Skip to main content

राजनीति, मेरो बुबा र म

एउटा समय थियो, जतिखेर बुबा आफ्नो पार्टीको सांगठनिक काममा एकदमै ब्यस्त हुनुहुन्थ्यो र म प्राथमिक तहमा अध्ययनरत थिएँ । घरमा बुबाको उपस्थिती अति नै पातालो हुने गर्दथ्यो । जिल्लाका विभिन्न गाउँहरुमा उहाँ पुगिरहँदा घरमा चाँहि म, भाई र आमा बुबाकै विषयमा कुरा गरेर बस्थ्यौं । आमा निकै नै चिन्ता लिनुहुन्थ्यो विशेषगरी बुबाको स्वास्थ्यप्रति । किनकी, बुबा हुनुहुन्थ्यो नै त्यस्तो । आफ्नो स्वास्थ्यको पटक्कै ख्याल नगर्ने – जस्तो खानेकुरा तात्तातै खाने, मदिरापान गर्ने आदि ईत्यादि । समाज र देश निर्माणको महानअभियानमा टेवा दिन पार्टीको काम लिएर गाउँगाउँ पुग्ने पिताजीलाई आफ्नै घर व्यवहारमा उति गम्भिर चासो रहेन । यो एउटै कारण थियो, म सानो छँदा पनि बुबासँग यहि विषयलाई लिएर झगडा गर्थे ।
सात कक्षाको विद्यार्थी हुँदा वर्षायामको एकरात एकहप्तापछि घर फिर्नुभएको पिताजीलाई मैले भनेको थिएँ – “तिमी बुढालाई हाम्रो केही मतलब छैन, खाली पार्टी पार्टी भनेर हिड्ने, अझ घर आउँदा रक्सी पिएर आउने ? तिमी जिउँदो लाश हौ !” मलाई थाहा छ खास त्यती धेरै मात्ने गरी रक्सी पिउनुभएको थिएन पिताजीले, परन्तु म हदभन्दा तल गिरेर बुबालाई गाली गरेको थिएँ । मैले देखेँ बुबाको आँखामा आँशु टिल्पिलाएको थियो । र, मलाई आमाले नराम्रोसँग झपार्नु भएको थियो । र, बुबासँगै आमाका पनि आँखा रसाएका थिए । त्यो नै पहिलो र अन्तिम पटक थियो जतिखेर मेरा कारणले मेरा पिताजीले रुनु पर्‍यो ! आमा त सानो कुरामा पनि रोईहाल्नु हुन्थ्यो, जस्तो म र भाईबीच झगडा भो भने पनि रोईहाल्ने । सामान्य कुरामा पनि रोइहाल्ने हुँदा आमाको रुवाईसँग मलाई बानी परेको थियो, तर बुबाको आँखामा आँशु देख्दा मेरो भक्कानो फुट्यो अनि मैले माफी पनि मागेँ । अहिले पनि त्यो क्षण सम्झदा ग्लानी हुन्छ मलाई । 
मैले प्रवेशिका परीक्षा उत्तीर्ण नगरुन्जेलको उमेरसम्म बुबा खास धेरै बोल्नुहुन्थेन मसँग । स्वभावै त्यस्तै, कम बोल्ने । मैले गीत गुनगुनाएको वा धेरै बोलेको पटक्कै मन नपार्ने । यस्तो हुँदा बुबासँग मलाई सारै रिस उठ्ने गर्दथ्यो । तर जब किशोरावस्थाको म एउटी किशोरीसँग प्रेम सम्बन्धमा रहन पुगेँ, बुबाले बल्ल मलाई साथीको रुपमा ब्यवहार गर्न थाल्नुभयो । सम्झाउनुहुन्थ्यो – “प्रेम एउटा पक्ष हो, आफ्नो अध्ययनकार्य र भविष्यको विषयमा गम्भिर हुनु अर्को महत्वपूर्ण पक्ष हो । त्यसकारण तँ आफै जान्ने छस्, विचार गरेर अगाडि बढ्नु ।” उतिखेर खास गम्भिरतापूर्वक लिइएन यस कुरालाई अहिले आएर बुबाको त्यस सुझावको सघन अर्थलाई मनन गरिरहेछु । यो त्यस्तै प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दा ताकाको कुरा हो । अनि त्यतिखेरदेखि मात्र बुबाले मसँग विशेष खालका दोहोरो संवाद शुरु गर्नु भएको थियो । मैले स्थानीय पत्रिकाहरुमा लेख्न शुरु गरेँ, ती लेखहरु छाप्नुभन्दा अगावै कहिल्यै पनि बुबालाई देखाइनँ । तर पत्रिकामा छापिएर आईसकेपछि बुबाले मलाई लेखका विषयमा पृष्ठपोषणहरु दिन थाल्नुभयो । कतिपय यस्ता अवस्थाहरु पनि आए लेखकै कारणले हामी बाबुछोराबीच मतभिन्नता रहे । विशेषगरी ती लेखहरु जुन राजनैतिक विषयमा केन्द्रित हुन्थे, र म त्यस विषयमा पर्याप्त जानकारीका बेगर पनि कलम चलाउने गर्दथे । किन्तु, राजनीतिका विषयमा बुबासँग मेरो सामान्य छलफल वा विचार विमर्श पनि भएन । मैले प्रश्नहरु राखेँ पनि बुबाले खास मतलब दिनु हुन्थेन । भन्नुहुन्थ्यो – “तेरालागि पढाई महत्वपूर्ण कुरो हो, राजनीति हैन । राजनीतिका विषयमा जानकारी हासिल गर्ने उमेर हैन यो ।” तर बुबाले यति भनिरहँदा मैले उहाँले संग्रह गरेर राखेका लुसुनका कथाहरु र विशेषगरी चिनियाँ क्रान्तीसँग सम्बन्धित कथाहरु अध्ययन गरिसकेको थिएँ ।
तथापी त्यतिन्जेलसम्म राजनीतिको हुटहुटी दिमागमा चढिसकेको थियो, मेरो । खासगरी २०५८ को हिउँदमा जब मैले एकजना पूर्व काङ्ग्रेसी कार्यकर्तासँगको भेटमा एउटा गोप्य कुरो थाहा पाएँ । लगत्तै मेरो दिमागमा राजनीतिको खास रङ चढ्न गयो । त्यो गोप्य कुरो थियो कि – ४५/४६ सालतिर जतिखेर म ३/४ वर्षको बच्चो थिएँ, त्यतिखेर स्थानीय केहि कांग्रेसी नेताहरुले मेरो बुबालाई भौतिक आक्रमण गर्ने छलफल गर्थे रे – आफ्ना बैठकहरुमा । हुनपनि दुईदुई पटक मेरा पिताजीलाई काङ्ग्रेसी गुण्डाहरुले भौतिक आक्रमण गरेकै हुन । तर उनीहरुको आक्रमणले मेरो बुबाको राजनैतिक चेतना र आस्थाको हत्या गर्न सकेन । र, ती अहिले पनि पराजित मानशिकता लिएर लर्खराइ रहेका छन् । काला काङग्रेसीहरु (जोजोसँग सम्बन्धित छ) ! खैर, जेसुकै होस् बल, धरपकड र त्रास देखाएर राजनीति गर्नेहरु को नै टिकेको छ राजनीतिमा ? तर मेरा पिताजीबाट मैले सिकेको कुरो के हो भने लोभ, क्षोभ र धनदौलत विना पनि निरन्तरको लगावले मानिसलाई आफ्नो क्षेत्रमा एक हदसम्म सफल हुन मद्दत पुर्‍याउँछ ।
क्रमश.....

1 comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…