प्रित बुझेको मेरो साथी


हिजो म मित्र लक्ष्मीसँगै निवासतिर फर्किदै थिएँ, एकाएक प्रणय दिवसको बारेमा कुरो उठ्यो । प्रितलाई नै केन्द्रविन्दु बनाएर प्रित संवाद जारी रह्यो – करिब आधा घण्टासम्म । उनी प्रेमका राम्रा ब्याख्यता हुन भन्ने मेरो आफ्नै बुझाई छ, र मलाई विश्वास छ – उनी एक असल प्रेमी पनि हुन । आदर्शवादी प्रेममा विश्वास गर्ने मान्छे हुन उनी । तर यसको मतलब यो पनि हैन कि प्रेमलाई अनुभूत गर्न/गराउन परस्परमा उपहार आदानप्रदान हुनुहुँदैन वा त्यो एकदम भौतिक कुरो हो भन्नेमा उनी विश्वास गर्दछन् । हाम्रो आधा घण्टे प्रितसंवादमा प्रेमको खास मतलब उनले के लगाए भने “प्रेम” को अर्थ मात्र “प्रेम” हो, यसभन्दा पल्तिर विभिन्न उपविषय वा उपप्रसङ्गहरु जोडेर प्रेमलाई ब्याख्या गर्न मिल्दैन । वा हुँदैन । 
ऋणात्मक ४ डिग्री सेन्टिग्रेडको ठन्डीमा हामी हिडिरहेथ्यौं । फुसफुस हिउँ झरिरहेथ्यो । प्रणयदिवसका बारेमा हामी संवाद गरिरहेथ्यौं – झल्याँस्स मैले ६२ फाल्गुणको प्रणय दिवसको याद गरेँ । जतिखेर तल बेशीमा समेत हिउँ परेको थियो । र, एक हुल रित्ता ठिटाहरु हामी जामुनाखर्कको उकालो चढेथ्यौं हिउँमा रमाएर तस्बिर खिच्न । कल्पिदैँ – सायद म पनि कसैसँग प्रेममा परेको भएँ, छिल्लीदै मसँग हिउँमा तस्बिर खिच्ने मान्छे भैदिएको भएँ । तर मेरा मित्रले यहि पृष्ठभूमिमा उनले आफूले प्रेम गर्ने प्रेमिकालाई सम्झेँ । र, भनेँ – “भलै, ऊ मेरो प्रेमिका हैने, तर म सर्वाधिक प्रेम उसैलाई गर्छु । ऊ अर्थात हेप्पा !” मेरो प्रश्न थियो उनलाई – “मित्रवर, यो अलि बोधगम्य कुरो भएन ! प्रेम गर्छु पनि भन्नुहुन्छ, प्रेमीका होईने पनि भन्नुहुन्छ, के हो यस्तो कुरो ?” मुहारमा स्पष्ट प्रकाश प्रदिप्त भो उनको मैले देखेँ । उहि प्रदिप्त अनुहारमै अलिक थोरै मुस्कान लिएर उनले जवाफ दिएँ – “प्रेम, मित्रवर प्रेम हो यो ! प्रेममा फिर्ताको अपेक्षा हुँदैन । प्रेम दोहोरै हुनुपर्छ भन्ने मान्यताको खिलाफ छु म । एकोहोरो पनि प्रेम हुन्छ । प्रेम गरिएर गर्ने वा गर्नका लागि गर्ने कुरो हैन, मित्रवर ! यो भावनात्मक स्पन्दन हो, जतिखेर यसको अनुभूति गर्छ मान्छे, अनि ऊ प्रेम गर्न थाल्दछ !” प्रेमको मसिहा लाग्थ्यो आफैलाई, उनको सामु फिका महशुस गरेँ । उनले आफू प्रेम गर्ने युवती र पृष्ठभूमिका बारेमा बताउँदै गए – “थाहा छ सखा ? मैले उनलाई फेसबुकमा भेटेको हुँ । २०१२ को जनवरी २२ का दिन पहिलोपटक मैले उनलाई मेरो एउटा नेपाली साथीको फेसबुके साथीसूचीमा भेटेको थिएँ । त्यहि दिन, भच्र्युल नै सहि कोट्याए (पोक गर्नु) उनलाई । र, त्यहि पोकबाट शुरु हुन्छ मेरो प्रेम कहानी !” उनि एकछिन चुप लागे, कारण हामी जेब्रा क्रसिङ नेर आइपुगेका थियौ । मैले देखेँ – हाम्रो विपरित दिशाबाट एउटी सुन्दरी युवती साईकलमा हुँइकिएर गन्तब्यतिर लागिन । मेरो मुखबाट फुत्कियो – “वाह, कस्ती राम्री !” उनी केहि बोलेनन्, मलाई मनमन लाग्यो – मेरो मुखबाट जे फुत्कियो सायद त्यो पनि प्रेमकै भाषा त थियो होला ?
