मसँग । तरपनि किञ्चित विस्मात छैन मलाई कि मैले मेरा सहिदहरुलाई पत्र लेख्नका लागि पनि आवश्यक समयको चाँजोपाजो मिलाउन सकिनँ । किनकी, म परिस्थितीको दास छु । र, मलाई यस्तै ब्यक्तिवादी बनाएको छ मेरो समाजले । यहाँहरुलाई अवगत गराईहालुँ कि मेरो समाजले मलाई सिकाएको जीवन दर्शनको ब्याख्यामा वितेको समयको समिक्षा गर्नु अनावश्यक र फजूल कुरो हो । तसर्थः जे लेख्दै छु, थोरै लेख्दैछु । र, वर्तमान लेख्दैछु ।
सहिदगेट काठमाडौं । फोटो सौजन्यः नेपाली ब्लगर डट कम
प्रिय सहिदहरू, निम्न माध्यमिक तहको भुरो नै थिएँ म त्यतिखेर जतिखेर मलाई यहाँहरुको बारेमा पढाईयो । यहाँहरुका विषयमा पढ्दा बेग्लै किसिमको अनुभूति हुन्थ्यो मलाई । र, फरक तर एकदम औपचारिक लाग्ने यहाँहरूको सम्मानमा आयोजना गरिने मौनधारणका समयमा पंक्तिबद्द भर्इ उभिएर एक मिनेट बिताउन समेत निकै हम्मेहम्मे लाग्थ्यो । अनि साँच्ची मलाई राम्ररी याद छ – कि यहाँहरुलाई जिएर हेर्न चूनौती दिने उनै भूपिले यहाँहरुको आहुतिको महत्वलाई बोध गराउँदै हाम्रा लागि एउटा कविता पनि लेखिदिएका थिए – हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ...! मेरा सहपाठीहरुसँग बडो भाका मिलाएर पढ्थे मैले यो कविता । कविता मन परेर भन्दा पनि नेपाली गुरूले साँच्चिकै मजाको लयमा यो कविता पढाउनु हुन्थ्यो, उहाँको लयलाई नक्कल गरेर पढ्दा थुप्रैपटक पढियो यो कविता । यो कवितामा प्रयुक्त शब्दहरु खासगरी “दुईचार सपुत मरेर” गएपछि देश बन्छ भन्ने आशयले सार्‍है आशा पनि जगाउँथ्यो हामीलाई । हुनपनि हामीले पढेका सहिदहरु पनि दुईचार थान त हुनुहुन्थ्यो । अरु त को नै पढ्यौं र ? उहि जहानियाँ राणा शासनको विरोध गर्दा सहिद हुनुभएका धर्मभक्त, शुक्रराज, दशरथ र गंगालाल मात्रै त हो हामीले जानेका सहिदहरु ! अनि यस्तो लाग्थ्यो मलाई – सहिदहरु पनि त ठ्याक्क चारै थान त दिवंगत हुनुभएको रै’छ, अब कसो नबन्ला र देश ? विस्तारै बुझ्ने भएपछि थाहा लाग्यो हामीले पढ्ने गरेका चार जना बाहेक अरु थुप्रै सहिदहरु हुनुभएको रै’छ – प्रथम सहिद लखन थापामगर देखि पञ्चायत कालमा पञ्चेहरुले निर्ममतापूर्वक घाँटी सेरिएका भिमदत्त पन्त, सुखानीमा प्राण हरण गरिएका सहिदहरु देखि झापा विद्रोहमा मारिएका सहिदहरु । उमेर बढ्दै गएपछि सहिदहरुको लामो सूची तयार भो । १० वर्षको द्धन्द्धमा मारिएका नेपाल आमाका १४ हजार महान छोराछोरीहरु पनि त सहिद नै त थिए । उनीहरु पनि जातिय, वर्गीय, भाषा, लिङ्गीय र क्षेत्रीय शोषणबाट मुक्तिका लागि लड्दालड्दै सहिद भएका थिए । तर खाँटी कुरो के रह्यो भने भूपिले भनेजस्तो दुईचार हैन हजुरहरुजस्ता महान हजारौं हजार सपुतहरु मरेर जाँदा पनि मेरो देश बनेन ! कठै यो देश बनेन !
