राजनीति, मेरो बुबा र म

पिताजीको राजनैतिक यात्राका बारेमा लेख्दै गर्दा कहिलेकाही मलाई यस्तो लाग्दछ – बुढाले खास राजनीति गर्न जान्दैनन् ! मलाई यसो लाग्नुको खास कारण के हो भने पिताजी सधैं सिधा रेखामा हिड्नुहुन्छ । उहाँलाई दायाँ बायाको खास ख्याल हुँदैन । एकदम ईमान्दार यात्रा । मेरो ब्रम्ह भन्दछ – राजनीति गर्नेले देश, काल र परिस्थिती अनुसार राजनीतिमा आफ्नो “चाल” निर्धारण गर्न जान्नुपर्दछ । बुझ्ने गरेर भन्दा कहिले काही बांगो बाटो पनि हिड्नुपर्छ । जस्तो कि एउटा भनाई नै छ – राजनीति सधैं सरल रेखामा हिड्दैन ।
पिताजीको सरलताको बारेमा लेख्दै गर्दा मलाई ५४ सालको स्थानीय निकायको निर्वाचनको एउटा घटना याद आउँछ । त्यतिखेर म भर्खर सात कक्षामा अध्ययन गर्दथेँ । हुन त किशोर नै थिएँ म । तर राजनीतिमा खुबै चासो थियो मेरो । अझ पिताजी जिल्लामा चुनाव लड्ने रे भन्ने कुरो सुनेपछि त झन राजनीति प्रतिको चासो ह्वात्तै बढेको थियो । लाग्थ्यो, पिताजी निर्वाचनमा उम्मेदवार भएपछि जित्नु होला या पराजित हुनुहोला ? जिते त राम्रो होला तर हारे के होला ? बुबाको राजनैतिक भविष्य के होला ? म सोचमग्न हुन्थे । जेहोस्, गाउँतिर केहि मान्छेहरु कुरा गर्दथे – भूपेन्द्र जिल्लामा चुनाव लड्ने रे, तर जिल्लामा जान गाउँमा चुनाव जित्नु पर्छ पहिले । यस्तै यस्तै । उनीहरुले भने झै, बुबा वार्डको सदस्य पदमा उम्मेदवार हुनुभयो । हाम्रो गाउँमा सबैको बराबर जस्तो मत खस्ने सम्भावना रहेकाले त्यतिखेर कांग्रेस र एमालेहरु मिलेर चुनाव लडेका थिए । एमालेको अलि बढि जनमत भएकाले अध्यक्ष उसको पोल्टामा थियो भने काङ्ग्रेसका तर्फबाट चाँहि उपाध्यक्ष । यसरी मिलिजुली निर्वाचन लडेका थिए एमाले र काङ्ग्रेस । परिणाम पनि सार्वजनिक भो । एमाले – काङ्ग्रेसको गठबन्धनले निर्वाचन जित्यो । तर हाम्रो वार्डको मत परिणाम गन्दा एउटा अचम्मको नतिजा भेटिएछ । भएछ के भने सदस्य पदमा उम्मेदवार हुनुभएका मेरा पिताजीलाई मतै नदिइकन एकलौटी काङ्ग्रेसका उम्मेदवारलाई मात्र मत दिइएको रहिछ । अर्थात मिलेर चुनाव लडेको काङ्ग्रेसी पक्षले १० मत मेरा पिताजीलाई दिएनछन् । यसको सिधा अर्थ मेरा पिताजीलाई जिल्लामा चुनाव लड्न बञ्चित गराउने कुत्सित भावनाले उनीहरु लागेका रहेछन् । तर केहि जोर चलेन उनीहरुको, सदस्य पदमा हराउन खोजेका उनी चाँहि सदस्यमा मात्र सिमित रहे अर्थात पछि इलाका सदस्यमा पराजित भए, पिताजी चाँहि भारी मतले जिल्ला विकास समिति म्याग्दीको उपसभापति पदमा निर्वाचित हुनुभयो । बुबाले यस कुरामा खास केही टिप्पणी गर्नुभएन । मलाई चाँहि यो काङ्ग्रेसी पारा कत्ति निको लागेन । यहाँसम्मकी आठ कक्षा पास गरेपछि मैले मास्टरहरु पनि काङ्ग्रेसी बढि भएको भनेर गाउँको विद्यालयमा पढ्न अस्वीकार गरेँ ।
