छिः हाम्रो वाहियातको स्वाभिमान


अलिकति ब्यक्ति केन्द्रित छौं सायद हामी । सम्पूर्णतामा विश्लेषण गर्ने प्रयास गर्दैनौ हामीहरु वा सामथ्र्य राख्दैनौं त्यसो गर्नलाई । हामी हरेक विषय वा बस्तुको एउटा पाटोलाई नराम्ररी उछाल्छौं अनि असफल बन्छौं – सान्दर्भिक निचोड तय गर्नमा । त्यसैले पनि होला कहिलेकाही मलाई लाग्नेगर्छ – नेपाली संस्कार लिएर जति कोशको यात्रा गरेको छु मैले जीवनमा धेरैपटक जानअन्जानमा केही दुरीहरु गलत दिशातिर यात्रा गरेको छु कि ! यसर्थः पनि होला प्रायशः आफू “आफू” नै भएर जन्मिएकोमा गर्व गर्न डराउँछु । र, कवि भूपिले म जन्मनुभन्दा दुईतीन दशक पहिले लेखेको त्यो हरफले सधैं छोएकै हुन्छ मलाई – हामी फगत पानीका थोपा हौं । पानीका निर्वलिया फोका ।
हामी आफूसँग सिमीत ज्ञान छ भन्ने कुरो केहि गरी पनि स्वीकार गर्दैनौं । बरु, हरेक विषयमा आफू दख्खल भएको प्रमाणित गर्न कुनै कसर बाँकी राख्दैनौं । सोच्छौं कि संसार आफ्नो मुठ्ठीभित्र छ र यो हरतरहले आफ्नो नियन्त्रणभित्र छ । हामी आफूमा समाहित छ । जस्तो कि एकजना महासेनानीलाई युद्ध अपराधको आरोपमा बेलायतमा पक्राउ गरिदाँ केहि मानिसहरु हाम्रो राष्ट्रियतामा चोट पुगेको आँकलन गर्छन र राष्ट्रभक्तीको फोस्रो कुरा झिकेर बखेडा गरिरहेछन । तर उनीहरु मध्ये कोहीले पनि गृहयुद्धका बखत “नेपाली नागरिक” भएर बाँच्न पाउने हाम्रा नैसर्गिक अधिकारलाई कुण्ठित गरिएको सत्यताका बारेमा चाँहि बोलेका छैनन् । हिम्मत पनि राख्दैनन् सायद । एक नेपाली भएको नाताले, र युद्धमा गरिएका ज्यादतीको एउटा निरीह साक्षीका नाताले म त विश्वलाई आव्हान गर्न चाहन्छु – चाहे त्यो तत्कालिन विद्रोही पक्ष होस वा राज्य पक्ष जो जो ब्यक्तिहरु निहत्था सर्वसाधारणहरुको ज्यूधन विनाशमा प्रत्यक्ष संलग्न थिए तिनलाई अन्तर्राष्ट्रिय कानुनी कठघरामा उभ्याइयोस् । र, उनीहरुको कुकृत्य अनुरुपको सजाँयको व्यवस्था गरियोस् । 
म निश्चिन्त छु कि – हाम्रो स्वाभिमानको कुरो एकातिर छँदैछ, हाम्रो सार्वभौमिकताको आफ्नै महत्व छ नै । तर एक सार्वभौम र स्वतन्त्र देश भएकाले हामीलाई जघन्य युद्ध अपराधका दोषीहरुलाई कानुनको कठघरामा नउभ्भाइकन पुजेर राखिराख्न पनि छुट छैन सायद । उसै त दण्डहिनताले पराकाष्टा नाघेको छ, झन अर्कै देशले हामीलाई यसरी सहयोग पुर्‍याउँदा “नेपाली स्वाभिमान” को फगत आडम्बर प्रदर्शन गर्नु किञ्चित शोभनीय विषय होईन । यदि हामी यसरी स्वाभिमानको खास विषयलाई वोध गर्न नसकी अल्पज्ञानी बन्ने कोशिस गर्‍यौं भने हामीले देख्न चाहेको खास परिवर्तन हामी कहिल्यै दृष्टिगोचर गर्न सक्ने छैनौं । त्यो एक भ्रामक स्वप्नका रुपमा मात्र सिमित हुनेछ ! के हामी हरेक सन्दर्भलाई राष्ट्रिय स्वाधिनता, र सार्वभौमसत्तासँग तुलना गर्न सक्छौं ? या योग्य ठहरिन्छौं ? 
महत्वपूर्ण कुरो हामीले बुझ्नु जरुरी छ – कसैले हाम्रो गल्ती पत्ता लगाएर ठिक गर्न खोज्नु उसले हाम्रो स्वाधिनतामाथि गरेको आक्रमण हैन, त्यो त बरु उसले हामीलाई सच्चिएर अगाडि बढ्न प्रेरित गरेको हो । हामीले मनन गर्नु आवश्यक छ, हाम्रा आफ्ना विश्वासहरु वा अभ्यासहरुलाई बलजफ्ती अरु सबैले स्वीकार्नु नै पर्ने हुन्छ भन्ने रहँदैन । हुनसक्छ हाम्रा बुझाईमा केहि त्रुटी पो छन् कि ? बरु आफू र हाम्रो आफ्नो पद्धतिलाई अनुकरणीय र त्रुटीरहित पो बनाउने हो कि ? हामीले विर्सनु हुँदैन बेलायत त्यो देश हो जहाँ अपराधीलार्ई हाम्रोमा जस्तो शक्ति, पैसा र सत्ताको भरमा अपराध गर्न छुट छैन । हाम्रामा पो सत्तामा पुगेपछि जे पनि गर्न छुट छ । इतिहास साक्षी छ – मार्नेहरुले त मान्छे पनि मारेकै हुन सत्ताको आडमा । मारिरहेकै छन् ! देश बेचेकै हुन सत्ताको भरमा । बेचिरहेकै छन् ! शक्ति हुने मान्छेलाई कारागारमा समेत “जे” गर्न पनि छुट छ । विपन्नहरु त घरमै मरिरहेका छन् नी – “जीवनजल नपाएर, नून नपाएर, चामल नपाएर, कठ्याङ्ग्रिदो जाडोमा न्यानो ओछ्यान नपाएर, सुत्केरी हुन नसकेर, बलात्कृत भएर .....!” ख्वै किन संगठित हुँदैनौ हामी यतिखेर ? जतिबेला हाम्रो घरमा हप्ताको एकदिन दिनको एक घण्टा पानी छाडेर बाँकी समय हावामात्र पठाउँछ खानेपानी कार्यालय ? जतिवेला दिनको ६ घण्टा त्यो पनि प्रयोग नहुने समय करेण्ट पठाउँछ विद्युत कार्यालय ? र, जतिखेर हाम्रै काम गर्न बसेको एउटा सरकारी कर्मचारी विना पैसा हाम्रो काम गर्न इन्कार गर्छ ! त्यतिखेर कहाँ हराउँछ हाम्रो स्वाभिमान ? छिः हाम्रो वाहियातको स्वाभिमान !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)