यौन हिंसा र हामी लिलिपुटहरू

तस्बीर स्रोत

मलाई हामी नेपालीहरुमा फोस्रो आडम्बर छ भन्ने लाग्दछ । अकिंचन हामी हाम्रा सगरमाथा र लुम्बिनीमा मात्र गर्व गर्दछौं । बीर गोर्खाली हौं भन्ने दम्भ पनि गर्छौ । यी बाहेक हामीसँग गर्व गर्न लायक अरु विषय वा क्षेत्रहरु पनि छैनन् सायद । तर गर्व गर्न मात्र लालयित हामीहरु आफूहरुमा आईरहेको नैतिक स्खलनका बारेमा ‘चूँ’ पनि बोल्दैनौ । त्यसैले त हामी हाम्रो समाजमा हुर्कदै गएको यौन कुण्ठा र त्यसले ल्याएको विकृती र अपराधका बारेमा चुप छौं । कतिपय हामीहरुलाई लाग्दो पनि हो – हाम्रा नकारात्मक कुराले हामीहरुको बेईज्जती गराउँदछ । हाम्रो इज्जतदार “गोर्खे शीर” नत गराउँदछ । र त हामीहरुलाई सदियौंदेखि आफू र आफ्ना समाजमा घटित थुप्रै घटनाहरूलाई आफ्नै परिधीभित्र सीमित गर्न किञ्चित हिच्किचाहट लागिरहेको छैन । धन्य हुन, भारतीय मिडिया र जनताहरु जसले दिल्लीमा भएको सामूहिक बलात्कारको घटनालाई बाहिर ल्याए र २१औं सदियौंमा पनि विद्यमान “नारी हिंसा” को घिनलाग्दो प्रवृत्तिका विरुद्धको जेहाद छेडे । र, अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दै आवाज बुलन्द     पारिरहेछन् । 
मेरो अहोभाग्यका कारण म त्यो सभ्य समाजमा छु अहिले कि जहाँ एक बालिग महिला उमेर पुगेको पुरुषसँग शारीरिक सम्पर्कका लागि तयार भएर बिछ्यौनामा पुगेर पाकक्रिडा गरिरहेका समय कारणवशः हठात् यौन सम्बन्धका लागि अनिच्छुक भईन भने चाहेर पनि पुरुष उनीसँग यौन सम्बन्ध राख्न सक्तैन । र, यदि उनको ईच्छाविपरित प्रलोभनमा पारेर यौन सम्बन्ध राखी हाल्यो र पुरुषको जस्तोसुकै भद्र हर्कत होस् यदि महिलाले आफ्नो यौनेच्छा विरुद्ध पुरुषले आफूसँग शारीरिक सम्बन्ध राखेको “रिपोर्ट” गरिन भने आरोपित पुरुष प्रहरीको अनुसन्धानको दायरामा पर्दछ । र, आरोप पुष्टि भएमा सजायको भागिदार पनि बन्छ । तर मेरो देशमा त एउटा प्रहरी वैदेशिक रोजगारीबाट फर्केकी महिलालाई सहयोग गर्ने बहानामा यौन शोषण गर्दछ । अझ घिनलाग्दो कुरो त एउटा बाबु आफ्नै तीन वर्षीया छोरीलाई यौन दुर्व्यवहार गर्दछ । एउटा मामा भान्जीलाई बलात्कार गर्दछ । हजुरबाको उमेरको मानिस नातिनी उमेरकी नावालिग बालिकालाई बलात्कार गर्दछ । गाउँमा भएका बलात्कारको घटनालाई बाहिर ल्याउँदा “गाउँको बेइज्जत” हुने डरले गुपचुप गाउँमै मिलान गर्न खोजिन्छ । यौन पिपाशु बलात्कारीबाट दुईचार हजार क्षतिपूर्ति भराईन्छ र पिडितलाई भनिन्छ – गुमेको तिम्रो अस्मिता फर्किदैन, यसलाई यत्तिकै हुन देऊ । बाहिर ल्याए तिम्रै त हो बेइज्जत हुने ! कठै, मेरो समाज ! कठै मेरो लिलिपुटहरुको देश ! र, यो लेखिरहँदा एक नेपाली हुनुको नाताले यो मेरा लागि कति दुर्भाग्यको कुरो हो, कि म आफै निश्कर्षमा पुग्न सकिरहेको छैन !
पछिल्लो समय यौनहिंसाका बारे दैनिकजसो मिडियामा आईरहेका समाचारहरुले कम्तिमा पनि के सन्देश दिन्छन् भने हाम्रा समाजमा यौनकुण्ठाले ग्रसित मान्छेहरुको संख्या उल्लेख्य मात्रामा छ । र, अविलम्ब कुण्ठित मनुवाहरुको यौन चाहनालाई ब्यवस्थित गर्नपट्टि हाम्रो ध्यान पुगेन भने हामीहरुले अझ विकराल र घिनलाग्दा यौनजन्य हिंसाका घटनाहरुको साक्षी बन्नुपर्ने हुनसक्छ । गेष्ट हाउस र एकान्त जंगलमा आपसी समझदारीमा यौन आनन्द लिईरहेका जोडीहरुको खोजी गर्ने, पक्राउ गर्ने र एकाध पटक त भिडियो पनि खिचेर इन्टरनेटसम्ममा चुहाउन जिम्मेवार प्रहरी प्रशासन यस विषयमा गम्भिर हुनु जरुरी छ । उसो त कतिपय घटनाहरुमा यौनअपराधीहरुलाई सजायबाट मुक्त बनाउन सक्रिय प्रहरी प्रशासनमा समुचित सुधार ल्याउनु पनि अपरिहार्य छ । अझ महत्वपूर्ण कुरो त यौनजन्य अपराधलाई नियन्त्रण वा न्यूनिकरण गर्नका लागि देशैभरी ब्याप्त “यौन ब्यवसाय” लाई यथासम्भव ब्यवस्थित र कानुनी मान्यता दिनु जरुरी छ । कम्तिमा पनि यौन किनबेच गर्न सक्ने व्यवस्था होस् । जबरजस्ती हैन त्यो ऐच्छिक र ब्यवसायिक होस् ।
Post a Comment

Popular Posts