प्रिय सहिदहरू, हुँदाहुँदा अहिले त सहिद भन्ने शब्दकै हुर्मत लिइएको छ । मैले सत्य लेख्नै पर्ने हुन्छ चाहे यहाँहरुले यो सत्यलाई सहजतापूर्वक ग्रहण गर्न असमर्थ रहेपनि । तर म निवेदन गर्न चाहन्छु, मेरो मनशाय यहाँहरुलाई चोट पुर्‍याउनु कदापी हैन । अब भएकै यस्तै छ यहाँ, म नलेखुँ कसरी ? सवारी साधनहरु सडकबाट नदीमा खस्दा मर्नेहरु हुन या सवारी साधनले ठक्कर दिएर सडकमा ठहरै हुनेहरु हुन, गुण्डागर्दीका क्रममा हुने गुण्डागुण्डाहरुबीच हुने मारकाटका बेलामा सिलटिमुर खाएकाहरु हुन या घरायशी झगडामा ज्यान गुमाएकाहरु हुन सबैसबैलाई सरकारी घोषणाबाट प्रस्टै पारिएको छ – उनीहरु सहिद हुन् । यो कस्तो बिडम्बना ? यसलाई यहाँहरु हाम्रा सम्माननीय शासकहरुको उदारता ठानेपनि ठान्नुस, वा राजनीति माने पनि मान्नुस् । यहाँ त प्रचलन बसिसकेको छ – कालगतीले बाहेक लडाईझगडा, कुटपिट, दुर्घटना वा विश्व रेकर्ड राख्ने सनकमा आगोमा “रोष्ट” भएर मर्नेहरु हुन उनीहरु सबैलाई सहिद भनिने गरेको छ । र, उनीहरुका परिवारलाई गोडा दशेक लाख पनि बक्सिस दिइने गरिएको छ – महान सपुत जन्माएकाले हुनुपर्छ सायद । अनी साँच्ची, अस्ति हुँदो जंगलबाट बौलाएर बस्तीमा पसेको “ध्रुबे” नामको हात्तिले पनि हामीलाई थप केही सहिदहरु दिएको छ । र, प्रिय सहिदहरु यहाँहरुलाई पछिल्लो जानकारी पनि गराईहालूँ, सत्ताबाट केहि समय बाहिर बस्न परेकोमा आपत्ति जनाउँदै केही दलहरु फेरि आन्दोलनको जेहाद छेड्दै छन अरे पक्कैपनि अरुकेहि थान सपुतहरु रोलक्रममै हुनुहुन्छ होला – सहिद बन्ने ! र, हामी जिउँदाहरु चाँहि त्यसैत्यसै गौरभान्वित भएका छौं – सहिदहरूको फस्टाउँदो उत्पादनको साक्षी बनेर । थाहा छैन कि यो सहिद उत्पादन कहिले बन्द हुने हो ! अहँ कसैलाई केहि हेक्का छैन र चासो पनि । मात्र यत्ति थाहा छ सबैलाई कि सहिदहरुको उत्पादन उत्साहजनक छ । अहिलेसम्मकै बिद्धान प्रधानमन्त्री संलग्न सरकार छ हाम्रो, आर्थिक समृद्धि र विकाशमा छलाङ मार्ने भाषणहरू थुप्रै आएका पनि छन्, ख्वै कतै सहिदहरुको निर्यातको विषयमा पनि केहि सोच्दै होला कि हाम्रो सरकार ?