जेब्रा क्रसिङ काटेपछि उनले पूर्वप्रसङ्ग जोड्दै भने – “यसरी पोकबाट शुरु भएको हाम्रो सम्बन्ध, विस्तारै प्रगाढ भो । हामीले भेट्यौ पनि । जीवनजगत, संस्कार र प्रेमकै विषयमा कुराहरु भए हाम्रा ।” अलिकति चञ्चले भएर मैले सोधेँ – “भेट्दा किससिस केहि भएन ?” पहिलोपटक मसँग सन्किदै उनले जवाफ फर्काए – “छिः के कुरा गरेको तपाइँले ? पवित्र प्रेममा भौतिक कुरो प्रधान हुँदैन । कुनै शारीरिक भोग वा तिर्सना मेटाउनलाई प्रेमको नौटंकी रचेको थिइँन मैले, साँचो अर्थको प्रेम गरेको थिएँ उनलाई । र, अझैपनि गरिरहेछु । अनवरत गरिरहनेछु ।” जिस्किएकोमा ग्लानी भयो मलाई, माफी मागेपनि मैले । उनले आफ्नो प्रेमील सत्यलाई अन्त्यमा यसो भनेर सक्काए – “मेरो प्रेम प्रस्ताव उनले अस्विकार गरिनँ । त्यसमा उनका आफ्नै बाध्यताहरु थिए होलान्, तर हामी अहिले पनि असल साथी छौं । उनी अहिले यहिकै केटासँग सम्बन्धमा पनि छिन । तर भविष्यमा कथंकदाचित उनलाई मेरो साथको आवश्यकता रह्यो भने र यदि म अविवाहित नै रहेको स्थिती हुने हो भने म सहर्ष उनलाई स्वीकार्ने छु ! किनकी, म उनलाई प्रेम नगरिरहन सक्दिनँ !”
गतसालको जनवरी २२ देखि एउटी फिनीस युवतीलाई अगाध माया गर्न शुरु गरेका मित्र अहिले पनि एक्लो नै छन् । सम्बन्धमा छैनन् उनी । थाहा छैन प्रणय दिवस उनका लागि के हो ? के होईन ? तर मलाई चाँहि मनमा विझिरहेछ – के साँचो अर्थमा उनले जसरी प्रेम गर्न समर्थ छौं होला हामी ? के हामी प्रेमलाई शारीरिक तृष्णाबाट मुक्त गरेर हेर्न सक्छौं ? साँचो अर्थको प्रेम गर्ने साहस छ हामीसँग ? त्यसकारण प्रणय दिवसको सबैलाई मेरो शुभकामना छ – रात हैन जीवन रंगिन बनाउने प्रेम गरौं । साँचो प्रेम गर्ने प्रेरणा प्राप्त होस् हामीलाई । र, निर्भय प्रेम गर्ने हैसियत बनाउन सकौं हामी जस्तो बेटी डेविसले भनेका पनि छन् – “प्रेम गर्न डराउनु, बाँच्न डराउनु जस्तै हो र, ती जो बाँच्न डराउँछन् उनीहरु पहिले नै तीन चौथाई मरिसकेका हुन्छन् !”
जय प्रेम!

Post a Comment