बुबाले चुनाव जितेको थाहा पाएपछि म, भाई र ठूलोआमाकी छोरी बैनी रेनुलाई हजुरबुबा सोमबहादुर थापाले बेनी लग्नुभएको थियो । बुबाहरुको विजयी र्‍याली हिजैपल्ट सक्केको रहिछ । सुनेर थकथक लाग्यो – हिजै आउन पाएको भए कति रमाईलो हुन्थ्यो होला ? एकछिन बुबासँग छोटो भलाकुसारी भयो । तीन जनाकै हातमा २०÷२० रुप्पे थमाईदिनुभयो बुबाले । त्यहि समातेर हामी घरतिर लाग्यौं । चुनाव जितेको ३ दिनपछि बुबा घरमा आउनु भयो । बुबाको हातमा सानो प्लाष्टिकको झोला पनि झुण्डेको थियो । त्यो त्यस्तै प्लाष्टिकको झोला थियो जुन बुबा ५–७ दिनमा घरमा आउँदा लिएर आउनुहुन्थ्यो – खसिको मासु भएको प्लाष्टिकको झोला ! तर त्यो दिन मासुको छुट्टै महत्व थियो । त्यो पिताजीको विजयी भोज थियो – परिवारलाई ! त्यसदिन बुबा र हामीहरु धेरै अवेरसम्म कुरा गरेर बस्यौं । बुबाको विजयले हामीलाई संसार जिते झैं लागिरहेथ्यो । ममा सायद प्रतिशोधको भावना बढि भएर हुनसक्दछ, सबैभन्दा खुशी म थिएँ । मैले नौ दशमा पढ्ने केहि दाजुहरुसँग पनि कुरा चल्दा भनेको थिएँ – “केही चैते काङ्ग्रेसीहरुले हराउन चाहेर पनि हराउन सकेनन् मेरो बुबालाई !”
राजनीतिमा बुबाले आफ्नो खास उर्जाशिल समय लगानी गर्नु भएको छ । राजनीति गर्दैगर्दा उहाँले पारिवारीक समृद्धिलाई कहिल्यै महत्व दिनुभएन । खाली पार्टी भनेर हिड्नुभयो, अझैपनि दौडीरहनु भएको छ । तर आफन्त र नातेदारको खास सहयोग पाउनुभएन बुबाले । यसले चाँहि मलाई प्रायः छुनेगर्छ । मुखै फोरेर भन्दा – जिल्लामा पर्ने गार्‍हा अफ्ठ्यारामा सधैं मेरो पिताजीको हार गुहार गर्न आउने आफन्तहरुले मेरो पिताजीको राजनैतिक दौडमा कहिल्यै समर्थन जनाएनन् । अझै पनि बुबा करिबकरिव एक्लो बृहस्पति हुनुहुन्छ । पहिलो कारण त यो किन पनि भयो भने आफन्तहरु प्रायः सबै पैसाकै होडबाजीमा लागे, जुन कहिल्यै पनि मेरो पिताजीको प्राथमिकताको विषय नै बनेन । र, दोश्रो कारण हाम्रो संस्कारगत त्रुटी नै के छ भने अगाडी बढेको मान्छेलाई हामी जसरी पनि पछार्नु पर्छ भन्ने मानसिकताले गुज्रेका छौ । सामान्य मान्छे नै हुन हाम्रा आफन्तहरु पनि उनीहरुमा यो चरित्र नहुने कुरै भएन । फलतः पिताजीलाई बुझ्न करै लाग्यो – रगतको नाता सम्बन्धले राजनीति अगाडि बढ्दैन, विचारले निर्देशित हुने नीति जो छ !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)