प्रिय सहिदहरु, जुन कारण आफ्नो बलिदानी दिएका थियौ, त्यो हाम्रा लागि अझै अप्रयाप्य नै छ । हजुरहरु जुन अभिप्रायले गोली खान तयार हुनु भो, घाँटी सेराउन हिच्किचाउनु भएन त्यस्तो खास जनताको हितको ब्यवस्थाको आधार अझै बनेको छैन । एक हिसाबले यहाँहरुका लागि खुशीको कुरो पनि हुन सक्ला कि यहाँका सहधर्मीहरुले पालैपालो सत्ताको स्वाद चाखेकै छन् । तर अर्को हिसावले यहाँहरुका लागि यो अपशकुन कै कुरो हुन पर्ला कि उनीहरूले हिजो हजुरहरुसँगै युद्धमा कबल गरेअनुसारको समता, न्याय र समृद्धि दिन सकेका छैनन् ।  ख्वै, सत्ताको स्वाद पनि कस्तो हुँदो हो, रामजाने ! सधैं लुछाचुडी नै देख्छु म त ! लिसो झैं टासिरहन खोज्छन् उनीहरु ! दुःखका साथ लेख्दैछु कि यहाँहरुको बलिदानीले केही सिमीत मान्छेहरुलाई भब्य र आलिशान जीवनशैली त दियो तर आम गरिपगुरुवाहरुलाई परिवर्तनको केही छनक दिन सकेन । अझै पनि शोषण र उत्पिडनले जरो गाडिरहेको छ समाजमा । अकर्मण्यता, अराजकता, अराजनीति, दण्डहिनता, अन्याय र अत्याचारको त के कुरा भो र भष्ट्रचारले पराकाष्टा नाघीसक्यो ! शान्ति, सुव्यवस्था र अमनचयन हाम्रा लागि आकाशको फल भएका छन् । हामीसँगै स्वतन्त्रको निर्बाध निश्वास लिन शुरु गरेका मुलुकहरु कहाँबाट कहाँ पुगिसके तर हामी जहिँको तहिँ नै छौं । फगत कोरा सपनाहरु मात्र छन् । तर, पूरा हुन्छन् भन्ने पूरापूर विश्वास बाँकी छैन । प्रिय सहिदहरु, निवेदन गर्न पनि लाज लागिरहेछ आफ्नै यथार्थ कि मिल्ने भए नागरिकता विनिमय गर्न लाखौं नेपालीहरुको सागर उर्लने थियो सायद । यो काल्पनिक कुरो गरिरहेको छैन म । किनकी, गीतमा गाएजस्तो “यो नेपाली शीर उचाली ... संसारमा लम्कन्छ ...” ब्यवहारमा बडो अप्ठेरो कुरो छ यो । हेर्नु न म आफै अवसरको खोजीमा विदेशिएको पूरै पाँच महिना भो’ । र, मैले यहाँको होटलरेस्टुँरामा ‘भाँडा मोल्ने, शौचालय सफा गर्ने वा भुँई पुछ्ने काममै मेरा उर्जाशिल युवावयका महत्वपूर्ण कालखण्डहरु व्यतित गरिरहेछु ! अब तपाइँहरु नै बताउनुस मेरा प्रिय सहिद – म ‘निम्छरो’ कसरी नेपाली भएका नाताले शीर उचालेर लम्कन सक्छु ? के आधारमा म मेरो व्यक्तित्व घगडान भएको रहर गर्न सक्छु ? यदि, यो यथार्थ पढेर हिक्का छुटेको छ यहाँहरुको भने, म पुनः विनम्रतापूर्वक अवगत गराउन चाहन्छु मेरा प्रिय सहिद कि यसरी अझै केहि वर्षहरुका प्रत्येक भोरहरुमा मेरो हिक्का निरन्तर छुटिरहनेछ । एकदम निरन्तर !
सबै कुराहरु पत्रमा उल्लेख गर्न समर्थ छैन म । फलस्वरुपः यो पत्र आद्योपान्त अध्ययन गरिसकेपछि पत्रमा उल्लेख भएका कुराहरु मात्र यर्थाथ हो भन्ने नठानीदिनुहोला । प्रिय सहिदहरु, अहिले मुलुकमा जेजस्तो बिडम्बना भएपनि यसको कारक यहाँहरुको बलिदानी हो भन्ने मुर्खतापूर्ण तर्क मेरा लागि अशोभनिय हुन जान्छ । फलतः आफू बली चढेर मलाई मेरो देशको कठिन अभाव र बेथितीका बीचमा पनि निरन्तर बाचिराख्न प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात महान आत्माहरुमा भावपूर्ण श्रदासुमन ब्यक्त गर्दै अर्को सहिद दिवसमा पुनः पत्रमार्फत भेट हुन सक्ने सम्भावना जाहेर गर्दै विदा हुने अनुमति चाहन्छु । धन्यवाद ।
यहाँहरुकै,
नीराजन शिरीष
फिनल्याण्ड




3 comments